१० हजार मेगावाट बिजुली बेच्ने बाटो खुल्यो, प्रस्ताव भारतीय मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं । भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ । गत साता बसेको भारतको मन्त्रिपरिषद्ले बैठकले नेपालसँग गर्ने दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी सम्झौतापत्र स्वीकृत गरेको हो ।

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतको मन्त्रिपरिषद् बैठकले नेपालसँग १० वर्षमा १० हजार मेगाबाट बिजुली किन्ने प्रस्ताव पारित गरेको पुष्टि गरेका छन् । उनले मंगल बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फ यस्तो जानकारी दिएका हुन् ।

आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्न भारतको मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । यसले नेपालको विद्युत् विकासको नयाँ मार्गचित्र निर्माण गर्न बाटो खुलेको छ,’ उनले लेखेका छन् ।

यसबाट नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने राजदूत शर्माको विश्वास छ । भारतको मन्त्रिपरिषद्ले दीर्घकालीन विद्युत् व्यापार सम्झौतापत्र स्वीकृत गरेसँगै अब दुई देशका ऊर्जा सचिवले सम्झौतामा हस्ताक्षर गर्नेछन् । सम्झौतापत्रमा हस्ताक्षर भएपछि नेपाललाई भारत विद्युत् निर्यातमा सजिलो हुनेछ ।

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणका बेला सो सम्झौतामा हस्ताक्षर गर्ने भनिए पनि भारतले आवश्यक तयारी नपुगेको भनेपछि सम्झौता हुन सकेको थिएन । प्रचण्ड भ्रमण सकेर फर्किएको ३ महिनापछि अहिले भारतले दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो ।

दुई देशका प्रधानमन्त्री बीचको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए । दीर्घकालीन विद्युत् व्यापार सम्झौतापछि नेपालले २५ वर्षसम्मका लागि बिजुली बेच्न पाउने बाटो खुला हुनेछ ।

नेपालले अहिले १० आयोजनाबाट उत्पादित ४५२ मेगावाट बिजुली मात्रै भारतीय डे अहेड मार्केटमा बिक्रीका लागि अनुमति पाएको छ । नेपालले थप ६०० मेगावाट बिजुली खरिदका लागि प्रस्ताव गरे पनि भारतले अनुमति नदिँदा बर्खायाममा नेपालमा उत्पादित बिजुली खेर जाँदै आएको छ । भारतले बिजुली नकिन्दा बर्खायाममा कतिपय आयोजनाले पूर्ण क्षमतामा समेत उत्पादन गर्न नपाएको ऊर्जा उत्पादकहरूले बताउँदै आएका छन् ।

नेपालले अहिले बर्खायाममा भारतलाई बिजुली बेचिरहेको छ भने हिउँदमा भारतबाट किनेर ल्याउने गरेको छ । गत वर्ष नेपाल विद्युत् प्राधिकरणले ११ अर्ब बढीको बिजुली बेचेको थियो भने १९ अर्ब बढीको बिजुली भारतबाट किनेको थियो ।

 

कृषिमा आत्मनिर्भर हुन सामूहिक र करार खेतीलाई प्रोत्साहन Read Previous

कृषिमा आत्मनिर्भर हुन सामूहिक र करार खेतीलाई प्रोत्साहन

व्यवस्थित बनाइँदै पोखरा बसपार्क, मोटर पार्टस् र ग्यारेज हटाइए Read Next

व्यवस्थित बनाइँदै पोखरा बसपार्क, मोटर पार्टस् र ग्यारेज हटाइए