जी-२० सम्मेलनमा कस्ता मुद्दामा हुने छन् छलफल ?

काठमाडौं । विश्वका अग्रणी नेताहरू जी-२० (जी-ट्वेन्टी) शिखर सम्मेलनमा सहभागी हुन भारतको राजधानी दिल्लीमा सेप्टेम्बरको ९-१० मा भेला हुँदै छन्।  यो वर्षको शिखर सम्मेलनको मुख्य विषय दिगो विकासमा छ तर युक्रेनमा जारी द्वन्द्वबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।

 ग्रूप अफ ट्वेन्टी अर्थात् जी२० विश्वका शक्तिराष्ट्रहरूको एउटा समूह हो। यसको बैठक विश्वव्यापी अर्थतन्त्रबारे योजना बनाउन केन्द्रित हुने गर्छ। जी२० राष्ट्रहरूले वैश्विक अर्थव्यवस्थाको ८५ प्रतिशत हिस्सा ओगट्छन् भने उनीहरूबीच कुल व्यापारमध्ये ७५ प्रतिशत हुने गर्छ। विश्वको कुल जनसङ्ख्यामध्ये दुईतिहाइ मानिसहरू ती देशमा बस्छन्।

जी२० को सदस्यमा युरोपेली सङ्घ र १९ वटा देशहरू छन्। आर्जेन्टिना, अस्ट्रेलिया, ब्रजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेशिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, दक्षिण कोरिया, यूके र अमेरिका उक्त समूहका सदस्य हुन्। स्पेनलाई पाहुनाका रूपमा निम्तो दिइएको छ।

जी२० का कतिपय देशहरू – ब्रजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका – ले ‘ब्रिक्स’ नामक अलग्गै समूह बनाएका छन्। उक्त समूह ठूलो हुने क्रममा छ। ब्रिक्सको हालै सम्पन्न शिखर बैठकमा आर्जेन्टिना, इजिप्ट, इरान, इथिओपिया, साउदी अरब र यूएईसहित छ देशलाई पनि आमन्त्रण गरिएको थियो।

 जी२० समूहले के छलफल गर्छ?

जी२० राष्ट्रका शीर्षस्थ नेताहरूले छलफल गर्ने विषयहरू हालैका वर्षहरूमा अर्थतन्त्रमा मात्र सीमित छैन। जलवायु परिवर्तन, दिगो ऊर्जा, अन्तर्राष्ट्रिय ऋण मिनाहा, बहुराष्ट्रिय कम्पनीहरूलाई कर लगाउने विषयहरूमा पनि छलफल हुन थालेको छ।

प्रत्येक वर्ष एउटा फरक जी२० सदस्यराष्ट्रले अध्यक्षता ग्रहण गर्ने अभ्यास छ। सोही राष्ट्रले बैठकको विषयवस्तु तय गर्ने गरेको पाइन्छ। सन् २०२२ मा इन्डोनेशियाले जी२० को अध्यक्षता ग्रहण गरेको थियो र शिखर सम्मेलन बालीमा आयोजना गरिएको थियो।

सन् २०२३ को अध्यक्ष भारतले दिल्लीमा हुने शिखर सम्मेलन दिगो विकासमा केन्द्रित भएको हेर्न चाहेको छ। भारतले विकसित र विकासशील देशहरूबीच आर्थिक वृद्धिमा समान पहुँच कायम गर्न चालिनुपर्ने कदमहरूप्रति पनि रुचि व्यक्त गरेको छ।

सम्मेलनमा सामूहिक बैठकबाहेक विश्वका राष्ट्रपति र प्रधानमन्त्रीहरूले एक्लाएक्लै भेटवार्ताको अवसर पनि पाउने छन्। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले राष्ट्रपति जो बाइडनले विभिन्न नेताहरूसँग भेटवार्ता गर्ने र जलवायु परिवर्तनसँग जुझ्ने उपाय, युक्रेनमा जारी रुसी युद्ध र गरिबीविरुद्धको विश्वव्यापी लडाइँमा विश्व ब्याङ्कजस्ता संस्थाहरूले चाल्नुपर्ने कदमलाई अझ बलियो बनाउनुपर्ने विषयमा छलफल गर्ने जनाएको छ। तर क्रेम्लिनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने जनाएको छ। चिनियाँ राष्ट्रपति सी जिन्पिङ पनि सम्मेलनमा सहभागी नहुने विवरणहरू आएका छन्।

के जी२० मा विवादास्पद मुद्दाहरू छन्?

