वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले गत वर्ष आर्थिक उत्पादनको अनुपातमा गिरावट आए पनि विश्वव्यापी ऋणको भार कोभिड महामारीअघिको भन्दा निकै माथि रहेको जनाएको छ ।
आइएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक र निजी दुवै ऋणसहित कुल ऋण गत वर्ष विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २३८ प्रतिशत रहेको छ, जुन सन् २०१९ को तुलनामा ९ प्रतिशत बढी हो । आइएमएफले उच्च सार्वजनिक ऋण हुनुलाई विश्वव्यापी विकासमा देखिएको सुस्ततालाई जिम्मेवार ठहर्याएको छ, जुन निजी ऋणको तुलनामा सुस्त दरमा घटिरहेको छ ।’
‘वित्तीय घाटाले सार्वजनिक ऋणको स्तरलाई उच्च राखेको छ, किनकि धेरै सरकारहरुले वृद्धिलाई बढावा दिन र महामारीसँग सम्बन्धित वित्तीय समर्थन समाप्त भए तापनि खाद्य र ऊर्जाको मूल्य वृद्धि रोक्न बढी खर्च गरेका छन्,’ आइएमएफद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसले सरकारहरुलाई निजी ऋणको ‘सतर्क निगरानी’ र सार्वजनिक ऋण स्थिरता व्यवस्थापन गर्न ‘विश्वसनीय’ वित्तीय ढाँचाहरु सिर्जना गरेर ऋणको कमजोरी कम गर्न ‘तत्काल कदम’ चाल्न आह्वान गरेको छ ।महामारीको समयमा ऋणको स्तर बढे पनि सार्वजनिक र निजी क्षेत्र दशकौंदेखि बढ्दै गएका छन् ।
आइएमएफका अनुसार यो वृद्धिको ठूलो हिस्साका लागि चीन जिम्मेवार छ, हालका वर्षहरुमा कुल गार्हस्थ उत्पादन प्रतिशतको रुपमा उसको ऋण तीव्र रुपमा बढेको छ र संयुक्त राज्य अमेरिकाको समान स्तरमा पुगेको छ ।न्यून आय भएका देशहरुमा ऋण पनि बढ्दै गएको छ, जसले ‘चुनौती र कमजोरी’ हरु सिर्जना गरेको छ । यसमा कम आय भएका विकासशील देशहरुको आधाभन्दा बढीमा ऋण सङ्कटको उच्च जोखिम पनि समावेश छ ।
आईएमएफले भनेको छ, ‘ऋणको बोझ कम गर्नाले वित्तीय रिक्तता सिर्जना हुनेछ र नयाँ लगानीलाई अनुमति दिनेछ । यसले आगामी वर्षहरुमा आर्थिक वृद्धिलाई बढावा दिन मद्दत गर्नेछ ।’ एएफपी