काठमाडौं । सरकारले सवा ३ अर्ब विदेशी अनुदान सहायता प्राप्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट प्राप्त हुने ३ अर्ब २९ करोड ६० लाख जापानी येन अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
उक्त रकम धुलिखेल अस्पताल, ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि खर्च गरिने सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
यसैगरी, बैठकले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ को उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र तथा निष्कासन सातौँ संशोधन नियमावली २०८० संशोधन गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै, मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त राष्ट्रसंघको भ्रमण तालिका स्वीकृत गरेको छ ।यही भदौ अन्तिममा अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ७८औं महासभामा सहभागी हुन प्रधानमन्त्री दाहाल महासंघको मुख्यालय जाँदै छन् ।