काठमाडौं । सम्झौता भएको झण्डै ५ वर्ष बित्न लागे पनि स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तार अझै सुरू हुन सकेको छैन ।
सन् २०१८ मा उक्त सडक चीन सरकारको सहयोगमा निर्माण गर्ने गरी सम्झौता भएको थियो । तर, हालसम्म साइट क्लियरेन्स नहुँदा र चिनियाँ पक्ष नआउँदा काम सुरू हुनै नसकेको हो ।
सम्झौता अनुसार नेपाल सरकारले साइट क्लियर गर्नुपर्ने र त्यसपछि चिनियाँ टोलीले सडक निर्माण थाल्ने सहमति भएको थियो । तर, नेपाल सरकारले हालसम्म साइट क्लियर नगरेकाले त्यसैलाई बाहना बनाउँदै चिनियाँ टोली नआएको सडक विभागले जनाएको छ ।
१७ किलोमिटरमा लामो यस सडकखण्डको दायाँबाँया रहेका मापदण्ड विपरीतका घरटहरा अझै हटाइएको छैन । स्याफ्रुबेँसी र टिमुरे बजारका घरटहरा हटाउन नसक्दा सडक विस्तार झनै अन्योल बन्दै गएको सडक विभागका प्रवक्ता रामहरी पोखरेलले बताए ।
उनका अनुसार उक्त बजारका घरटहराहरूमा मुआब्जा विवादका कारणका हालसम्म मुआब्जा समेत निर्धारण हुन सकेको छैन । ‘टिमुरे र स्याफ्रुबेँसीको बजारमा भएको घरटहरा हटाउन दिनुपर्ने मुआब्जा अझै स्टिमेट हुन सकेको छैन, केही बिजुलीका पोल अझै हटाउन बाँकी छन्, त्यो नहटाएसम्म चिनियाँ निर्माण व्यवसायी नआउने ढिपी कसेर बसेका छन्,’ पोखरेलले भने ।
उनले बाँकी रहेका पोलहरू सडक निर्माणपछि मात्र सडक किनारामा सार्न मिल्ने बताए । चिनियाँ टोली गत अप्रिलमै आउने भने पनि साइट क्लियरेन्स नभएको समस्या देखाउँदै अहिलेसम्म नआएको उनले बताए ।
चिनियाँ टोलीले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक विस्तारको काम सुरू गर्न मुआब्जा वितरण र पोल हटाउने काम सक्न निर्देशन दिएको थियो ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विस्तार गर्ने गरी गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक २ लेनमा विस्तार गर्ने निर्णय भएको थियो ।
कोभिडका कारण देखाउँदै चीनले काम सुरू नगरेको सो सडक विस्तार चाँडै अघि बढ्ने अपेक्षा गरिएको थियो । चीनसँगको मुख्य अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने सो सडकको स्तरोन्नति सुरू गर्न चिनियाँ टोलीले बारम्बार आउने भने पनि साइट क्लियर नभएको बाहनामा नआउँद सडक विस्तार नै अन्योलमा परेको छ ।
स्याफ्रुमा घर र पोलको समस्या कायमै
स्याफ्रु बजारमा १५ मिटरमा बजार नै हटाउनु पर्ने भएकाले ढिलाइ भएको छ । पोखरेलका अनुसार स्याफ्रु बजारमा मुआब्जा लिनका लागि सूचना निकालिएको छ ।
‘स्याफ्रुबेँसीको १५ मिटरमा पूरा बजार उठ्ने हुँदा मुआब्जा वितरणमा ढिलाइ भएको हो, मुआब्जा लिन आउन सूचना निकालेका छाैं, अब मूल्यांकन गरेर बाँड्न मात्र बाँकी छ,’ उनले भने ।
यस्तै, स्याफ्रुबेँसीमा ५० वटा पोल हटाउन बाँकी रहेको छ । उक्त पोलहरू मध्ये केही सडक बीचमा भए र हटाउँदा खाल्डोमा पर्ने भएकाले चिनियाँ टोलीले वाल लगाएपछि कुनामा सार्ने तयारी भएकाले हाल नहटाइने उनले बताए ।
उनका अनुसार चिनियाँ टोली आएर निर्माण सुरू गरेपछि झण्डै २ वर्षमा निर्माण सक्ने तयारी रहेको छ । चिनियाँ सरकारको सहयोमा बन्न लागेको काठमाडौंदेखि केरुङ जोड्ने यो सडकमार्गको दूरी १७४ किलोमिटर रहेको छ । यसलाई ३ भागमा विभाजन गरेर काम गरिने भएको छ । काठमाडौं—गल्छी खण्डको ५४ किलोमिटर सडक दुई लेनको भए पनि गल्छीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी हुँदै रसुवागढी जोड्ने तयारी रहेको छ ।
२०७२ सालमा भारतले अघोषित गरेको नाकाबन्दी गरेपछि काठमाडौं–केरुङ नाका २ वर्षभित्र दुई लेनको बनाउने निर्णय गरिएको थियो । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि तत्कालका लागि चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने सडक यही नै हो । हाल एक लेनको सडक साँघुरो हुँदा रसुवागढीबाट सामान लिएर आउन निकै कठिनाइ हुँदै आएको छ ।