मजबुत बन्दै अर्थतन्त्रको बाह्य क्षेत्र, आन्तरिक शिथिलता भने कायमै, यस्ता छन् मुख्य सूचक

काठमाडौं । अर्थतन्त्रको बाह्य क्षेत्रहरु मजबुत बन्दै गएको छ । गत आर्थिक वर्षदेखि अर्थतन्त्रका आन्तरिक सूचकहरु कमजोर बन्दै गए पनि बाह्य सूचकहरु भने झन्झन् बलियो बन्दै गएको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिना (साउन)को तथ्यांकले विदेशी मुद्रा संचिति, व्यापार घाटा, शोधान्तरस्थिति, चालुखाता, रेमिट्यान्स आप्रवाह लगायत सूचकमा सुधार आउँदा बाह्य क्षेत्र बलियो बन्दै गएको देखाएको हो ।

बाह्य सूचक बलियो बन्दा आन्तरिक सूचकमा भने सुधार आउन नसकेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अहिले पनि मूल्य वृद्धि सरकारको नियन्त्रण बाहिर छ भने कर्जा लगानी अति न्यून छ । साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.१ प्रतिशतले घटेको छ ।

त्यस्तै, अर्थतन्त्रमा आएको संकुचनका कारण उद्योगधन्दा पूर्ण क्षमतामा संचालन हुन सकेका छैनन भने औद्योगिक क्षेत्रमा नयाँ लगानी नगन्य मात्रमा छ ।

यस्ता छन् अर्थतन्त्रका मुख्य सूचकहरु

विदेशी मुद्रा संचिति अहिलेसम्मकै धेरै : विदेशी मुद्रा संचिति अहिलेसम्मकै धेरै भएको छ । साउन मसान्तसम्म कुल विदेशी मुद्रा संचिति १५ खर्ब ७३ अर्ब पुगेको छ ।

विदेशी पर्यटकको आवगमन बढ्दा र आयात घट्दा विदेशी मुद्रा संचितिमा सुधार आएको हो । गत असारको तुलनामा साउनमा विदेशी मुद्रा संचिति २.२ प्रतिशतले बढेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग १३ खर्ब ८५ अर्ब र बैंक तथा वित्तीय संस्थासँग १८७ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । २०८० साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

साउन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

रेमिट्यान्स आप्रवाह २६ प्रतिशतले बढ्यो

चालु आवको पहिलो महिनामा रेमिट्यान्स आप्रवाह २५.८ प्रतिशतले वृद्धि भएर ११६ अर्ब २ करोड पुगेको छ । यो कुनै पनि एक महिनामा भित्रिएको अहिलेसम्मकै धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो ।

रेमिट्यान्स बढे पनि वैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छ । साउनमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमी आई ३९ हजार १५२ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६ हजार ४२३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो ।

चालु खाता र शोधनान्तर स्थिति बचतमा

चालु वर्षको पहिलो महिनामा चालु खाता १२ अर्ब ९९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १५ अर्ब १३ करोडले घाटामा रहेको थियो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार शोधनान्तर स्थिति ३२ अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९ अर्ब ७६ करोडले घाटामा रहेको थियो ।

व्यापार घाटामा सुधार

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले कमी आई रु.११५ अर्ब ७१ करोड कायम भएको छ । समीक्षा अवधिमा वस्तु निर्यात ८.७ प्रतिशतले कमी आई रु.१३ अर्ब ५३ करोड कायम भएको छ भने वस्तु आयातमा १.६ प्रतिशतले कमी आई रु.१२९ अर्ब २४ करोड कायम भएको छ ।

७८ अर्ब आम्दनी, ३५ अर्ब खर्च

साउनमा सरकारले रु.३५ अर्ब ४ करोड खर्च गरेको छ । समीक्षा अवधिमा चालु खर्च रु.१२ अर्ब १४ करोड, पूँजीगत खर्च रु.८२ करोड र वित्तीय व्यवस्था खर्च रु.२२ अर्ब ८ करोड रहेको छ ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.७८ अर्ब ८७ करोड भएको छ । यस अन्तर्गत कर राजस्व रु.७० अर्ब १८ करोड र गैर कर राजस्व रु.८ अर्ब ७० करोड परिचालन भएको छ ।

मूल्यवृद्धि अझै उच्च

गत वर्षदेखि उच्च रहँदै आएको मूल्यवृद्धि अझै नियन्त्रणमा आउन सकेको छैन । राष्ट्र बैंकका अनुसार गत साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४२ प्रतिशत रहेको छ । वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.३४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १२.५८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४५.५६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.२० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.१९ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको ११.०५ प्रतिशत र तरकारीको १०.८० प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.१३ प्रतिशतले घटेको छ ।

घट्यो निक्षेप संकलन र कर्जा लगानी

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.१३३ अर्ब २४ करोड (२.३ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.१०० अर्ब ७७ करोड (२.० प्रतिशत) ले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.९ प्रतिशतले बढेको छ ।

यस्तै, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४ अर्ब ३५ करोड (०.१ प्रतिशत) ले घटेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.२ अर्ब ३१ करोड (०.०५ प्रतिशत) ले घटेको थियो।

 

राजस्व चुहावट नियन्त्रण गर्न गृह र अर्थ मन्त्रालयले बढायो थप सक्रियता Read Previous

राजस्व चुहावट नियन्त्रण गर्न गृह र अर्थ मन्त्रालयले बढायो थप सक्रियता

राजस्व चुहावटबारे अध्ययन गर्न कार्यदल गठन Read Next

राजस्व चुहावटबारे अध्ययन गर्न कार्यदल गठन