पोखरामा ‘हट एयर बेलुन’ पुनः सुरू हुँदै, कति लाग्छ शुल्क ?

काठमाडौं । पोखरामा हट एयर बेलुन आगामी १ सेप्टेम्बरदेखि पुनः सुरु हुने भएको छ । मनसुनका कारण करिब तीन महिना स्थगित भएको हट एयर बेलुन भदौ १६ देखि नियमति संचालनमा आउने भएको हो ।

हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो । बेलुन नेपालका अध्यक्ष विक्रम बादेका अनुसार करिब ६ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्‍कोट मान्द्रेढुंगाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

विगतमा एक मात्रै बेलुन उडाइरहेको यस कम्पनीले अब भने दुई वटा बेलुन उडाउने भएको छ । एक अमेरिकी र एक भियतनामी पाइलटले बेलुन उडाउने भएका छन् ।

पोखराको पामेबाट हट एयर बेलुन उडान हुने बादेले जानकारी दिए । उनका अनुसार बिहान र बेलुका गरी दुई सिफ्टमा बेलुन उडाइने भएको छ ।

बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ३ बजेदेखि ६ बजेसम्म उडान हुने बादेले जानकारी दिए । कम्पनीका अनुसार तीन वर्ष उमेर कटेका नागरिकले हट एयर बेलुनमा उड्न सक्नेछन् ।

हट एयर बेलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ९ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ । सार्क मुलुकका पर्यटकका लागि १०० डलर र अन्य मुलुककालाई १३० डलर शुल्क कायम छ ।

उक्त शुल्क तिरेपछि उडानसँगै ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्म्को दुईतर्फी यातायात सुविधा र प्रमाणपत्र समेत दिइन्छ । नेपाली पर्यटकले रिजर्भ गरी प्राइभेट उडान गर्न चाहे आधा घण्टाको ५५ हजार र एक घण्टाको ८० हजार रुपैयाँ तोकिएको छ ।

ई-सेवा मनी ट्रान्सफर र साउदीको इन्जाज पेमेन्ट सर्भिसेज बीच सम्झौता Read Previous

ई-सेवा मनी ट्रान्सफर र साउदीको इन्जाज पेमेन्ट सर्भिसेज बीच सम्झौता

भगवती हाइड्रोपावरको प्रिमियममा आइपीओ खुल्यो Read Next

भगवती हाइड्रोपावरको प्रिमियममा आइपीओ खुल्यो