नियामकको माइक्रोम्यानेजमेन्टका कारण सेयर बजार प्रभावित भयो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले पूँजीबजार नियामकको केही माइक्रोम्यानेजमेन्टका कारण पनि बजार प्रभावित भएको बताएका छन् ।  ‘विश्व लगानीकर्ता सप्ताह’ को उद्घाटन गर्दै महतले यस्तो बताएका हुन् ।

‘अहिले नियामकको केही माइक्रोम्यानेजमेन्टका कारण पनि बजार प्रभावित भएको देखिन्छ । यसबारे चाँडै कुनै निर्णय आउला भन्ने अपेक्षा गरेको छु’, अर्थमन्त्री महतले भने, ‘शेयर बजारलाई स्वस्थ बनाउन जरुरी छ । बेलाबेला भित्री कारोबार (इन्साइडर ट्रेडिङ) का कुरा पनि सुनिने गरेका छन् । यसलाई धितोपत्र बोर्डले निर्णायक हिसाबले नियमनको दायराभित्र ल्याउनुपर्छ ।’

उनले पूँजीबजारसम्बन्धी शिक्षा बढाउने र नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले नियामकीय भूमिका बढाउनुपर्नेमा जोड दिए। महतले आम लगानीकर्ताको हित हुनेगरी नियामकीय भूमिका निर्वाह गर्न र पूँजी बजारबारे जानकारी तथा साक्षरता बढाउन पनि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्जलगायत निकायलाई निर्देशन दिए ।

नयाँ धितोपत्र दलाल लाइसेन्स दिएपछि पुँजीबजार प्रतिस्पर्धी बन्दै गएको र एकाधिकारको अवस्था अन्त्य भएको उनको भनाइ छ । यसलाई थप प्रतिस्पर्धी बनाउन आवश्यक रहेको पनि अर्थमन्त्री महतले बताए ।

शेयर बजारबारे निकै कम व्यक्तिलाई मात्र जानकारी रहेको र यस क्षेत्रमा लगानी गरेर कसरी प्रतिफल लिने भन्नेबारे धेरैलाई जानकारी नभएकाले वित्तीय तथा पूँजी बजारसम्बन्धी साक्षरता बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

शेयर बजारको उतारचढावका बेला निश्चित व्यक्तिले नाफा लिने र सर्वसाधारणले गुमाउने भएकाले पूँजीबजारको कारोबारबारे सर्वसाधारणलाई बढी जानकारी दिनुपर्ने आवश्यकता उनले औँल्याए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेपालमा वित्तीय साक्षारता निकै कम रहेको बताए। ‘नेपालमा वित्तीय साक्षारता २० प्रतिशतभन्दा कम छ । जुन क्षेत्रीयरुपमै न्यून हो । यसलाई बढाउनका लागि सबै निकाय र पक्षले भूमिका खेल्न जरुरी छ‘, उनले भने, ‘लगानीका नयाँनयाँ औजार विकास भएका छन् भने सूचना प्रविधि क्षेत्रको क्रान्तिले नयाँ अवससँगै चुनौती पनि आएको छ । त्यसमा हामीले आफूलाई पनि तयार राख्नुपर्छ ।‘

धितोपत्र बोर्डले आजदेखि लगानीकर्ता शिक्षा र गुनासो सुनुवाइका लागि आर्टिफिसियल इन्टेलिजेन्स मा आधारित च्याटबट सञ्चालनमा ल्याएको छ । लगानी सप्ताहका रुपमा एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाउने योजना रहेको छ ।

हुलाकी सडक :  निर्धारित समयसम्म ५० प्रतिशत पनि काम भएन Read Previous

हुलाकी सडक : निर्धारित समयसम्म ५० प्रतिशत पनि काम भएन

कर्णालीमा विद्युत् उत्पादन क्षमता २० हजार मेगावाट, ८३ नागिरक ऊर्जाको पहुँचमा Read Next

कर्णालीमा विद्युत् उत्पादन क्षमता २० हजार मेगावाट, ८३ नागिरक ऊर्जाको पहुँचमा