३५ वर्षमा पनि सम्पन्न भएन बबई सिचाइँ आयोजना, बाँकी ठेक्का लगाउन छैन बजेट

"अझै १०० हेक्टर जग्गा प्राप्ति बाँकी "

काठमाडौं । राष्ट्रिय गौरवको बबई सिचाइँ आयोजना साढे ३ दशक बित्दा समेत सम्पन्न हुन सकेको छैन । ठेकेदारको लापारबाही, बजेट अभाव, सरकारको वेवास्ता लगायत कारणले ३५ वर्षमा पनि यो आयोजना सम्पन्न हुन नसकेको हो ।

वि.सं. २०४५ मा सुरू भएको यो आयोजनाको अझै झन्डै एकतिहाई काम बाँकी छ । आयोजना अन्तर्गत हालसम्म ७० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सकिएको छ भने अझै ३० प्रतिशत काम बाँकी छ । १८ अर्ब ९६ करोड रुपैयाँ निर्माण लागत अनुमान गरिएको यो आयोजनामा १२ अर्ब ५ करोड रुपैयाँ खर्च भइसकेको छ ।

३६ हजार हेक्टर बाँझो जमिनलाई सिचाइँ गर्ने लक्ष्यका साथ अघि बढाइएको यो आयोजना अहिले बजेट अभावका कारण सुस्त भएको छ । बबई सिचाइँ आयोजनाका निर्देशक सुशिलचन्द्र देवकोटाले पर्याप्त बजेट नहुँदा आयोजनाको बाँकी ठेक्का लगाउन नसकिएको बताए ।

चालु आर्थिक वर्षमा १ अर्ब ८० करोड रुपैयाँ बराबरको काम गर्नुपर्नेमा सरकारले जम्मा ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जसका कारण नयाँ नहरका लागि ठेक्का निकाल्न नसकेको उनले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०७९÷८० को भुक्तानी समेत बाँकी रहेको छ । उनले गत आवको २५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताए ।

‘काम गर्न बजेट नै छैन, १ अर्ब ८० करोड चाहिनेमा जम्मा ६० करोड बजेट पाएको छ, त्यसमा पनि २५ करोड गत वर्षकै भुक्तानी गर्नु पर्छ । बाँकी ३५ करोड रुपैयाँले नयाँ ठेक्काको लागि बजेट पुग्दैन, त्यसैले ठेक्का आह्वान गरेका छैनौँ,’ आयोजना निर्देशक देवकोटाले चाणक्य पोष्टसँग भने ।

आयोजना अन्तर्गत हालसम्म ७० प्रतिशत भौतिक प्रगति भएको उनले बताए । भेरी डाइभर्सनबाट पानी बबई नदीमा झारे पछि सो पानीलाई नहरको माध्यमबाट ३६ हजार हेक्टर जमिनमा पानीको पहुँच पुर्याइने छ । बबईमा बाँध निर्माणको काम पहिले नै सकिसकेको छ ।

भेरी डाइबर्सनको काम सकेर बबईमा पानी हाल्नु अघि नहरको काम सकिसक्नु पर्ने उनले बताए । उनले आगामी २०८२/८३ सम्म नहरको काम सक्ने लक्ष्य रहेको बताए । यद्यपि, चालु आवभित्रै अधिकांश ठेक्काको म्याद सकिँदैछ । उनले नहरको काम पूरा गर्न साढे ६ अर्ब रुपैयाँ थप आवश्यक पर्ने बताए । गत वर्ष यस आयोजनाका लागि डेढ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

नहर तथा कुलो निर्माण अझै बाँकी

हाल आयोजना अन्तर्गत ६१ वटा ठेक्का लगाइएको छ । साउनदेखि माघ महिनासम्म काम नहुने उनले बताए । बर्खाको समयमा नहरको काम खासै नहुने गरेको उनले बताए । यो वर्ष निर्माण व्यवसायीहरूले गरेको आन्दोलनका कारण समेत निर्माणको काम अघि बढ्न सकेको छैन । उनले हरेक वर्ष ५ महिना मात्र काम हुने गरेको बताए ।

उनले पूर्वतर्फ २१ हजार हेक्टरमध्ये ७ हजार हेक्टरमा कुलो निर्माण गर्न बाँकी रहेको बताए । पश्चिमतर्फ १५ हजार हेक्टर मध्ये ४ हजार हेक्टरमा नहर तथा कुलो बनाउन बाँकी छ । सो स्थानमा ४ किलोमिटर नहर र ११ किलोमिटर शाखा नहर बनाउनु पर्नेछ ।

पूर्वतर्फ ३४ किमी मूल नहर निर्माण भइसकेको छ । पश्चिमी मूल नहर कुल ४१ मध्ये ३० किमि निर्माण भएको छ । भेरी–बबई डाइभर्सन निर्माण सकिए बबईमा बाह्रै महिना सिँचाइका लागि पानी हुने छ ।

झण्डै १०० हेक्टरको मुआब्जा दिन बाँकी

यस आयोजना अन्तर्गत ५०० हेक्टरको मुआब्जा दिनु पर्नेमा हालसम्म झण्डै ४०० हेक्टरको मुआब्जा वितरण भइसकेको बताए । उनले अझै पनि १५ किलोमिटरको क्षेत्रको १०० हेक्टर जग्गाको मुआब्जा दिन बाँकी रहेको बताए । जग्गा नलिई नहर बनाउन नमिल्ने भएकाले मुआब्जाको रकम समेत आवश्यक पर्ने उनले बताए । उनका अनुसार मुआब्जाका लागि मात्र २८ करोड रुपैयाँ आवश्यक पर्ने छ ।

‘हामीलाई नहर बनाउन ५०० हेक्टर जग्गा आवश्यक पर्छ । त्यो मध्ये ४०० हेक्टर जतिको मुआब्जा बाँडिसकेका छौं । अझै करिब १०० हेक्टरको मुआब्जा दिई जगा प्राप्ति गर्न बाँकी छ । जग्गा प्राप्ति नगरी काम अघि बढाउन सकिँदैन, ठेक्का लाग्न पनि मुस्किल छ,’ आयोजना निर्देशक देवकोटाले भने ।

जग्गाको मूल्यांकन अनुसार सडकले छोएका जमिनको प्रतिकठ्ठा १६ लाख २५ हजार रुपैयाँ रहेको छ । भित्री भागमा २ लाख ९० हजार रुपैयाँ प्रतिकठ्ठा भुक्तानी दिने गरी मूल्यांकन गरिएको छ ।

 

सेयर बजारमा करेक्शन, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

सेयर बजारमा करेक्शन, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

बिल आएको १५ दिनमा सबै भुक्तानी गर्न तयार छौं, नबनेको बिलमा केही गर्न सकिँदैन : अर्थमन्त्री Read Next

बिल आएको १५ दिनमा सबै भुक्तानी गर्न तयार छौं, नबनेको बिलमा केही गर्न सकिँदैन : अर्थमन्त्री