अपर तामाकोशीको हकप्रद सेयर भर्ने म्याद थप

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले भदौ १८ गतेदेखि बिक्रीमा ल्याएको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद असोज २२ गतेसम्म थप गरेको हो ।

माग अनुसार आवेदन नपरेपछि कम्पनीले म्याद थप गरेका हो । पहिलोपटक तोकेको आवेदन दिने म्याद असोज ७ गते सकिनै लाग्दा जम्मा २० प्रतिशत हकप्रद मात्र बिक्री भएपछि कम्पनीले थप दुई साता म्याद थपेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले गत साउन २६ गते बुकक्लोज गरेको थियो। सो अनुसार साउन २५ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट सीआस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष र सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। हकप्रद निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी इस्यूअर डबल बी’ रेटिङ दिएको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ। कम्पनीले हकप्रदबाट प्राप्त पूँजी २२ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माण र बैंकहरुको ऋण तिर्न प्रयोग गर्ने जनाएको छ ।

दुई महिनामै साढे ५ अर्बको बिजुली निर्यात Read Previous

दुई महिनामै साढे ५ अर्बको बिजुली निर्यात

असोज १४ गतेदेखि प्रिमियममा आइपीओ बिक्री गर्दै सोनापुर मिनरल्स Read Next

असोज १४ गतेदेखि प्रिमियममा आइपीओ बिक्री गर्दै सोनापुर मिनरल्स