‘रियल सेक्टर’का थप ६ कम्पनीले आइपीओ ल्याउँदै, कुनले कति ?

काठमाडौँ । नेपाली सेयर बजारमा रियल सेक्टर (वास्तविक क्षेत्र)का कम्पनीहरू एकदमै न्यून मात्रमा रहेका छन् । सेयर बजारको दुई तिहाई बढी हिस्सा बैंक तथा वित्तीय संस्थाहरूले ओगटेका छन् ।

बाँकी हिस्सा जलविद्युत् कम्पनी, व्यापार क्षेत्रका, होटल लगायत क्षेत्रको रहेको छ । नेप्सेमा विभिन्न १३ क्षेत्रका कम्पनीहरू सूचीकृत छन् । जसमा रियल सेक्टरका कम्पनी मुस्किलले १ दर्जन पनि छैनन् ।

अर्थतन्त्रको ऐना भनिए पनि सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरूको मात्र दबदबा र वास्तविक क्षेत्रका कम्पनीको उपस्थिति नगन्य रहेको छ । तर, पछिल्लो समय रियल सेक्टर क्षेत्रका कम्पनीहरू सेयर बजारमा आउन चासो देखाएका छन् । नियामक निकायहरूले गरेको व्यवस्थाका कारण यस क्षेत्रका कम्पनीहरू पनि सेयर बजारमा आउन इच्छुक देखिएका हुन् ।

गत वर्ष नेपाल धितोपत्र बोर्डले रियल सेक्टर क्षेत्रका कम्पनीहरूले प्रिमियम मूल्यमा सेयर जारी गर्न पाउने व्यवस्था गरेसँगै रियल सेक्टर क्षेत्रका (सिमेन्ट, डण्डी, अस्पताल, दूरसंचार सेवा प्रदायक लगायत कम्पनीहरू) सेयर बजारमा इन्ट्री मार्ने बाटोमा रहेका छन् ।

सरकारले पनि रियल सेक्टर क्षेत्रका कम्पनीहरूलाई सेयर बजारमा ल्याउन विभिन्न नीतिगत व्यवस्थाहरू गरेको थियो । यस क्षेत्रका कम्पनीलाई सेयर बजारसँग जोड्न कम्पनीले केही प्रोत्साहनमूलक र केही बाध्यकारी व्यवस्था समेत गरेको छ ।

सरकारले गत वर्षकोे बजेटमार्फत वार्षिक ५ अर्ब बढीको कारोबार गर्ने, १ अर्ब रुपैयाँ बढी चुक्ता पूँजी भएको, प्राकृतिक स्रोतहरूको उपयोग गर्ने कम्पनी र राज्यबाट अनुदान, सहुलियत तथा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरूले आइपीओ निष्काशन गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको थियो ।

यस व्यवस्थापछि यी ४ शर्तमध्ये एउटा जुनसुकै शर्त पुगेका कम्म्पनीहरू अनिवार्य पूँजीबजारमा आउनु पर्नेछ । जसले अर्थतन्त्रको रियल सेक्टर पूँजी बजारको दायरामा आउने र सर्वसाधारणको सक्रियता बढ्ने अपेक्षा गरिएको छ । सरकारको यस व्यवस्थाले झन्डै १०० हाराहारी कम्पनीहरू सेयर बजारमा आउनै पर्ने देखिएको छ ।

सो व्यवस्थाले आधा दर्जन बढी स्टील उद्योग, सिमेन्ट उद्योग तथा विभिन्न वास्तविक कम्पनीहरू केही आउने क्रममा छन् भने केहीले आइपीओ निष्काशन गरेर कारोबार गरिसकेका छन् ।

रियल सेक्टरका ६ कम्पनी पाइपलाइनमा

नेपाल धितोपत्र बोर्डका अनुसार असार मसान्तसम्म सबै क्षेत्रका गरेर १३ कम्पनी आइपीओ निष्काशनको पाइपलाइनमा छन् । तीमध्ये आधा दर्जन कम्पनी वास्तविक क्षेत्रमा छन् । आइपीओ जारी गर्ने अनुमति पाएको रियल सेक्टरको कम्पनी घोराही सीमेन्टले साधारण निष्काशन गरिसकेको छ ।

बोर्डमा अहिले रियल सेक्टर क्षेत्रका सर्वोत्तम सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, मुक्तिनाथ कृषि कम्पनी, सोनापुर मिन्रल्स एण्ड आयल कम्पनी, नेपाल वेयर हाउसिङ कम्पनी र एकॉर्ड फार्मास्युटिकल्स लिमिटेडले आवेदन दिएका छन् ।

यी मध्ये सर्वोत्तम सिमेन्ट, रिलायन्स स्पिनिङले बुकबिल्डिङ विधिबाट आइपीओ जारी गर्न अनुमती मागेको छ । अन्य कम्पनीले भने अंकित मूल्य १०० रुपैयाँमै आइपीओ जारी गर्न माग गरेका छन् ।

कुन कम्पनीको कति कित्ता आउँदै ?

हाल बोर्डमा रियलसेक्टर, हाइड्रोपावर लगायत गरेर १३ कम्पनीले ४ करोड १८ लाख कित्ता सेयरको आइपीओ निष्काशन गर्न अनुमति मागेका छन् । रिलायन्स स्पिनिङ मिलले पनि प्रिमियम मूल्यमा ७ लाख ७० हजार ६४० कित्ता सेयर जारी गर्न बोर्डमा अनुमति दिएको छ । यस कम्पनीले प्रतिकित्ता ६०८ देखि ९१२ रुपैयाँसम्म प्रिमियममा आइपीओ निष्काशन गर्ने जनाएको छ ।

यसैगरी, सर्वोत्तम सिमेन्टले बुकबिल्डिङ मार्फत २४ लाख कित्ता सेयर निष्काशन गर्न आवेदन दिएको छ । यस कम्पनीले प्रतिकित्ता सेयर मूल्य ५०१ देखि ७५१ रुपैयाँको रेन्जमा रहने जनाएको छ ।

यसैगरी, ट्रेड टावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९८० कित्ता सेयर जारी गर्ने भएको छ ।

यस्तै, मुक्तिनाथ कृषि कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ । डिश मिडिया नेटवर्कले २३ करोड ८५ लाख ९२ हजार रुपैयाँ बराबरको २३ लाख ८५ हजार कित्ता सेयर जारी गर्ने प्र्रस्ताव गरेको छ ।

कान्तिपुरले ७ लाख ५० हजार रुपैयाँ बराबरको ७ करोड ५० लाख कित्ता सेयरका लागि आवेदन दिएको छ । सानिमा हाइड्रोपावरले १४ करोड ७० लाख रुपैयाँ बराबरको १४ लाख ७० हजार कित्ताका आइपीओ निष्काशन गर्ने भएको हो ।

आइएमई लिमिटेडले १० करोडको रुपैयाँ बराबरको १० लाख कित्ता आइपीओ निष्काशन गर्न अनुमति मोगेको छ ।

 

देशलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्यमा  वीरेन्द्रबहादुर, २० हजार किसानलाई समेट्दै Read Previous

देशलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्यमा  वीरेन्द्रबहादुर, २० हजार किसानलाई समेट्दै

मिड सोलु हाइड्रोपावरको आइपीओ खुल्यो Read Next

मिड सोलु हाइड्रोपावरको आइपीओ खुल्यो