फाष्ट ट्रयाक निर्माणलाई तीव्रता दिइँदै, तीन सिफ्टमा काम गर्ने योजना

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई-मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को निर्माणलाई तीव्र बनाइने भएको छ । निर्माण थालिएको ५ वर्षसम्म करिब एकचौथाई मात्र काम सकिएपछि अब थपिएको समयमै सक्न कामको गति बढाइने भएको हो ।

फाष्ट ट्रयाक नेपाली सेनाको जिम्मामा निर्माण भइरहेको छ । २०८१ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिए पनि सम्पन्न नहुने भएपछि सरकारले २०८३ चैतसम्म म्याद थपेको छ । थपिएको म्याद सकिन अब साढे ३ वर्ष मात्र बाँकी रहँदा तीनचौथाई काम सक्नुपर्ने भएकाले कामको गतिलाई तीव्र बनाउन लागिएको नेपाली सेनाले जनाएको छ ।

फाष्ट ट्रयाकका आयोजना प्रमुख शाहले चालु वर्ष भित्रै बाँकी ठेक्का लगाइ कामको गति बढाइने बताए । उनले कामको गति बढाउन ठेकेदारलाई मासिक लक्ष्य भेटाउनै पर्नेगरी जम्मेवारी बनाइने बताए ।

उनले फास्ट ट्रयाक निर्माणमा ढिलासुस्ती भएपछि ठेकेदारहरूसँग मासिक प्रगति र लक्ष्य माग गर्ने गरेको बताए । ठेकेदारले महिनामा गर्छु भने जति काम गर्नै पर्नेगरी जिम्मेवारी बनाइएको बताए ।

‘समयमा काम सक्न हामीले आयोजनाका ठेकेदारसँग प्रत्येक महिनाको लक्ष्य र प्रगति विवरण माग्ने गरेका छौँ, उनीहरूले त्यसैअनुसार प्लान बनाएर दिने गर्छन,’ शाहले चाणक्य पोष्टसँग भने, ‘भने अनुसार काम गरे/नगरेको कडाइका साथ अनुगमन गर्दै ठेकेदारलाई जवाफदेशी र जिम्मेवार बनाउँछौं । सबै खण्डका ठेकेदारहरूलाई मासिक लक्ष्य अनुसार काम गराउँदा समयमै सम्पन्न गर्न सकिन्छ ।

हालसम्म आयोजनाको २८ प्रतिशत काम सम्पन्न भएको छ भने अझै ७२ प्रतिशत काम बाँकी छ । यस्तै, उनले समयमै काम सक्न भविष्यमा तीन सिफ्टमा समेत काम गराउन सकिने बताए । अहिले आयोजनाको दैनिक एक सिफ्टमा मात्र काम भइरहेको छ । आयोजनालाई गति दिन तीन सिफ्टमा चौबीसै घण्टा काम गराइने योजना रहको आयोजना प्रमुख शाहले बताए ।

‘अहिले अधिकांश ठेक्कामा एक सिफ्टमा मात्र काम भइरहेको छ । हामीले समयमै काम सक्न ३ सिफ्टमा काम गरेर भए पनि सक्नुपर्छ भनेका छौँ,’ उनले भने । ठेकेदारहरूको क्षमता, जनशक्ति अनुसार थप सिफ्टमा काम गराइने उनले बताए । एकपटक म्याद थपिसकिएकाले अब तोकिएकै समयमा काम सक्नै पर्ने उनको भनाइ छ ।

उनले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन हुँदा लम्बाइ समेत घटेकाले समयमै काम सकिने बताए । पुरानो डीपीआर अनुसार दु्रतमार्गको लम्बाइ ७२.५२९ किलोमिटर रहेको थियो । हालै गरिएको संशोधित डीपीआर अनुसार आयोजनाको लम्बाइ डेढ किलोमिटर घटेर ७०.९७७ किलोमिटर कायम भएको छ ।

यसै वर्ष भित्रै सबै ठेक्का लगाइने

सेनाले आयोजनालाई ११ प्याकेजमा विभाजन गरी खरिद व्यवस्थापन तथा निर्माणको कार्य गरिरहेको छ । सो मध्ये हालसम्म १ देखि ७ प्याकेजमा ठेक्का लगाई काम भइरहेको छ ।

आयोजनाको अझै ४ प्याकेजको ठेक्का लाग्न बाँकी छ । प्याकेज नं. ८ देखि ११ सम्मको ठेक्का लगाउन बाँकी छ । सोमध्ये दुई प्याकेजको ठेक्का आह्वान भइसको छ भने बाँकी प्याकेजको पनि यसै वर्षभित्र लगाइ सकिने शाहले बताए ।

७०.९७७ किलोमिटर लामो यस सडकमा कुल १० किलोमिटरको ६ वटा सुरुङमार्ग निर्माण गरिने भएको छ । अहिले महादेवटारको सुरुङ ३.३५५ किलोमिटर, धेद्रेको १.६३० किलोमिटर र लेनडाँडाको १.४३० किलोमिटर सुरुङ खन्ने काम भइरहेको छ । संशोधित डीपीआर अनुसार देवीचौरमा १ किलोमिटर, सिसौटारमा ०.३९ किमी र चन्द्रामभीरमा २.२५ किलोमिटर सुरुङ निर्माणका लागि ठेक्का आह्वान भइसको छ ।

आयोजनामा करिब ८९ वटा पुलहरू निर्माण गरिने छ । आयोजनाको संशोधित अनुमानित लागत २ खर्ब ११ अर्ब ९३ करोड ररुपैयाँ रहेको छ । चालु आर्थिक वर्षमा यस आयोजनालाई २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा सुरु भएको उक्त द्रुतमार्ग आयोजना २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ललितपुरको खोकनाबाट सुरु भई काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने छ ।

काठमाडौंलाई तराई मधेस हुँदै छिमेकी मुलुक भारतसँग जोड्ने छोटो, फराकिलो र सुविधा सम्पन्न द्रुतमार्ग निर्माणपछि काठमाडौंबाट निजगढसम्मको यात्राअवधि ५ घण्टाबाट घटेर एक घण्टामा सीमित रहने मात्र नभई इन्धन र समयसमेत बचत हुनेछ ।

विद्यालय बन्द गरे शिक्षकलाई कारबाही गर्ने महानगरको चेतावनी Read Previous

विद्यालय बन्द गरे शिक्षकलाई कारबाही गर्ने महानगरको चेतावनी

डिशहोम फाइबर नेटले ल्यायो ‘कनेक्सनको दोब्बर उत्सव’ अफर Read Next

डिशहोम फाइबर नेटले ल्यायो ‘कनेक्सनको दोब्बर उत्सव’ अफर