काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार सामान्य अंकले बढेको नेप्से आज १६ अंकले बढेको हो ।
सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३२ करोड बढेर १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।
मंगलबार नेप्से परिसूचक १६.२४ अंकले बढेर १९८५.४३ विन्दुमा पुगेको छ । यसदिन २७२ कम्पनीको ४३ लाख ३६ हजार ५८३ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल र व्यापार बाहेक अरु सबको परिसूचक बढेको छ । हाइड्रोपावर उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.२१ प्रतिशतले बढेको छ ।
आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
बढ्दो बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । शुभम पावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने थ्रीस्टार हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, बलेफी हाइड्रोपावर र अभियान लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।