काठमाडौं । हाइड्रोपावर कम्पनीहरूले हकप्रद सेयरको बाढी नै ल्याएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ७ दर्जन कम्पनीमध्ये एकचौथाई अर्थात् झन्डै २ दर्जन कम्पनीले हकप्रद प्रक्रिया अघि बढाएका हुन् ।
पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट हकप्रद जारी गर्नका लागि ६ वटा हाइड्रोपावर कम्पनीले अनुमति पाइसकेका छन भने ९ वटा कम्पनी हकप्रद जारी गर्न अनुमतिको पाइपलाइनमा छन् ।
बोर्डका अनुसार राधी विद्युत कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनी, अरुण काबेली पावर, सिनर्जीपावर कम्पनी र अपर तामाकोशी हाइड्रोपावर कम्पनीले हकप्रद जारी अर्न अनुमति पाएका छन् । यीमध्ये राधी, हिमाल दोलखा र सिनर्जी पावरले जारी गरिसकेका छन् भने तामाकोशी र अरुण काबेलीको हाल बिक्रीमा छ ।
यस्तै, छ्याङ्दी, सिंगटी, हिमालय, अरुण भ्याली, रिडी पावर, लिबर्टी इनर्जी, न्याग्दी, आँखुखोला, बरुण र घलेम्दी हाइड्रोपावर कम्पनी हकप्रद अनुमतिको पाइपलाइनमा छन् । यी कम्पनीले अनुमतिका लागि बोर्डमा आवेदन दिइसकेका छन् । त्यसैगरी, जोशी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, बरुण हाइड्रोपावर लगायत १ दर्जन कम्पनीले हकप्रद जारी गर्ने घोषणा गरेका छन् ।
नेप्सेमा सूचीकृत १३ समूहमध्ये अन्य समूह मध्ये अरु समूहको कम्पनीलाई हकप्रदमा कडाइ गरिएको छ । तर, सबैभन्दा धेरै कम्पनी रहेको हाइड्रोपावर समूहका कम्पनीले भने धमाधम हकप्रद जारी गर्न लागेका हुन् । हाइड्रोपावर कम्पनीहरूले चुक्ता पूँजीको ५० प्रतिशतदेखि २०० प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न लागेका छन् । यसले घट्दो ट्रेन्डमा रहेको सेयर बजारमा हाइड्रोपावर कम्पनीहरूले धमाधम हकप्रद जारी गरी सेयर आपूर्ति बढाएका छन् ।
व्यवसायबाट नाफा कमाई पूँजी वृद्धि गर्न नसकेपछि सेयरधनीबाट थप पूँजी जुटाउने माध्यम हो हकप्रद । हकप्रद सेयर जारी गर्दा सेयरधनीलाई भार पर्ने भए पनि कम्पनीलाई भने फाइदा हुन्छ । अन्य क्षेत्रका कम्पनीको तुलनामा हाइड्रोपावरहरूले प्रतिफल दिन वर्षौं लाग्ने गरेको छ । यस्तोमा बिना प्रतिफल सेयरधनीलाई थप पूँजी थप्न लगाउँदा झन् भार पर्ने लगानीकर्ता बताउँछन् ।
हकप्रदले नयाँ आयोजना बनाउन सहयोग गर्छ
जलविद्युत क्षेत्रका लगानीकर्ताहरू थप पूँजी जुटाएर नयाँ आयोजना पनि अघि बढाउन मद्दत पुग्ने भएकाले हकप्रद जारी गर्नु परेको बताउँछन् ।स्वतन्त्र ऊर्जा उत्पाक संघ नेपाल (इपान)का उपाध्यक्ष आशीर्ष गर्ग नयाँ प्रोजेक्ट निर्माणका लागि हकप्रद जारी गर्नु कम्पनीको लागि सकारात्मक भएको बताउँछन् ।
‘हाइड्रोपावरले हकप्रद निष्कासन गर्नु सकारात्मक कुरा हो । नेप्सेमा सूचीकृत कम्पनीहरूले दोस्रो, तेस्रो प्रोजेक्ट निर्माणका लागि पूँजी संकलन गर्न हकप्रद जारी गर्ने हुन,’ उनले चाणक्य पोष्टसँग भने, ‘धेरैजसो हाइड्रो कम्पनी नेप्सेमा सूचीकृत छन् । ती कम्पनीले पूँजी उठाएर अर्को आयोजनामा लगानी थप्न बाटो खुला हुन्छ ।’
यसअघि ऊर्जा उत्पाक आफैं र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर निर्माण गरिँदै आएको भए पनि हकप्रद जारी गरेर पूँजी निर्माण गर्दा सहज हुने उनले बताए ।
इपानकै कोषाध्यक्ष आनन्द चौधरी कम्पनीहरूका लागि हकप्रद जारी गर्नु आवश्यकता र बाध्यता भएको बताउँछन् । ‘हाइड्रोपावर कम्पनीका लागि हकप्रद जारी गर्नु आवश्यकता र बाध्यता हो,’ उनले भने, ‘यसले अर्को आयोजना निर्माण गर्न, परियोजनाको थप दायित्व भुक्तानी गर्न सकिन्छ ।’
ऋण लिएर नयाँ आयोजनाको निर्माण गर्नुभन्दा जनतामा गएर आइपीओ वा हकप्रद जारी गरेर पूँजी संकलन गर्दा लगानीको लागि सहज र लागत पनि कम पर्ने उनको भनाइ छ ।
‘ऋण लिएर लगानी गर्नुभन्दा आइपीओ वा राइटसेयर जारी गरेर पूँजी संकलन गरे अर्को आयोजनाका लागि लगानी सस्तो पर्छ र बैंकबाट ऋण लिनुपर्ने बाध्यता रहँदैन,’ उनले भने ।
जस्ताे कम्पनीलाई पनि हकप्रद जारी गर्न दिँदा जनताको सम्पत्ति जोखिममा
ठूलो रकममा घाटामा रहेका, कमजोर वित्तीय अवस्था भएका कम्पनीलाई समेत हकप्रद जारी गर्ने अनुमती दिँदा लगानीकर्ताले प्रतिफल नपाउने र सम्पत्ति जोखिममा पर्ने लगानीकर्ताहरू बताउँछन् ।
बोर्डले कम्पनीको वित्तीय अवस्था, लगानीकर्ताको लगानीको जोखिमको अवस्था लगायतका विषय नहेरी लहडको भरमा कम्पनीहरूलाई हकप्रद निष्कासनको अनुमति दिएको उनीहरूको आरोप छ ।
नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल वित्तीय अवस्था कमजोर भएको र घाटामा रहेका कम्पनीहरूलाई पनि हकप्रद जारी गर्न दिनु लगानीकर्ताको हितमा नभएको बताउँछिन् ।
‘नियामक निकायले वित्तीय अवस्था कमजोर भएका, घाटामा रहेका कम्पनीहरूलाई पनि हकप्रद निष्कासनको अनुमति दिनु लगानीकर्ताको लागि राम्रो होइन,’ उनले भनिन्, ‘हामीले यो विषय बोर्डमा समेत भनेका थियौं । तर, उहाँहरूले हामी केही गर्न सक्दैनौं, कानुन अनुसार रोक्न मिल्दैन भन्नुभयो ।’
बजारको चुस्त अनुगमन गर्ने र लगानीकर्ताको हितका लागि काम गर्ने बोर्डको दायित्व भए पनि त्यो नगरेको देखिएको उनको भनाइ छ ।
अनुमति दिँदा नाफा घाटा हेरिँदैन
धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ ले संगठित संस्थाले पूँजी बढाउने भएमा हकप्रद निष्कासन गर्न सक्ने व्यवस्था गरेको छ । नियमावली अनुसार संस्थाको सञ्चालक समितिबाट हकप्रद निष्कासन सम्बन्धी निर्णय भएमा साधारण सभाले बोर्डमा आवेदन दिनुपर्छ । सोही अनुसार कम्पनीले बोर्डमा पेस गरेको विवरण स्वीकृत गर्न उपयुक्त देखेमा हकप्रद निष्कासनको अनुमति दिनसक्ने नियमावलीमा उल्लेख छ ।
नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठ कम्पनीको साधारण सभाले नै हकप्रद निष्कासनको प्रस्ताव पारित गरेर आउने भएकाले बोर्डले अनुमति दिने गरेको बताउँछन् । ‘कम्पनीले पूँजी थप्छु भन्दा बोर्डले राइट सेयर जारी गर्न दिने हो । यसमा नाफा घाटाको कुरा हेरिँदैन,’ उनले भने ।
राइटसेयर आफ्नो हितमा छ कि छैन भन्ने विषयमा स्वयंम लगानीकर्ताले निर्णय गर्नुपर्ने उनी बताउँछन् । ‘राइट सेयर कम्पनीको सञ्चालक लगानीकर्ताको लागि हो । उनीहरूको साधारण सभाबाट हकप्रद जारी गर्ने प्रस्ताव लिएर आउँदा आफ्नो हितमा छैन भन्ने कुरा स्वयंम लगानीकर्ताले नै हेर्ने हो,’ श्रेष्ठले भने ।