काठमाडौं । पूर्वको मुख्य व्यापारिक तथा औद्योगिक केन्द्र विराटनगरमा विशेष आर्थिक क्षेत्र (सेज) निर्माण अनिश्चित भएको छ ।
वि.सं. २०६३ सालमा सम्भाव्यता अध्ययनका लागि प्रस्ताव गरिएको विराटनगर सेज निर्माण जग्गा उपलब्ध नहुँदा अझै बन्ने/नबन्ने टुंगोमा पुग्न नसकेको हो ।
सरकारले हरेक वर्ष सेज निर्माणको घोषणा गरे पनि आवश्यक जग्गा नहुँदा आयोजना नै अन्योलमा परेको हो । विशेष आर्थिक क्षेत्रका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले विराटनगरमा सेज निर्माण गर्ने कि नगर्ने अझै टुंगो नलागेको बताए ।
जग्गाको सुनिश्चिता नहुँद अझै पनि सेज निर्माण अन्योलतामै रहेको उनले बताए । ‘जग्गा टुंगो लागेको छैन, कुन ठाउँमा सेज बनाउने टुंगो नलागेसम्म कुनै प्रकृया हुँदैन,’ उनले चाणक्य पोष्टसँग भने ‘त्यहाँ सेज बन्ने नबन्ने एकीन भन्न सकिँदैन ।’
उनका अनुसार १७ वर्ष अघि परामर्शदाता पीताम्बर रावलको नेतृत्वमा आएको सरकारी टोलीले अमडुवा फर्मलाई सेजका रूपमा विकास गर्न सकिने गरी सिफारिस गरेका थिए । जग्गा प्राप्ती महंगो पर्ने भएपछि सरकारले मोरङ र सुनसरीमा साल्ट ट्रेडिङको स्वामित्वमा रहेको ३१२ बिघा जग्गामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेको थियो ।
सो समयमा मोरङ सुगर मिल क्षेत्रको करिब ५१२ बिघामध्ये एउटै प्लटमा रहेको १८० बिघा जग्गामा स्थापना गर्न सकिने सुझाव दिएको उनले जानकारी दिए ।साल्ट ट्रेडिङको जग्गामा सेज निर्माण गर्ने तयारी भइरहेको हुँदा छलफलको चरणमा रहेको उनले बताए ।
सुनसरीको अमरडुवास्थित साल्ट ट्रेडिङको ६५० विघा जमिनमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने जस्ता प्रस्तावहरू अहिलेसम्म पेस भएका छन् ।
सेजमा आर्थिक क्षेत्रभित्र निर्यात प्रवद्र्धन केन्द्र, विशेष व्यापारिक क्षेत्र, पर्यटकीय क्षेत्र, सूचना र प्रविधि पार्क, बैंकलगायतका पूर्वाधारको विकास हुनेछ । सेजमा स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षण गरी औद्योगिक तथा व्यापारिक केन्द्र स्थापना गरेर निर्यात प्रवद्र्धनमा जोड दिने सरकारको लक्ष्य रहेको हो ।
विराटनगर सेज निर्माणको टुंगो नलागे पनि भैरहवा र सिमरा सेजमा भने उद्योग आउने क्रम बढेको छ । एक दशक अघि स्थपना भएका यी सेजमा वर्षौंसम्म उद्योग नआए पनि अहिले भने क्रमशः आउन थालेका हुन् ।
भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा ११ वर्षपछि बल्ल प्लटहरू भरिएका छन् भैरहवा सेजका ६८ मध्ये ६६ प्लट भरिएका छन् । अब २ वटा प्लटमा मात्र उद्योग आउन बाँकी रहेको भैरहवान सेज कार्यालयले जनाएको छ ।
सिमरा सेजमा आर्थिक वर्ष २०६२/६३ देखि पूर्वाधार निर्माण सुरु भएको थियो । झण्डै २ दशक पुग्न लाग्दा समेत यो सेजमा आवश्यक भए जति उद्योग आउन सकेका छैनन् । हालसम्म यस सेजमा १३ वटा औद्योगिक कम्पनीले उद्योग सञ्चालनको अनुमति प्राप्त गरेका छन् ।
सरकारले मधेस प्रदेशमा १२०.३४ हेक्टरमा सिमरा सेज बनाएको छ । सिमरा विशेष आर्थिक क्षेत्रको ’बी’ ब्लक र ’सी’ खाली छन् । यी ब्लकमा पूर्वाधार विकासका लागि निफ्राले स्वदेशी तथा विदेशी लगानीकर्ता खोज्नेछ । हाल सिमरा सेजको ‘ए’ ब्लकमा ६५ प्टल का लागि आवेदन खुल्ला गरिएको थियो ।