हालै दक्षिण अफ्रिकामा सम्पन्न ब्रिक्सको शिखर सम्मेलनमा रुसको प्रतिनिधित्व विदेशमन्त्री सर्गेइ लाभ्रोफले गरेका थिए। उक्त सम्मेलनमा राष्ट्रपति पुटिनले भिडिओ लिङ्कबाट सम्बोधन गरेका थिए। मे महिनामा चीन र साउदी अरबले पर्यटनबारेको जी२० बैठकलाई बहिष्कार गरेका थिए। भारत-प्रशासित कश्मीरमा उक्त बैठक आयोजना गरिएको थियो र कश्मीर क्षेत्रमा पाकिस्तान र भारत दुवैले दाबी गर्दै आएका छन्।

भारत र चीनबीच बेइजिङले सार्वजनिक गरेको नक्सालाई लिएर पनि विवाद छ। सो चिनियाँ नक्सामा अरुणाचल प्रदेश र अक्साई चीन पठारलाई चिनियाँ सीमाभित्र देखाइएको छ। रुस-युक्रेन युद्धले दिल्लीमा हुने शिखर सम्मेलनमा मतभेदहरू निम्त्याउने देखिन्छ।

सन् २०२२ को मार्चमा जी२० का विदेशमन्त्रीहरूको सम्मेलनमा अमेरिकी र रुसी प्रतिनिधिमण्डलबीच गम्भीर मतभेदका कारण कुनै सहमति हुन सकेन।

सन् २०२२ को नोभेम्बरमा बालीमा सम्पन्न नेताहरूको सम्मेलनमा युक्रेनी सीमाबाट पोल्यान्डतर्फको भूमिमा लडाइँका क्रममा क्षेप्यास्त्र खसेको विषय छलफलको केन्द्रमा रहेको थियो।

 सामूहिक फोटो’ किन?

 महत्त्वपूर्ण शिखर सम्मेलनहरूको अन्त्यमा सरकार प्रमुखहरूले सामूहिक तस्बिर खिचाउने गर्छन्। त्यसलाई ‘पारिवारिक तस्बिर’ पनि भन्ने गरिन्छ। तर तस्बिरले प्रकट गर्ने कूटनीतिक विवाद कतिपय अवस्थामा आफैँ समाचार बन्ने गर्छ।

सन् २०१८ मा इस्तानबुलस्थित साउदी महावाणिज्यदूतावासमा जमाल खाशोग्जीको हत्यापछि साउदी राजकुमार महमद बिन सलमानलाई उपेक्षा गरिएको जस्तो देखिन्थ्यो। उनलाई तस्बिर लिँदा समूहको एउटा कुनामा उभिन लगाइएको थियो।

जी२० ले हात पारेका उपलब्धि कस्ता ?

 सन् २००८ र सन् २००९ मा वित्तीय सङ्कटको समयमा नेताहरूले विश्वव्यापी अर्थप्रणालीलाई जोगाउन विभिन्न कदम चाल्न सहमति जनाएका थिए। तर कतिपय आलोचकहरूले त्यसपछिका शिखर सम्मेलनहरूमा कम सफल भएका र त्यसका लागि प्रतिद्वन्द्वी शक्तिराष्ट्रहरूबीचको तनाव जिम्मेवार रहेको बताउने गरेका छन्।

तर सम्मेलनका बेला हुने द्विपक्षीय सम्मेलन अधिकांश अवस्थामा फलदायी हुने गरेको पाइएको छ।सन् २०१९ मा ओसाकामा तात्कालिक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन्पिङले एउटा प्रमुख व्यापार विवाद हल गर्न वार्ता सुरु गर्न सहमति जनाएका थिए।

के जी२० सम्मेलनका बेला विरोधप्रदर्शन हुन्छ?

 नेताहरूको सम्मेलनको समयमा ठूला प्रदर्शनहरू हुने गर्छन्। पुँजीवादविरोधी प्रदर्शनकारीहरूले सन् २०१० को टोरन्टो सम्मेलन र सन् २०१७ को ह्याम्बर्ग सम्मेलनमा प्रदर्शन गरेका थिए।

सन् २०१७ मा ह्याम्बर्ग सम्मेलनको बेला विरोधप्रदर्शन भएको थियो । सन् २०१८ मा ब्रजिलको रीओ ड आयोजित रिओ ड जनीरोमा आयोजित सम्मेलनका क्रममा पनि जी२० को आर्थिक नीतिविरुद्धमा पनि हजारौँ मानिसले र्‍याली निकालेका थिए।

सन् २००९ मा लन्डनमा भएको जी२० शिखर सम्मेलनको समयमा भएको प्रदर्शनको समयमा एक जनाको मृत्यु भएको थियो। मृत्यु हुने व्यक्तिको नाम इअन टमिल्सन थियो र उनी पत्रिका विक्रेता थिए। बीबीसी

 

आइएमई मोटर्स बन्यो स्वीच मोबिलिटिका ईभीको आधिकारिक बिक्रेता Read Previous

आइएमई मोटर्स बन्यो स्वीच मोबिलिटिका ईभीको आधिकारिक बिक्रेता

मुस्ताङमा असोज अगाडि स्याउ टिप्न र बिक्री गर्न नपाइने Read Next

मुस्ताङमा असोज अगाडि स्याउ टिप्न र बिक्री गर्न नपाइने