दुई महिनामै सरकारले लियो आधा खर्ब ऋण, देशको ऋण २३ खर्ब नाघ्यो

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामै झन्डै आधा खर्ब ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु वर्षको साउन र भदौमा सरकारले ४९ अर्ब २३ करोड रुपैयाँ ऋण लिएको हो ।

कार्यालयका अनुसार सरकारले दुई महिनामा ४४ अर्ब २६ करोड आन्तरिक र ४ अर्ब ९७ करोड बाह्य ऋण उठाएको हो । जसमा साउनमा १३ अर्ब ६ करोड र भदौमा ३१ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । सरकारले चालु आवमा कुल २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउन लक्ष्य राखेको छ ।

चालु वर्षको दुई महिनामै आधा खर्ब ऋण थपिएपछि नेपालको सार्वजनिक ऋण झन्डै साढे २३ खर्ब पुगेको छ । गत असार मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेकोमा भदौ मसान्त आइपुग्दा बढेर २३ खर्ब ४८ अर्ब ५८ करोड ५७ लाख रुपैयाँ पुगेको हो ।

कुल सार्वजनिक ऋण मध्ये आन्तरिक ऋण ११ खर्ब ४० अर्ब ५३ करोड र बाह्य ऋण ११ खर्ब ६९ करोड ३३ करोड रुपैयाँ रहेको कार्यालयको तथ्यांक छ ।

आम्दानीबाट मात्र खर्च धान्न नसक्ने भएपछि सरकारले धमाधाम ऋण उठाउन थालेको हो । अर्थतन्त्रमा आएको संकुचनका कारण राजस्व, अन्तःशुल्क, भ्याट लगायतबाट हुने आम्दानीमा ठूलो गिरावट आएको छ । त्यस्तै, सरकारले घोषणा गरे पनि फजुल खर्च रोक्न नसक्दा ऋण लिनुपर्ने अवस्था आएको हो ।

भदौसम्म नेपालको प्रतिव्यक्ति सार्वजनिक ऋण दायित्व ७९ हजार रुपैयाँ नाघेको पुगेको छ । केन्द्रीय तथ्यांक कार्यालयका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । सबैलाई राष्ट्रिय ऋण भाग लगाउँदा ७९ हजार २०१ रुपैयाँ पर्न जान्छ ।

झन्डै ३९ अर्ब ऋण भुक्तानी

दुई महिनामा आधा खर्ब ऋण उठाएको सरकारले सोही अवधिमा ३८ अर्ब ७१ करोड ऋण (साँवा–ब्याज) भुक्तानी गरेको छ । सरकारले यस अवधिमा ३२ अर्ब ८३ करोड आन्तरिक र ५ अर्ब ८८ करोड बाह्य ऋण तिरेको हो ।

सरकारले साउनमा २२ अर्ब ७ करोड र भदौमा १० अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणको साँवा भुक्तानी भएको छ । त्यस्तै, बाह्यतर्फ साउनमा १ अर्ब २३ करोड र भदौमा ४ अर्ब ६४ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

यस अवधिमा सरकारले आन्तरिक ऋणको ८ अर्ब ७७ करोड र बाह्य ऋणको २ अर्ब २८ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको छ ।

मुहान पुनर्निर्माण नहुँदा मेलम्चीको पानी वितरण अन्योलमा Read Previous

मुहान पुनर्निर्माण नहुँदा मेलम्चीको पानी वितरण अन्योलमा

२२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन Read Next

२२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन