६ अर्ब लगानीमा पोखरामा पाँचतारे होटल बनाउँदै बाराही ग्रुप

काठमाडौं । हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु ६ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ ।

बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ । बाराहीले १ हजार २०० जना क्षमताको सभाहलसहित उक्त होटल निर्माण भइरहेको जानकारी दिएको छ । ६३ रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको उक्त होटलमा १७१ कोठा निर्माण गरिनेछन् ।

होटलमा क्यासिनो, स्पा, फिटनेस सेन्टरलगायत सुविधा रहने छ । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेडको आइपीओमा समेत जाने योजना बनाएको छ । सन् २०२४ भित्रै सञ्चालनमा ल्याउने योजना रहे पनि कोभिड-१९ महामारीका कारण निर्माण अवरुद्ध भएको बाराही हस्पिट्यालिटीका संस्थागत निर्देशक योगेन्द्र थापाले जानकारी दिए । अहिले होटल द्रुत गतिमा निर्माण भइरहेको छ । भौतिक पूर्वाधारतर्फ ४६ प्रतिशत काम सम्पन्न भएको उनले बताए ।

हस्पिटालिटी क्षेत्रको लामो अनुभवलाई पाँचतारे सुविधासम्पन्न होटलमार्फत सेवा विस्तार गर्न लागिएको निर्देशक थापाले बताए । बाराही सेदी लिमिटेडको नामबाट पब्लिक लिमिटेड दर्ता गरी निर्माण भइरहेको होटलको छिट्टै आइपीओ निष्कासन गर्ने योजना रहेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रियस्तरको सभा सम्मेलन गर्ने र खर्चालु पर्यटकलाई लक्षित गर्दै पोखरामा पाँचतारे होटल निर्माण गरिएको निर्देशक थापाले बताए । ‘पोखरामा पाँचतारे फूलबारी रिसोर्ट बन्द भएपछि लक्जरी पाँच तारे होटलको अभाव महसुस भयो । हाइ–इन्ड पर्यटकलाई सेवा दिने विश्वाससहित कम्पनीले सन् २०२६ सम्म होटल सञ्चालनमा ल्याउने योजना बनाएको हो,’ उनले भने ।

सरकारले पोखरामा सन् २०१४ मा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) समिट आयोजना गर्ने योजना बनाएको थियो । तर, पोखरामा पाँचतारे होटल नहुदाँ काठमाडौँमा आयोजना गरिएको थियो । पोखरामा लग्जरी होटलको अभाव पूर्ति गर्ने बाराही ग्रुपका प्रबन्ध निर्देशक विप्लव पौडेलको पोखरामा पाँचतारे होटल बनाउने योजना अनुरुप परियोजना अघि बढेको थापा बताउँछन् ।

चालीस ४० वर्षअघि पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गर्दै स्थापना भएको बराही ग्रुपले हाल पोखराको लेकसाइटमा चारतारे होटल बाराही, रासाङकोट माउन्टेन लज, आवास पोखरा, चितवनमा बाराही जङ्गल लज, र काठमाडौंमा चारतारे होटल बाराही काठमाडौं सञ्चालन गर्दै आएको छ । यस्तै, बाराही ग्रुपले पोखरामा व्यञ्जन रेष्टुराँ र द वीच बार एन्ड लजसमेत सञ्चालनमा ल्याएको छ ।

भदौ १८ देखि हकप्रद सेयर बिक्री गर्दै अप्पर तामाकोशी Read Previous

भदौ १८ देखि हकप्रद सेयर बिक्री गर्दै अप्पर तामाकोशी

नेपालको बिजुली बंगलादेशलाई बेच्न भयो त्रिदेशीय सहमति, पहिलो चरणमा ४० मेगावाट लैजाने Read Next

नेपालको बिजुली बंगलादेशलाई बेच्न भयो त्रिदेशीय सहमति, पहिलो चरणमा ४० मेगावाट लैजाने