काठमाडौं । चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा बन्न लागेको ‘सिग्नेचर ब्रिज’ को डिजाइन सुरू गरिएको छ । नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बनाउने ठेक्का पाएको तुँही कन्स्ट्रक्सनले उक्त पुलको डिजाइनको काम सुरू गरेको हो ।
सडक विभाग अन्तर्गतको पुल महाशाखाका उपनिर्देशक मीनमान शाक्यले निर्माण कम्पनीले उक्त पुलको स्थलगत सर्भे गरी डिजाइनको काम सुरू गरेको बताए । उनले उक्त डिजाइन निर्माणका लागि ९ महिना समय तोकिएको बताए ।
उनले यो पुलको ठेक्का ‘डिजाइन एण्ड बिल्ड’ मोडलमा गरिएकाले निर्माण व्यवसायीले नै डिजाइनदेखि पुल निर्माणसम्मको काम गर्नेछ ।
‘अहिले डिजाइन बनाउने काम भइरहेको छ, उसको डिजाइन स्वीकृत भएपछि मात्र निर्माणको काम सुरू हुने छ,’ शाक्यले चाणक्य पोष्टसँग भने, ‘डिजाइन सक्न ९ महिना छ, डिजाइनको क्रममा त्रुटी भेटियो भने फेरि सच्याउनु पर्छ त्यसैले स्वीकृत हुने अवधिसम्म हेर्दा १ वर्ष नै लाग्छ ।’
ठेक्का सम्झौता अनुसार निर्माण व्यवसायीले डिजाइनसहित ४ वर्षमा उक्त पुल निर्माण सक्नुपर्छ । जसमा १ वर्ष डिजाइन गरी स्वीकृतीको लागि समय तोकिएको छ भने ३ वर्ष निर्माणका लागि समय छुट्याइएको उनले बताए ।
४२० मिटर लामो उक्त पुल निर्माणका लागि १ अर्ब ६८ करोड ७६ लाख । रुपैयाँमा ठेक्का सम्झौता भएको हो । सिग्नेचर पुल निर्माणमा विश्व बैंकको ४ अर्ब सहयोग लगानी रहने छ । २०७५ मा नै सरकारले उक्त सहयोगको सम्झौता गरेको थियो । पहिलो चरणमा ४ वटा सिग्नेचर पुल निर्माणका लागि विश्व बैंकले ४ अर्ब लगानी गर्ने सम्झौता भएको हो । सोही अन्तर्गत नारायणीमा बन्ने यो सिग्नेचर पुल पहिलो हुने छ ।
हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४६० मिटर लामो छ । यो पुल २०३५ सालतिर भारतीय ठेकेदार कम्पनीले निर्माण गरेको थियो । ४५ वर्ष पुरानो उक्त पुल साँघुरो र जीर्ण बन्दै गएपछि त्यसको १०० मिटर पर नयाँ सिग्नेचर पुल बनाउन लागिएको हो ।
कस्तो हुन्छ सिग्नेचर पुल ?
सिग्नेचर पुल सामान्य पुल जस्तै मोटरेबल नै भए पनि नयाँ प्रविधिबाट निर्माण हुने पुल महाशाखाले जनाएको छ । झट्ट देख्दा नेटवर्क आर्क ब्रिज जस्तै देखिने भए पनि यो आर्क ब्रिजभन्दा अझ आकर्षक हुन्छ ।
यो पुल चार लेनको बनाउने योजना रहेको पुल महाशाखाले जनाएको छ । प्रत्येक लेनको बीचमा डिभाइडर रहने छ भने हिड्नका लागि फराकिलो फुटपाथ समेत रहने छ । पुलहरूमा रातको समयमा लाइट बाल्न सकिन्छ जसले सहरी सौन्दर्यता बढाउनुका साथै पर्यटकहरूका लागि आकर्षणको केन्द्र हुनेछ ।
अत्याधुनिक प्रविधि प्रयोग गरेर नारायणी नदीमा आकर्षक एवम् कलात्मक पुल निर्माण गर्न लागिएको हो । यो पुल पर्यटकीय रूपमा समेत आकर्षक बनाइने छ । उक्त पुलमा रातको समयमा आकर्षक बत्तीले सजाइने छ । देवघाट हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल नजिक भएकाले पनि पुललाई पर्यटकमैत्री बनाउने योजना छ ।