फाष्ट ट्रयाकको डीपीआरमा गरिएका मुख्य ५ संशोधन, यसरी घट्ने छ दुरी र लागत

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई-मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरिएको छ ।

नेपाली सेवानको प्रस्तावमा साउन २० गते बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ-तराई -मधेश द्रुतमार्गको डीपीआर संशोधन गर्ने निर्णय गरेको हो ।

डीपीआर संशोधनसँगै आयोजनामा ५ वटा मुख्य परिवर्तन गरिएको छ । नेपाल सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार डीपीआर संशोधनपछि आयोजनाको लागत, लम्बाइ र निर्माण अवधि घटाएको छ ।

यस्तै, सुरुङमार्ग, पुलको संख्या बढेको छ भने कल्भर्टको संख्या घटेको उनले बताए । उनले डीपीआर संशोधनपछि आयोजनाका लागि अधिग्रहण गर्नुपर्ने जग्गा समेत घटेको बताए । यसले आयोजना निर्माणको समय समेत घट्ने अपेक्षा गरिएको छ ।

‘सुरुङ मार्ग थपिएसँगै हाम्रो लागत खर्च घटेको छ, सँगै यसमा निर्माण हुने संरचना पनि घटाएर लानेछ,’ भण्डारीले चाणक्य पोष्टसँग भने ।

प्रवक्ता भण्डारीले संशोधनपछि लागत करिब २ अर्ब रुपैयाँ घट्ने अनुमान गरिएको बताए । आयोजनाको पछिल्लो संशोधित लागत २ खर्ब १३ अर्ब ९५ करोड रुपैयाँ अनुमान गरिएको डीपीआर संशोधनपछि आयोजनाको लागत घटेर २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँमा झरेको उनले बताए ।

काठमाडौं–मधेशको ‘लाइफ लाइन’ का रुपमा हेरिएको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । विसं २०७४ वैशाख २१ देखि निर्माण सुरु गरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग हालसम्म २५.५४ प्रतिशत मात्र प्रगति भएको छ ।

तोकिएको म्याद २०८१ भित्रै निर्माण सम्पन्न हुन नसक्ने देखिएपछि आयोजनाको म्याद थपेर २०८३ साल चैत मसान्तसम्म पुर्याइएको छ । चालु आर्थिक वर्षमा फाष्ट ट्रयाक निर्माणका लागि २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यी हुन डीपीआरमा भएका मुख्य ५ परिवर्तन

लम्बाइ डेढ किमी घट्यो : सेनाका प्रवक्ता भण्डारीका अनुसार फाष्ट ट्रयाकको डीपीआर संशोधनपछि यसको लम्बाइ डेढ किलोमिटर घटेको छ । पुरानो डीपीआर अनुसार फास्ट ट्रयाकको कुल लम्बाइ ७२.७२९ किलोमिटर रहेकोमा नयाँ डीपीआर अनुसार ७०.९७७ किलोमिटर कायम भएको छ । यस अनुसार फाष्ट ट्रयाकको दुरी १.५५२ किलोमिटर छोटिएको छ ।

२ वटा पुल थपियो : डीपीआर संशोधनपछि आयोजनामा निर्माण हुने पुलको संख्या २ वटा थपिएको प्रवक्ता भण्डारीले बताए । पुरानो डीपीआर अनुसार आयोजनामा १०.७९६ किलोमिटरका ८७ वटा पुल बनाउने भनिएकोमा अब १२.८८५ किलोमिटरको ८९ वटा पुल बन्ने भएका छन् ।

३ वटा सुरुङ थपिए : आयोजनामा ३ वटा सुरुङ थपिएका छन् । हाल ३ वटा सुरुङ निर्माण भइरहेकोमा अब थप ३ वटा सुरुङ निर्माण हुने छन् । पुरानो डीपीआर ६.४१५ किलोमिटर लामो ३ वटा सुरुङ बन्ने थियो । अब अब नयाँ डीपीआर अनुसार १०.०५५ मा ६ वटा सुरुङ बन्ने भएको छ ।

संशोधनपछि सुरुङमार्गको लम्बाइ ३.६४ किलोमिट बढ्ने भएको छ । फास्ट ट्रयाकको प्रस्थानविन्दुबाट (खोकना)बाट १२ किलोमिटर र २४ किलोमिटर दुरीमा पर्ने चन्द्राङभिर र रामचन्द्र भीरमा ३ वटा सुरुङ बनाउन लागिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

४६ वटा कल्भर्ट निर्माण गर्न नपर्ने : डीपीआर संशोधनपछि फाष्ट ट्रयाकमा ४६ वटा बक्स कल्भर्ट निर्माण गर्नु नपर्ने भएको छ । पुरानो डीपीआर अनुसार १३४ वटा बक्स कल्भर्ट निर्माण गर्नुपर्नेमा अब ८८ वटा मात्र बक्स कल्भर्ट निर्माण हुने भएकाे छ।

जग्गा अधिग्रहण ३३५ रोपनी कम : आयोजनाको डीपीआर संशोधनपछि जग्गा अधिग्रहण पनि घटेको छ । यसअघिको डीपीआर अनुसार डिजाइन संशोधन भएको क्षेत्रमा ४४८ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा अब ११३ रोपनी जग्गा मात्र अधिग्रहण गर्नुपर्ने भएको छ । सुरुङको संख्या थपिएर सडकको दुरी घटेसँगै अधिग्रहण गर्नुपर्ने जग्गा ३३५ रोपनी कम भएको प्रवक्ता भण्डारीले बताए ।

नारायणीमा बन्ने सिग्नेचर पुलको सर्भे सुरू Read Previous

नारायणीमा बन्ने सिग्नेचर पुलको सर्भे सुरू

डोनल्ड ट्रम्प काउन्टी जेलमा हाजिर, २ लाख डलरको जमानतमा रिहा Read Next

डोनल्ड ट्रम्प काउन्टी जेलमा हाजिर, २ लाख डलरको जमानतमा रिहा