फास्ट ट्रयाकमा थप ३ सुरुङमार्ग बनाउन ठेक्का आह्वान, यी ठाउँमा बन्ने छन्

सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) थप तीन सुरुङमार्ग निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । सरकारले फास्ट ट्रयाकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) संशोधन लगत्तै काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयाेजनाले सुरुङमार्ग निर्माणका लागि ठेक्का आह्वान गरेको हो ।

हाल फास्ट ट्रयाक अन्तर्गत ३ वटा सुरुङमार्ग निर्माण भइरहेका छन् । डीपीआर संशोधन भएसँगै थप ३ वटा सुरु निर्माण गर्न लागिएको हो ।

नेपाल सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले फास्ट ट्रयाकमा थप ३ वटा सुरुङ निर्माणका लागि ठेक्का आह्वान गरिएको जानकारी दिए । उनले कुल २.२ किलोमिटर लामो ३ सुरुङ निर्माणका लागि ठेक्का आह्वान गरिएको बताए ।

उनका अनुसार प्याकेज नम्बर ८ र १० भित्र नयाँ सुरुङ बनाइने छ । नयाँ सुरुङको लम्बाइ क्रमशः ३०० मिटर, ९०० मिटर र १ किलोमिटर रहको उनले बताए । फास्ट ट्रयाकको प्रस्थानविन्दुबाट (खोकना)बाट १२ किलोमिटर र २४ किलोमिटरमा पर्ने चन्द्राङभिर र रामचन्द्र भिरमा ३ वटा सुरुङ बनाउन लागिएको हो ।

२ प्याकेजमा ठेक्का आह्वान गरी सुरुङको निर्माण गर्ने तयारी गरिएको सेना प्रवक्ता भण्डारीले बताए । ‘हामीले थप गरिएको नयाँ सुरुङ निर्माणका लागि ठेक्का आह्वान गरिसकेका छौँ, अब चाँडै निर्माण पनि सुरु गर्नेछौँ,’ प्रवक्ता भण्डारीले चाणक्य पोष्टसँग भने ।

भदौ १ गते आह्वान गरिएको उक्त ठेक्का असोज २३ गतेसम्मका लागि खुला गरिएको छ । कात्तिकभित्रै ठेक्का प्रक्रिया टुंग्याइ निर्माण थालिने उनले बताए । ठेक्का आवह्ना गरिएका सहित फास्ट ट्रयाकमा सुरुङको संख्या ६ वटा पुग्नेछ भने कुल लम्बाइ ८.६ किलोमिटर हुनेछ ।

हाल आयोजना अन्तर्गत कुल ६.४ किलोमिटर लामो ३ वटा सुरुङमार्ग निर्माण भइरहेको छ । आयोजना अन्तर्गत महादेवटारमा ३.३५५ किलोमिटर, धेद्रेमा १.६३० किलोमिटर र लेनडाँडामा १.४३० किलोमिटर सुरुङ खन्ने काम भइरहेको छ ।

हालसम्म महादेवटार सुरुङ निर्माणमा दाँयामा २०३ मिटर र बाँया २३५ मिटर सुरुङ खन्ने काम भएको छ । त्यस्तै, प्याकेज २ मा धेद्रे र लेनडाँडाको सुरुङ निर्माण भइरहेको छ । यसमा धेद्रेतर्फ र लेनडाँडातर्फ समेत सुरुङ खन्ने कामले गति लिइरहेको उनले बताए ।

काठमाडौं–मधेशको ‘लाइफ लाइन’ का रुपमा हेरिएको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । विसं २०७४ वैशाख २१ देखि निर्माण सुरु गरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग हालसम्म २५.५४ प्रतिशत मात्र प्रगति भएको छ ।

तोकिएको म्याद २०८१ भित्रै निर्माण सम्पन्न हुन नसक्ने देखिएपछि आयोजनाको म्याद थपेर २०८३ साल चैत मसान्तसम्म पुर्याइएको छ । चालु आर्थिक वर्षमा फाष्ट ट्रयाक निर्माणका लागि २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

गुणस्तरहीन दाना उत्पादन गर्ने दुई कम्पनी विरुद्ध मुद्दा दायर Read Previous

गुणस्तरहीन दाना उत्पादन गर्ने दुई कम्पनी विरुद्ध मुद्दा दायर

दुई दिनदेखि कर्णालीमा उडेन जहाज, यात्रु नेपालगञ्जमै अलपत्र Read Next

दुई दिनदेखि कर्णालीमा उडेन जहाज, यात्रु नेपालगञ्जमै अलपत्र