मैलुङ-स्याफ्रुबेँसी सडक : ठेकेदार काम छाडेर आन्दोलनमा, ठेक्का तोड्ने तयारी

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक अन्तर्गत मैलुङ–स्याफ्रुबेँसी खण्डको ठेक्का तोड्ने तयारी गरेको छ ।

विगत ८ वर्षदेखि निर्माण सुरू भएको यो सडक पटकपटक म्याद थप्दा पनि सम्पन्न हुन नसकेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेक्का तोड्ने तयारी गरेको हो ।

आव २०७२/७३ देखि सुरू भएको यस सडकको हालसम्म ५५.९८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । १९ किलोमिटर लामो यो सडक निर्माण ठेक्का भारत कन्ष्ट्रकसन–सिद्धिसाई जेभीले पाएको छ । पटकपटक म्याद थपे पनि ठेकेदारले काम गर्नुको सट्टा सडक अलपत्र पारेर हिँडेपछि ठेक्का टोड्न लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त निर्माण व्यवसायीले काम अलपत्र पारेको भन्दै ठेक्का तोड्ने तयारी भइरहेको बताए । उनले विगतमा विभिन्न समस्या देखाउँदै काम नगरेको उक्त निर्माण व्यवसायी हाल आन्दोलन उत्रिएको बताए । अहिले ठेकेदार कम्पनीले म्याद थपको लागि माग गरिरहे पनि अब चाँडै ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गरिने उनले बताए ।

‘मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडकको काम पटकपटक म्याद थप्दा ८ वर्षमा पनि पूरा हुन सकेन । अब हामी ठेक्का तोड्ने तयारीमा छौँ, छिट्टै ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गर्नेछौँ,’ सचिव शर्माले चाणक्य पोष्टसँग भने ।

यस्तै, गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना प्रमुख ध्रुवकुमार श्रेष्ठले निर्माण व्यवसायी आन्दोलनमा भएकाले हाल म्याद थप गर्ने कि ठेक्का तोड्ने बारे निर्णय नभएको बताए ।

उनले मन्त्रालयबाट निर्णय भएर आएपछि मात्र ठेक्का तोडिने बताए । उनका अनुसार वैशाख यता निर्माण व्यवसायीले फिल्डमा काम गरेको छैन । निर्माण व्यवसायी लामो समयदेखि सम्पर्कविहिन भएर बसेको र बारम्बार पत्रचार गर्दा समेत काम सुचारु नगरेको हुँदा ठेक्का तोड्नुको अर्को विकल्प नभएको उनले बताए ।
‘ठेकेदारले वैशाखदेखि काम नै गरेको छैन, पहिला पनि विभिन्न समयमा सम्पर्कविहिन भएर काम गरेको थिएन, अहिले आन्दोलनमा छ,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ‘ठेक्का तोड्नुभन्दा अर्को विकल्प छैन ।’

निर्माण व्यवसायी काममा नफर्किए निजले बुझेको अग्रिम पेस्की बापतको साढे १२ करोड असुल गरी नयाँ ठेक्का प्रक्रियामा अगाडि बढ्ने योजना रहेको उनले बताए ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको रुपमा गल्छी–मैलुङ–स्याफबेँसी–रसुवागढीसम्म ८२ किलोमिटर सडक विस्तारको काम २०७२/७३ बाटै सुरू गरिएको हो । हालसम्म आयोजनाको ५५.९८ प्रतिशत भौतिक प्रगति भएको छ भने ८ अर्ब ६२ करोड रुपैयाँ खर्च भइसकेको छ । पूँजीगततर्फ मात्र ५ अर्ब ३३ करोड रुपैयाँ खर्च भएको छ भने मुआब्जा वितरणका क्रममा ३ अर्ब ९ करोड रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ ।

चालु आर्थिक वर्षमा यस आयोजनाका लागि ५१ करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालु आवमा ९ किलोमिटर सडक कालोपत्र र ८ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजना सम्पन्न गर्नका लागि अब १ वर्ष मात्र बाँकी रहेको छ । सम्झौता अनुसार २०८१/८२ भित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।

 

बेनी-जोमसोम सडकखण्डको ५५ बढी ठाउँमा पहिरो, वैकल्पिक मार्गको माग Read Previous

बेनी-जोमसोम सडकखण्डको ५५ बढी ठाउँमा पहिरो, वैकल्पिक मार्गको माग

लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक जैविक औषधि प्रयोग गर्दै काठमाडौं महानगर Read Next

लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक जैविक औषधि प्रयोग गर्दै काठमाडौं महानगर