काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गत साता २३ अंकले घटेको नेप्से यस साताको पहिलो दिनमै २९ अंकले घटेको छ ।
आइतबार नेप्से परिसूचक २९.८१ अंकले घटेर १९९६०.७८ विन्दुमा आइपुगेको छ । यसदिन २७६ कम्पनीको १ अर्ब १८ करोड रुपैयाँ बराबरको ४० लाख ५३ हजार ३६८ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.०३ प्रतिशतले घटेको छ ।
आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । यसको पौने ४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
उच्च अंकले घटेको बजारमा पनि आज थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । सिटी होटल र लिबर्टी इनर्जीका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।