सेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? यी मुख्य ५ कुरामा ध्यान दिनुहोस्

काठमाडौं । अहिले पूँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड लगायत संस्था र लगानीकर्ताहरूले आजदेखि ‘विश्व लगानीकर्ता सप्ताह’ मनाइरहेका छन् । देशको अर्थतन्त्रको मेरुदण्ड ऐना मानिने सेयर बजारमा सानादेखि ठूला लगानीकर्ताको बाक्लो उपस्थिति छ ।

पूँजी बजारमा लामो समयदेखि लगानी गरेका सेयर लगानीकर्ताहरुले बजारको आधारभूत पक्षबारे जानकारी राख्ने र बुझेको भए पनि यस बारे थाहा नपाएरै लगानी गर्न आएका साना लगानीकर्ताहरूको सम्पत्ति भने जोखिममा पर्न सक्छ ।

बजार घटबढ हुने भएकाले सेयर मूल्य तलमाथि भइरहन्छ । यस सन्दर्भमा बजारको बारेमा आधारभूत पक्ष समेत थाहा नपाएकाहरूलाई समस्या पर्न सक्छ । सोही कारण पूँजी बजारमा लगानी गर्नुअघि यी कुराहरू थाहा पाउनु राम्रो हुन्छ ।

१. प्रतिकूल परिस्थिति

-सचेत लगानीकर्ताले क्रयशक्तिमा मुद्रास्फीतिले पार्ने प्रभाव बारे बुझेको हुनुपर्छ ।

-उसलाई लगानीमा प्राप्त हुने वास्तविक प्रतिफल दर बारे जानकारी हुनुपर्छ ।

-निरन्तर मुद्रास्फीतिको वातावरणले विभिन्न किसिमका लागानीमा पार्ने प्रभावको जानकारी तथा विश्लेषण लगानीकर्ताले गर्नुपर्छ ।

-अप्रत्याशित घटनाबाट हुने नोक्सानीबाट बच्नका लागि गरिने लगानी विविधीकरणको महत्वलाई लगानीकर्ताले बुझेको हुनुपर्छ ।

-लगानीकर्ताले प्रतिकूल अवस्थाका लागि पर्याप्त आपतकालीन कोषको व्यवस्था गरेको हुनुपर्छ ।

-सबै किसिमका लगानीमा जोखिम हुन्छ भन्ने लगानीकर्ताले बुझेको हुनुपर्छ ।

– जोखिम व्यवस्थापन गर्ने, मुद्रास्फीतिको प्रभाव कम गर्ने र चर्को ब्याजको ऋणबाट बच्ने रणनीति तथा योजना लगानीकर्तासँग हुनुपर्छ ।

२. दिगो लगानी

-दीर्घकालीन लगानी तथा लगानी विविधिकरणले प्रतिकूल आर्थिक अवस्था र बजार उतारचढावहरू बाट पार पाउन मद्दत गर्छ ।

-वातावरणीय, सामाजिक र सुशासनका दृष्टिले जिम्मेवार क्षेत्र तथा संस्थामा गरिएको वित्तीय लगानी दीगो हुन्छ भन्ने जानकारी लगानीकर्तालाई हुनुपर्छ ।

-धितोपत्र निष्कासनकर्ताले प्रकाशित गर्ने विवरणहरुबाट उक्त संस्था वातावरणीय, सामाजिक र सुशासनका दृष्टिले जिम्मेवार हो कि होइन भन्ने थाहा पाउन सकिन्छ ।

-धितोपत्र निष्कासनकर्ता र लगानीकर्ताको लगानी लक्ष्य, उद्देश्य, जोखिम वहन गर्ने क्षमता र प्राथमिकताहरू मेल खान्छ कि खाँदैन विचार गर्नुपर्छ ।

-लगानीको अवसर फरक फरक हुन्छन त्यसमध्ये आफूलाई कुन उपयुक्त हो लगानीकर्ताले छुट्याउन सक्नुपर्छ ।

