काठमाडौं । दुई कम्पनीको प्रिमियममा मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ)भर्ने आज अन्तिम दिन रहेको छ । सिटिजन लाइफ इन्स्योरेन्स र भगवती हाइड्रोपावर डेभलपमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
सिटिजन लाइफले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार ३१ गतेदेखि बिक्रीमा ल्याएको प्रतिकित्ता २४४ रुपैयाँ (अंकित मूल्य १०० मा १४४ रुपैयाँ प्रिमियम थपेर) दरले ११ लाख २५ हजार कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
लगानीकर्ताले उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ त्रिपल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षीत रहेको जनाउँदछ ।
यसैगरी, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार २४ गतेदेखि आयोजना प्रभावित क्षेत्र कास्कीका स्थानीयलाई बिक्रीमा ल्याएको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्कीका स्थानीयका लागि अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता सेयर बिक्री गर्ने भएको हो ।
सो सेयरमा पोखरा महानगरपालिका वडा नं. १३, १४, २६ र २७ ९साविकको पोखरा उप महानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७० का स्थानीय बासिन्दाहरुले आवेदन दिन पाउने छन् ।
कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन पाउने छन् । उक्त आइपीओमा साउन ७ गतेसम्म आवेदन पाउने छन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा स्थानीयले मात्र ढिलोमा साउन २२ गतेसम्म आवेदन दिन पाउने छन् ।
स्थानीय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले प्रबर्धन गरिरहेको ४.५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको छ।