काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा–नौबिसे सुरुङमार्ग भोलि (सोमबार) ‘ब्रेक थ्रु’ गरिने भएको छ । आयोजना अन्तर्गत निर्माणधीन दुई सुरुङमध्ये इभ्याक्यूएसन टनेल (आपतकालीन सुरुङ)को भोलि ‘ब्रेक थ्रु’ हुने भएको हो ।
नागढुंगा सुरुङमार्ग आयोजनाका प्रवक्ता रमेश कोइरालाले सोमबार सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्न लागिएको जानकारी दिए । उनका अनुसार २५५७ मिटर लामो आपतकालीन सुरुङमार्गमध्ये २५५६ मिटर खनिसकिएको बताए । उनले अब १ मिटर मात्र सुरुङ खन्न बाँकी रहेको बताए ।
उनले सुरुङ ‘ब्रेक थ्रु’ गर्ने बेला भौतिक पूवार्धार मन्त्री वा अरु नै कोही आउने भन्ने बारे टुंगो नभएको बताए । ‘सुरुङको ब्रेक थ्रु गर्न मन्त्रीज्यू नै आउने भनिएके छ । त्यसैले १ मिटर खन्न बााकी राखिएको छ,’ उनले भने, ‘सम्भवतः भोलि मन्त्रीज्यूकै उपस्थितीमा ब्रेक थ्रु गरिन्छ होला,’ उनले चाणक्य पोष्टसँग भने ।
आपतकालीन सुरुङमार्ग भाेलि ब्रेक थ्रु गरिने भए पनि मुख्य सुरुङ खन्न अझै ५०० मिटर बाँकी रहेको उनले बताए । उनले मुख्य सुरुङ आगामी दशैंतिहारसम्म ब्रेक थ्रु हुने बताए ।
२ हजार ६८८ मिटर मुख्य सुरुङ मध्ये हालसम्म २ हजार १७५ मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ९७५.८० मिटर र धादिङतर्फ ११९९ मिटर मुख्य टनेल खनिएको उनले जानकारी दिए ।
सुरुङ खन्ने काम लगभग अन्तिम चरणमा रहे पनि आयोजनाको समग्र काम भने हालसम्म ५७ प्रतिशत मात्र भएको छ । उनले अहिले सुरुङको फिनसिङ (कंक्रिट लाइनिङ)पनि सँगसँगै भइरहेको बताए । मुख्य सुरुङमा फिनसिङको काम ४२.२० प्रतिशत सकिएको उनले जानकारी दिए । हालसम्म मुख्य सुरुङको ११०६.५५ मिटर सुरुङ फिनसिङ गरिसकिएको छ ।
नागढुंगा सुरुङमार्ग आयोजना अन्तर्गत निर्माण हुने १२ वटा संरचनामध्ये ११ वटा संरचनाको निर्माण पूरा भइसकेको छ । आयोजना अन्तर्गत ३ वटा अण्डर पास, ४ वटा कल्भर्ट, ३ वटा पुल र एउटा ओभरपास निर्माण सम्पन्न भइसकेको छ ।
आयोजना अन्तर्गतका संरचना मध्ये अब फ्लाइओभर निर्माण मात्र बाँकी रहेको प्रवक्ता कोइरालाले बताए । उनले फ्लाइओभर निर्माणको काम पनि भइरहेको बताए । हालसम्म फ्लाइओभरको ३ वटा फाउन्डेसन र २ वटा सबस्ट्रक्चर निर्माण भइसकेको छ ।
यस्तै, फ्लाइओभर निर्माणका लागि आवश्यक जग्गामध्ये ९५ प्रतिशत अधिग्रहण गरिसकिएको छ । नेपालकै पहिलो सुरुङमार्गको रूपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।