मुग्लिन-पोखरा सडक : पूर्वीखण्डको कामले गति लिँदै, पश्चिमखण्डको अति सुस्त

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा सडक कालोपत्रे गरिँदै ।

तनहुँ । पृथ्वी राजमार्गको पोखरा-मुग्लिन (पूर्वीखण्ड) सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम सडक खण्डमा ४१ प्रतिशत प्रगति भएको छ ।

पूर्वी खण्ड अन्तर्गत ४१.४५ किमी सडक विस्तारमा ३२ र पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको ३९ किलोमिटर दूरीमा ९ प्रतिशत काम सम्पन्न भएको हो ।

पूर्वी सडक खण्डमा २ हजार १०० किलोमिटर दूरीमा कालोपत्र गरिएको छ । आँबुखैरेनी गाउँपालिका–१ सत्रसय क्षेत्रबाट सुरु गरी डुम्रे बजारतर्फको खण्डमा कालोपत्र अघि बढाइएको छ । जेठ महिनासम्म राम्रै प्रगति भए पनि असार र साउनमा वर्षा भएकाले महिनाको ९ प्रतिशतका दरले प्रगति भएको पोखरा-मुग्लिन सडक योजना (पूर्वी खण्ड) का इञ्जिनीयर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

भदौ महिनादेखि कालोपत्र गर्न थालेपछि प्रगति बढ्ने उनले बताए । पहिलो चरणमा दुई लेनको कालोपत्र गरी पुनः दुई लेनको कालोपत्र थालिने छ ।इन्जिनियर पाण्डेले भने, ‘जहाँ तयारी हुन्छ ती स्थानमा कालोपत्र गरिहाल्ने योजनाअनुरुप निर्माणकार्य भइरहेको छ ।’ यसखण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउने, पर्खाल लगाउने, भित्तो खार्ने , खाल्टो पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको मुग्लिन सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

पूर्वी खण्डको सडक निर्माणका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि निर्माण प्रक्रिया अघि बढाइएको हो । पूर्वी खण्डको रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारको लागतमा ठेक्का दिइएको थियो ।

सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । सडक विस्तार गर्दा सडकको चौडाई दुईतर्फी २५-२५ मिटर हुनेछ भने सहरीक्षेत्र बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडा सडक बन्नेछ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको र उक्त खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ ।

पश्चिम खण्डमा ९ प्रतिशत प्रगति

त्यसैगरी पश्चिम खण्डमा अहिलेसम्म ९ प्रतिशत प्रगति भएको छ । उक्त खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । पोखरा बाहेक तनहुँ खण्डमा भित्ता कटिङ गरी कल्र्भड राख्ने र पर्खाल लगाउने कार्य भइरहेको त्यहाँका इञ्जिनीयर नारायण पौडेलले जानकारी दिए ।

यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले रु ७ अर्ब ४० करोड ४६ लाखमा ठेक्का लिएको हो । उक्त सडक खण्डको म्याद २०८१ भदौसम्म छ । विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ ।

दुलेगौँडाबाट खैरेनीटार बजार कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटर कायम गरिएको आयोजनाले जनाएको छ ।

वर्ल्ड ट्रेड सेन्टरमा सुरू भयो तीज मेला, विभिन्न सामग्रीमा भारी छुट Read Previous

वर्ल्ड ट्रेड सेन्टरमा सुरू भयो तीज मेला, विभिन्न सामग्रीमा भारी छुट

सानिमा बैंकका ग्राहकले दराजमा २० प्रतिशतसम्म छुट पाउने Read Next

सानिमा बैंकका ग्राहकले दराजमा २० प्रतिशतसम्म छुट पाउने