सिक्टा सिचाइँ आयोजना : १ दर्जन आयोजना प्रमुख फेरिए, तर बढेन कामको रफ्तार

काठमाडौं । नेपालमा पूर्वाधार आयोजना निर्माणमा कुन हदसम्म लापारबाही, हेलचेक्र्याइँ र ढिलासुस्ती हुन्छ भन्ने एउटा उदाहरण हो निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिचाइँ आयोजना ।

आव २०६१/६२ देखि निर्माण थालिएको यो आयोजना दुई दशक बित्न लाग्दा समेत सम्पन्न हुन सकेको छैन । ठेकेदारको चरम लापारबाही र हेलचेक्र्याइँ, बजेट अभाव, सरकारको वेवास्ता, जग्गा अधिग्रहण, मुआब्जा विवाद लगायत कारण पटक पटक म्याद थप्दा पनि आयोजना पूरा हुन नसकेको हो ।

यो आयोजना लुम्बिनी प्रदेशको ४२ हजार ७६६ हेक्टर जमिनलाई सिचाइँ पुर्याउने लक्ष्यका साथ निर्माण थालिएको थियो । आयोजनाको पश्चिम मूल नहरले बाँकेको राप्ती नदीको पश्चिम भेगमा ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदीको पूर्वी भेगको करिब ९ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ ।

आयोजनाको अझै झन्डै एकतिहाई काम बाँकी रहेको छ । आयोजना प्रमुख रमेशकुमार सिंहले हालसम्म आयोजनाको ६९.७६ प्रतिशत भौतिक प्रगति भएको बताए । अझै ३०.२४ प्रतिशत काम बाँकी रहेको हो ।

उनका अनुसार आयोजनामा हालसम्म २० अर्ब ६० करोड ८२ लाख रुपैयाँ खर्च भइसकेकोे छ । सुरूआती लागत १२ अर्ब ७० करोड रहेकोमा समयमै सम्पन्न नहुँदा चार गुणाले बढेर अहिले ५२ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।

एकदर्जन हाकिम फेरिए, तर बढेन कामको गति

आयोजना सुरू भए यता १ दर्जन आयोजना प्रमुख फेरिसकेका छन्, । तर, आयोजनाको कामले भने पूर्णता पाउन सकेको छैन । जुनसुकै आयोजना प्रमुख आए पनि जग्गा अधिग्रहन, मुआब्जा लगायत समस्या समाधान नगर्दा र ठेकेदारलाई जिम्मेवारी बनाउन नसक्दा कामले गति लिन नसकेको हो ।

पटक पटक नेतृत्व फेरिए पनि समस्या ज्यूँकात्यूँ रहेका छन् । अहिले पनि आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण हुन सकेको छैन भने ठेकेदारलाईमा जिम्मेवारी बनाउन सकिएको छैन । साथै, वर्षेनी विनियोजित बजेट खर्च हुन नसकी फ्रीज हुँदै आएको छ ।

हालसम्म आयोजनामा १२ जना प्रमुख फेरिएका छन् । सुरूमा २०६१ असार ७ गते नियुक्त भएका कृष्णराज तिमलसिना २०६५ मंसिरसम्म आयोजनाको नेतृत्व गरे । त्यसपछि शर्वदेवप्रसाद जसवाल (२०६५ मंसिर १६ देखि २०६८ असार १२), दिलिपबहादुर कार्की (२०६८ असार १० देखि २०७० फागुन २६), सरोजचन्द्र पाण्डे (२०७० चैत २४ देखि २०७३ असोज ६ गतेसा) आयोजना प्रमुखको रुपमा रहे ।

त्यसैगरी, रमेह बस्नेत (२०७३ कात्तिक ७ देखि २०७४ भदौ १२), महेश्वर नर्सिङ केसी (२०७३ भदौ २१ देखि २०७४ भदौ २५ सम्म), रमेश बस्नेत (२०७५ वैशाख ५ देखि भदौ ५ सम्म), कृष्णप्रसाद नेपाल (२०७५ भदौ २८ देखि २०७६ फागुन ५ गतेसम्म), लोकबहादुर थापा (२०७६ फागुन ४ देखि २०७८ असार ३१ गतेसम्म), रामप्रसाद अर्यालले (२०७८ साउन ५ देखि २०७८ मंसिर १९ गतेसम्म) आयोजनाको नेतृत्व सम्हालेका थिए ।

त्यस्तै, २०७८ मंसिर २० गते नियुक्त भएका सन्तोेष कैनी ९ महिना काम गरेर २०७९ सालको भदौ १४ गते सरुवा भएका थिए । त्यसपछि २०७९ भदौ १५ गते नियुक्त भएका रमेशकुमार सिंहले अहिले आयोजनाको नेतृत्व गरिरहेका छन् ।

अहिलेसम्म के-के काम पूरा भयाे ?

