काठमाडौं । वाणिज्य बैंकहरूको सेयरमा लगानीकर्ताको आकर्षण घट्दै गएको छ । अन्य क्षेत्रको तुलनामा बैंकहरूको सेयर संख्या धेरै हुने र मूल्य बढ्दा पनि थोरै मात्र बढ्ने भएकाले लगानीकर्ता बैंकको सेयरमा आकर्षित हुन छाडेका हुन् ।
अन्य क्षेत्रका कम्पनीका तुलनामा बैंकको सेयरमा गरिएको लगानी सुरक्षित र वर्षेनि प्रतिफल पाइने भए पनि लगानीकर्ताले भने किन्न छाडेको तथ्यांकले देखाएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार पछिल्लो ३ वर्षमा बैंकको सेयर कारोबार झन्डै आधाले घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा वार्षिक कुल कारोबार मध्ये २६ प्रतिशत बैंकको सेयर कारोबार भएकोमा आव २०७९/८० मा घटेर १४.३ प्रतिशतमा सीमित भएको छ । त्यस्तै, आव २०७८/७९ मा कुल कारोबारको १७.३ प्रतिशत बैंकको सेयर कारोबार भएको छ ।
आव २०७७/७८ मा वाणिज्य बैंकहरूको कुल ३ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको ९५ करोड १ लाख कित्ता सेयर किनबेच भएको थियो भने गत आव ६६ अर्ब रुपैयाँ बराबरको २१ करोड ७२ लाख कित्ता सेयर कारोबार भएको छ । यद्यपि, यस अवधिमा कुल सेयर कारोबार पनि नै झन्डै एकतिहाईले घटेको छ । समग्र कारोबार घट्दा बैंकको सेयर कारोबार पनि घट्नु स्वभाविक हो । तर, कुल हिस्सा भने झन्डै आधाले घटेकाले लगानीकर्ताको आकर्षण घट्दै गएको पुष्टि हुन्छ ।
बिग मर्जरपछि वाणिज्य बैंकहरूको सेयर संख्या उल्लेख्य रुपमा बढेको छ । सेयर संख्या अधिक भएपछि मागभन्दा आपूर्ति धेरै हुने गरेको छ भने स्वार्थ समूहले पनि सजिलै चलखेल गर्न सक्दैनन् । यस्तोमा सेयर मूल्य खासै बढ्न नसक्ने हुँदा लगानीकर्ताले बैंकको सेयर किन्न चासो नदेखाएका हुन् । यद्यपि, थोरै सेयर संख्या भएका र उच्च प्रतिफल दिने एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड लगायत बैंकको सेयरमा भने आकर्षण देखिन्छ ।
हाइड्रो र होटलको कारोबार भने बढ्यो
तीन वर्षको अवधिमा वाणिज्य बैंकको सेयर कारोबार हिस्सा झन्डै आधाले घट्दा हाइड्रोपावर र होटल क्षेत्रको भने झन्डै तेब्बरले बढेको छ । नेप्सेका अनुसार आव २०७७/७८ मा वार्षिक कुल कारोबारको ०.८ प्रतिशत मात्र होटलको सेयर कारोबार भएकोेमा गत वर्ष बढेर ३ प्रतिशत पुगेको छ ।
आव २०७७/७८ मा ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ३ करोड ४१ लाख कित्ता होटलको सेयर कारोबार भएकोमा गत वर्ष १४ अर्ब २ करोड बराबरको २ करोड ९९ लाख कित्ता सेयर किनबेच भएको छ ।
यस अवधिमा सूचीकृत हुने होटलको संख्या थपिएकाले पनि सेयर कारोबार बढेको हो । साथै, कोभिडपछि होटलहरूको व्यवसायमा सुधार आइ नाफा बढेकाले लगानीकर्ता होटलको सेयरप्रति आकर्षित भएका हुन् । पछिल्लो ६ महिनामा मात्रै होटल समूहका कम्पनीहरूको सेयर मूल्य औसतमा दोब्बरले बढेको छ ।
यसैगरी, पछिल्लो ३ वर्षमा हाइड्रोपावर कम्पनीहरूको सेयर कारोबार पनि झन्डै दोब्बरले बढेको छ । आव २०७७/७८ मा वार्षिक कुल कारोबारको १५.३ प्रतिशत हाइड्रोको सेयर कारोबार भएकोमा गत वर्ष बढेर कुल कारोबारको २७.९ प्रतिशत पुगेको छ । गत वर्ष भएको कुल सेयर कारोबारको एकचौथाई बढी हिस्सा हाइड्रोको सेयरले ओगटेको छ । यद्यपि, अघिल्लो आव २०७८/७९ को तुलनामा भने गत वर्ष हाइड्रोको कारोबार हिस्सामा झिनो गिरावट आएको छ ।
आव २०७७/७८ मा हाइड्रोपावरको २ खर्ब २२ अर्ब रुपैयाँ बराबरको ६९ करोड ६७ लाख कित्ता सेयर किनबेच भएको थियो भने गत वर्ष १ खर्ब ३० अर्ब बराबरको ४२ करोड ५७ लाख कित्ता सेयर कारोबार भएको छ ।
तीन वर्षको अवधिमा नेप्सेमा झन्डै ४ दर्जन हाइड्रोपावर कम्पनी थपिएकाले सेयर कारोबार हिस्सा ह्वात्तै बढेको हो । साथै, अन्य क्षेत्रका कम्पनीको तुलनामा हाइड्रोपावरको सेयर संख्या कम हुने भएकाले स्वार्थ समूहले सजिलै चलखेल गरी सेयर मूल्य बढाउने गरेकाले कारोबार पनि बढेको हो ।
यस अवधिमा विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स लगायत क्षेत्रका कम्पनीको सेयर कारोबार हिस्सा घटेको छ भने फाइनान्स, उत्पादनमूलक, व्यापार समूहको कारोबार बढेको नेप्सेको तथ्यांकले देखाएको छ ।