काठमाडौं । यस वर्षको शरद ऋतुको हिमाल आरोहणका लागि २८४ आरोहीले अनुमति लिएका छन् ।
पर्ययटन विभागका अनुसार यस सिजनमा हालसम्म २८ आरोही समूहका २८४ जनाले विभिन्न ६ हिमाल आरोहणका लागि अनुमति लिएका हुन् ।
आरोहण अनुमति दिएका हिमालमध्ये सबैभन्दा बढी मनास्लुको लागि अनुमति जारी भएको विभागले जनाएको छ ।
विभागका अनुसार मनास्लु आरोहणका लागि २३ टोलीका २६६ जना आरोहीले अनुमति लिएका छन् । आरोहणको अनुमति पाउनेमा चीनका आरोही धेरै छन्। चीनले आफ्नो सिमानाका खुला गरेसँगै सेप्टेम्बरमा मात्र ६७ चिनियाँले आरोहणको अनुमति पाएका हुन्।
यस्तै, अमेरिकाका ३० जनाले अनुमति लिएका छन् । रसियाबाट २६ जापानका १५ जनाले अनुमति लिएका छन् । यो सिजनमा अनुमति लिने नेपाली आरोहीको संख्या ३ जना रहेको छ ।
पर्यटन विभागको तथ्यांक अनुसार यो सिजनमा २८४ जनालाई हिमाल आरोहणको अनुमति दिँदा ३ करोड ४ लाख ६६ हजार ३९० रुपैयाँ रोयल्टी संकलन भएको छ ।