यस आयोजना अन्तर्गत हालसम्म पूर्वी नहरको ३७.६७५ किलोमिटर मूल नहर निर्माणको काम पूरा भएको आयोजनाले जनाएको छ । परुवा हेडवक्सको ठेक्का सम्झौता भएको छ । डुण्डुवा क्यापको ठेक्का सम्झौता भई निर्माण कार्य सुरू भएको छ भने सिनाबाज क्षेत्र बचाव कार्यको ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको छ ।

पूर्वी मूल नहरको बाँकी कार्य गर्ने ठेक्का व्यवस्थापनको लागि पूर्व तयारीको कार्य भइरहेको आयोजना प्रमुख सिंहले बताए । पश्चिम तर्फको शाखाहरूको ठेक्का व्यवस्थापनको कार्य भइरहेको छ । पर्सेनीपुर शाखा नहरको ठेक्का मूल्यांकनको चरणमा रहेको छ । गोहा उपशाखा तथा अकलधरवा शाखा नहरको ठेक्काका लागि आह्वान गर्ने तयारी भइरहेको आयोजनाले जनाएको छ ।

के हुन मुख्य समस्या ?

आयोजना प्रमुख सिंहका अनुसार निर्माणका क्रममा सम्बन्धित ठेक्का सम्झौता अनुसार कारबाही गर्दा समेत निर्माण व्यवसायी विभिन्न तहको अदालतमा जाने र पूर्ण रुपमा फैसला नआउने हुँदा ठेक्काहरू रुग्न हुने गरेका छन् ।

उनले समय साक्षेप जग्गा प्राप्ति सम्बन्धी ऐन तथा नियमावलीको अभावका कारण जग्गा अधिग्रहणको प्रकृया झन्झटिलो, विवादित र लामो समय लाग्ने गरेको बताए । निर्माण कार्यका समयमा नदीजन्य पदार्थहरूको निकास बन्द हुने र असारदेखि कात्तिकसम्म कुनै काम गर्न नपाउनु समेत ढिलाइको ठूलो कारण बनेको उनले बताए ।

‘अदालतमा गएको मुद्दा अझै समाधान भएको छैन, असारदेखि कार्तिकसम्म पानी परेर काम गर्न सकिँदैन, बनेका नहर प्रयोगमा आउन सकेको छैन, यस्ता समस्या धेरै छन्,’ प्रमुख सिंहले भने ।

डडुवा शाखा नहरको निर्माण कार्य आयोजना र निर्माण कम्पनी कोष्टल पप्पु जेभीबीचको विवाद र मुद्दा मामिलाका कारण लामो समयदेखि अलपत्र परेको उनले बताए ।

प्रमुख सिंहले आयोजनामा भएका समस्याको समाधानका लागि अदालतमा मुद्दाहरू जाँदा पूर्ण रुपको फैसला चाडो हुनुपर्ने व्यवस्था मिलाउनुपर्ने बताए । उनले झनजटीलो विवादित र लामो समय लाग्ने प्रकृयाको सुधार गरी सम्बन्धित निकायहरूको व्यवहारिक समन्वयात्मक रुपमा कानून कार्यविधिमा सुधार हुनुपर्ने बताए ।

समयसँगै बढ्दै लागत

सिक्टा सिचाइँ आयोजनाको निर्माणका लागि पटक पटक म्याद थप गर्दा समेत पूरा हुन सकेको छैन । समय अवधि बढेसँगै आयोजनाको लागत खर्च बढ्दै गइरहेको छ ।

२०६१ सालमा निर्माण सुरू गर्दा १२ अर्ब ७० करोड रुपैयाँ लागतमा २०७० को माघसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । सो समयमा लक्ष्यअनुसार काम नभए पनि गुरुयोजना परिमार्जन गरी २५ अर्ब ९ करोड रुपैयाँको लागतमा आर्थिक वर्ष २०८४/८५ मा पूरा गर्ने लक्ष्य बनाइएको थियो । आर्थिक वर्ष २०७८/७९ सम्म १९ अर्ब रुपैयाँ खर्च हुँदा समेत आयोजनाले गति पाउन सकेन ।

२०७८/७९ मा सिक्टाका लागि विनियोजन भएको १ अर्ब १९ करोड ३७ लाख बजेटमध्ये काम हुन नसक्दा २६ करोड ५८ लाख रुपैयाँ फ्रिज भएको थियो । त्यसपछि आयोजनाको गुरुयोजना तेस्रो पटकको संशोधनमा यसको लागत ५२ अर्ब ८९ करोड पुर्याइएको छ ।

 

१० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, कम्तीमा ५० हजारको किन्नुपर्ने Read Previous

१० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, कम्तीमा ५० हजारको किन्नुपर्ने

भारतले लगायो उसिना चामल निर्यातमा २० प्रतिशत कर, मूल्य बढ्ने Read Next

भारतले लगायो उसिना चामल निर्यातमा २० प्रतिशत कर, मूल्य बढ्ने