३. जालसाँजी, अपराध तथा ठगी

-लगानीकर्ताले कारोबार गर्ने संस्था इजाजतपत्र प्राप्त हो कि होइन बुझ्नुपर्छ ।

-लगानी गर्नु अघि स्वतन्त्र रूपमा लगानीका अवसरहरूको अनुसन्धान गर्नुपर्छ ।

-छिटो धनी बन्ने, कहिल्यै नोक्सान नहुने, नाफाको ग्यारेन्टी गर्नेहरुको पछि लगानीकर्ता लाग्नु हुँदैन ।

-हतारमा लगानीको निर्णय गर्नु हुँदैन ।

-अपरिचितले गर्ने फोन, इमेल वा अन्य माध्यमबाट सम्पर्क गर्दा आफ्ना सबै कुरा खुलाउनु हुँदैन ।

-आफ्ना वित्तीय सूचना भएका मोबाइल, कम्प्युटर लगायतका उपकरणमा बलियो गरी पासवर्ड राखेको हुनुपर्छ ।

-सामाजिक सञ्जाल मार्फत आउने लगानीका प्रस्तावको पछि लाग्नु हुँदैन ।

-इन्टरनेटमा पाइने कुनै पनि लगानी सम्बन्धी जानकारीको राम्ररी जाँचबुझ गर्नुपर्छ ।

४. लगानीका आधारभुत पक्ष

-लगानीकर्ताले दीर्घकालीन, नियमित र लगानी विविधकरणको फाइदालाई बुझुन्पर्छ ।

-लगानीकर्ताले आफ्नो भविष्यको आवश्यकता र लक्ष्य अनुसारको लगानी योजना बनाउनुपर्छ ।

-के मा लगानी गर्दैछु ? भन्ने कुरा लगानीकर्ताले बुझेको हुनुपर्छ ।

कुन क्षेत्रमा लगानी गर्दा कति शुल्क लाग्छ ? त्यसले लगानी प्रतिफलमा कस्तो प्रभाव पार्छ ? लगानीकर्ताले थाहा पाउनुपर्छ ।

-लगानीका प्रकृया लगायत लगानीसम्बनधीत विद्यमान ऐन, कानुन लगायतका विषयमा लगानीकर्ता जानकार हुनुपर्छ ।

-लगानीकर्ताले धितोपत्र हस्तान्तरण र रकम भुक्तानी तोकिएको समयमा नै गर्नुपर्छ ।

-बाजारमा सुनीने हल्लालाई लगानीको एक मात्र आधार बनाउनु हुँदैन ।

५. प्राविधिक पक्ष

-वर्तमान द्रुत प्रविधिको लगानी वातावरणमा पनि समय लिएर लगानी सम्बन्धी निर्णय गर्नुपर्छ ।

-वित्तीय लगानीमा डिजिटल प्रविधिको उपयोग गर्दा हुनसक्ने जोखिमहरु के के हुन थाहा पाउनुपर्छ ।

-लगानीकर्ताले सूचनाको आधिकारिक स्रोत कुन हो? कुन होइन ? भन्ने छुटयाउन सक्नुपर्छ ।

-द्रुत गतिको प्रविधिको प्रभावमा परेर गर्न सकिने गलत लगानी निर्णय प्रति सधैं सचेत हुनुपर्छ ।

कर्णालीमा विद्युत् उत्पादन क्षमता २० हजार मेगावाट, ८३ नागिरक ऊर्जाको पहुँचमा Read Previous

कर्णालीमा विद्युत् उत्पादन क्षमता २० हजार मेगावाट, ८३ नागिरक ऊर्जाको पहुँचमा

राष्ट्रिय पेमेन्ट गेटवेमा २३ करोड भ्रष्टाचार, उद्योग सचिव मरासिनीसहित ९ जनाविरुद्ध मुद्दा दायर Read Next

राष्ट्रिय पेमेन्ट गेटवेमा २३ करोड भ्रष्टाचार, उद्योग सचिव मरासिनीसहित ९ जनाविरुद्ध मुद्दा दायर