नारायणगढ । चितवनको भरतपुर महानगरपालिका–१ ठिमुराबाट तनहुँको देवघाट गाउँपालिका–५ को घिनटार जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको मोटरेबल पुल निर्माणकार्य नौ वर्षमा पूरा हुने भएको छ । पुल निर्माण सुरु गरेको एक दशक हुनैलाग्दा पुलको निर्माण सम्पन्न हुन लागेको हो ।
विसं २०७१ कात्तिक २० गते ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको पुल निर्माणका क्रममा पटक–पटक प्राविधिक समस्या आउँदा निर्माणकार्य ढिला हुनपुगेको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिए। अहिले निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको भए पनि अझै रेलिङ हाल्ने, पुलसम्म पुग्ने सडक निर्माण गर्नेजस्ता काम बाँकी रहेको उनले बताए ।
निर्माण सुरु हुनुअघि बनाइएको नक्साङ्कन बीचमा संशोधन गर्नुपर्दा समय लागेको भए पनि आगामी कात्तिकसम्ममा निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको पौडेलको भनाइ छ । निर्माण सुरु गरी नक्सा परिवर्तन गराई अनुमति लिनका लागि मात्रै ३० महिना लागेको जनाउँदै उनले अब छिट्टै पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।
पुल निर्माण भएको स्थानमा नदी निकै गहिरो भएको र पानी कटाउन नसक्दा नदीको मुख्य गहिराइमाथि नक्सा परिवर्तनपछि ८० मिटरसम्म स्टिल स्पान राखेर पुल निर्माण गरिएको उनले जानकारी दिए । उनले भने, ‘१२० मिटर ढलान गरिएको छ, अन्य स्थानमा स्टिलको स्पान बनाइएको छ ।’
ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्ने गरी इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले काम गरेको भए पनि वर्षमा पाँच महिनामात्रै काम गर्न पाउने हुँदा निर्माणकार्य ढिला भएको निर्माण कम्पनीका प्रमुख योगेन्द्र कँडेले बताए । उनले भने, ‘वर्षात्को समयमा पानीको बहाव बढ्ने हुँदा काम गर्न सकिएन ।’
निर्माण भइरहेको समयमा विसं २०७७ चैत २४ गते पहिलोपटक निर्माणाधीन पुल भत्किएको थियो । दोस्रोपटक २०७९ वैशाखमा भत्किएको थियो । पुल निर्माणका लागि सुुरुमा रु १९ करोड १० लाख ६६ हजारमा ठेक्का सम्झौता भएको भए पनि संशोधित लागत रु २१ करोड ६८ लाख ४८ हजार रहेको छ ।