हुलाकी राजमार्गको ९१% काम पूरा, अझै १७६ किमी सडक र ५० पुलको ठेक्का लाग्न बाँकी

काठमाडौं । राष्ट्रिय गौरवको हुलाकी राजमार्गको हालसम्मको प्रगति ९१ प्रतिशत पुगेको छ । हालसम्मको भौतिक प्रगति र वित्तीय प्रगति दुवै ९१ प्रतिशत पुगेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।

आयोजनाअन्तर्गत चितवन, नवलपरासी, दाङ, बाँकेलगायतका जिल्लामा वन क्षेत्रमा अध्ययनका लागि स्वीकृति नपाएका कारण निर्माण सुरु नभएको आयोजना प्रमुख चूडाराज ढकालले बताए। त्यसबाहेक अरू क्षेत्रमा भने निर्माणमा समस्या नभएको उनले बताए । उनले भने, ‘पुलहरू भने अझै पनि ठेक्का व्यवस्थापन गर्न बाँकी रहेका छन् ।’

गत आवमा लक्ष्यका आधारमा वित्तीय प्रगति झन्डै ९८ प्रतिशत र भौतिक प्रगति ८० प्रतिशत रहेको थियो । गत वर्ष १६ पुल सम्पन्न गर्ने लक्ष्य लिइएकामा १६ वटै सम्पन्न भएको र २५० किमी सडक कालोपत्र गर्ने लक्ष्य लिइएकामा १४८ किमी कालोपत्र भएको आयोजनाले जनाएको छ ।

हालसम्म १७६ किमी सडक र ५० पुलको ठेक्का व्यवस्थापन हुन बाँकी रहेको उनले जानकारी दिए । वन क्षेत्रको बाहेक हाल झन्डै ६०० किमीमा निर्माणको काम भइरहेको उनले बताए ।

गत आवमा बजेट रु ३ अर्ब ४० करोड रहेकामा खर्च ६ अर्ब ९० करोड भएको उनले बताए। केही वर्षयता अर्थ मन्त्रालयले आयोजनाका लागि छुट्याउने रकमभन्दा झन्डै दोब्बर रकम खर्च भइरहेको छ ।

अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता दिएको र राष्ट्रिय गौरवको आयोजना भएकाले बजेटको अभाव नहुने प्रमुख ढकालले बताए । उनले भने, ‘आवको अन्तिममा रकमान्तर गरेर आउने गरेको छ ।’

सरकारले आर्थिक वर्षको अन्तिममा थप बजेट वा भौतिक मन्त्रालयको पनि खर्च नहुने शीर्षकबाट रकमान्तर गरेर आयोजनामा खर्च गर्दै आएको छ । राष्ट्रिय गौरवका कुनै पनि सडक आयोजनामा सरकारले बजेट अभाव हुन दिएको छैन ।

अब विसं २०८४ सम्ममा आयोजना सम्पन्न गर्नका लागि वन क्षेत्रमा काम गर्ने वातावरण बन्नुपर्ने प्रमुख ढकालले बताए । निर्माण व्यवसायीले समयमा काम गर्नुपर्ने र भएका कामको समयमा भुक्तानी दिन सकियो भने मात्रै तोकिएको अवधिमा निर्माण सम्पन्न गर्न सकिने उनको भनाइ छ ।

विगतमा भएका धेरै ठेक्कामा सरकारले भुक्तानी दिन नसकेर समस्या भएको थियो । यो आयोजनामा भने अरू आयोजनामा भन्दा समस्या कम भएको उनको भनाइ छ । उनका अनुसार रु २५ करोड भुक्तानी दिन नसकिएको थियो । आयोजनाअन्तर्गत कतिपय रुग्ण पुल रहेका छन् । कतिपय खण्डमा पुल विस्तार गर्न आवश्यक रहेको उनले बताए ।

हुलाकी राजमार्गलाई मधेस क्षेत्रको समृद्धिसँग जोडेर सुरु गरिएको हो । मधेसमा देशभरको झन्डै आधाभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने भएकाले आयोजना सम्पन्न भएपछि त्यहाँका नागरिकको पहुँच बढ्ने अपेक्षा गरिएको छ । त्यस क्षेत्रको व्यापार, कृषिलगायतका क्षेत्रमा राजमार्गले नयाँ सम्भावना खुल्नेछ ।

पूर्व–पश्चिम राजमार्गबाट सुरु भएर हुलाकी राजमार्गलाई पार गरी भारतीय सीमासम्म पुग्ने गरी ‘फिडर रोड’ निर्माण गरिएको छ । राजमार्गले पूर्वदेखि पश्चिमसम्म पूरै तराईलाई समेटेको छ ।

हुलाकी राजमार्गअन्तर्गत निर्माण भइरहेको ‘फिडर सडक’ बाहेक अरू निकायबाट पनि उत्तर दक्षिण जोड्ने गरी सडक निर्माण गरिएको छ । सबै निर्माण सकिएपछि तराईका धेरै ठाउँसम्म सडकको सञ्जाल विस्तार हुनेछ ।

हुलाकी राजमार्ग र ‘फिडर सडक’ दुवै दुई–दुई लेनमा निर्माण अघि बढाइएको छ । सात मिटर कालोपत्र र दुईदेखि साढे दुई मिटर पैदलयात्रु मार्गसमेत गरी ११ देखि १२ मिटर चौडाइमा सडक निर्माण भइरहेको छ । जग्गा उपलब्ध हुँदा १२ मिटर र नहुँदा कम्तीमा ११ मिटर निर्माण गरिएको हो ।

आयोजनाअन्तर्गत जम्मा १ हजार ८५७ किमी सडक र २५० पुल रहेको छ । यो आयोजनामा हालसम्म जम्मा ५९ अर्ब ६५ करोड खर्च भएको छ । हालसम्म १ हजार ३९ किमी सडक कालोपत्र भएको र त्यसमध्ये १३२ पुल सम्पन्न भएको छ ।

विसं २०६६ मा सुरु भएको आयोजनाको अवधि चालु आवसम्म रहेको छ । आव २०८३र८४ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

खस्कियो हिमालयन डिष्टिलरीको वित्तीय अवस्था, खुद नाफा ३९ करोड घट्यो Read Previous

खस्कियो हिमालयन डिष्टिलरीको वित्तीय अवस्था, खुद नाफा ३९ करोड घट्यो

ब्रेक सु’ भित्रको सुन आज गालिँदै Read Next

ब्रेक सु’ भित्रको सुन आज गालिँदै