काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा घरजग्गा कारोबारमा उच्च गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष घरजग्गा किनबेच ३७ प्रतिशतले घटेको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत वर्ष कुल ४ लाख ६७ हजार घरजग्गा किनबेच भएका छन् । जबकि अघिल्लो वर्ष ७ लाख ४५ हजार घरजग्गा किनबेच भएको थियो ।
मन्दीका बीच कारोबारीको नजर भने तराईका जिल्लाहरूमा परेको छ । गत वर्ष सर्वाधिक घरजग्गा कारोबार हुने स्थानहरूमा तराईकै जिल्लाहरूको वर्चश्व रहेको छ । तराईका इमर्जिङ सहरहरूमा धेरै घरजग्गा किनबेच भएको छ ।
नयाँ सहर तथा प्रदेश राजधानीको रुपमा विकास भइरहेका तराईका क्षेत्रहरू मानिसको आकर्षण बढ्दो छ । मोरङ, सुनसरी, झापा, चितवन, दाङ, भैरहवा, बाँके, धनुषा, सर्लाही र कैलाली लगायतका जिल्लाहरूमा तीव्र किनबेच भइरहेको सरकारी तथ्यांकले देखाउँछ ।
तराईका यी क्षेत्रहरूमा भइरहेको कारोबारले संघीय राजधानी काठमाडौंलाई उछिनेको छ । अर्थात् अब घरजग्गा कारोबारीको रोजाइमा काठमाडौंभन्दा तराईका जिल्लाहरू पर्न थालेका छन् ।
काठमाडौं उपत्यका जग्गाको भाउ महँगो हुन, बाक्लो र अव्यवस्थित बस्ती हुनु, काठमाडौं बाहिर पनि यहांकै जस्तो पूर्वाधार तथा सुविधा विस्तार हुनु, औद्योगीकरण बढ्दा रोजगारीका अवसरहरू पाइनु लगायत कारणले मानिसहरूको आकर्षण तराईका जिल्लामा देखिन थालेको हो ।

तराई क्षेत्रमा पनि मुख्यगरी सहरी तथा सहरउन्मुख क्षेत्रहरू मानिसले घरजग्गा किनेको देखिन्छ । देश संघीय संरचनामा गएसँगै पहाडबाट तराई तथा दुर्गमबाट सुगमतर्फ सेवा सुविधाको खोजिमा बसाँइसराइ गर्ने क्रम बढ्दो छ ।
सरकारले अघिल्लो जेठमा ल्याएको भूउपयोग नियमावलीका कारण पहाडी तथा हिमाली जिल्लाका मालपोत कार्यालयबाट न्यून तथा शून्य कारोबार हुँदा देशको तराई क्षेत्रमा भने उच्च घरजग्गा किनबेच भएको हो ।
यी हुन् गत वर्ष धेरै किनबेच भएका ठाउँ
गत वर्षमा सबैभन्दा धेरै घरजग्गा किनबेच हुनेमा मोरङ पहिलो नम्बरमा छ । यस जिल्लाको रङगेली, विराटनगर र बेलवारी मालपोत कार्यालयबाट ३० हजार ९९५ घरजग्गा किनबेच भएको छ ।
दोस्रोमा काठमाडौं उपत्यकाको डिल्लीबजार, साँखु, मनमैजु, टोखा, चाबहिल र कलंकी मालापोत कार्यालयबाट २४ हजार ७९७ घरजग्गा खरिद बिक्री भएको भएका छन् ।
सुनसरीका धरान र इनरुवा मालपोत कार्यालयबाट २३ हजार ५४५ घरजग्गा किनबेच भएका छन् । झापाको दमक र भद्रपुर मालपोत कार्यालय गरेर २१हजार ९७८ घरजग्गा किनबेच भएको तथ्यांक छ ।
चितवनका विभिन्न मालपोत कार्यालयबाट १७ हजार, नेपालगञ्जको बाँकेबाट १७ हजार ५६४, जनकपुरको धनुषा मालपोत कार्यालयबाट १६ हजार, बारामा १३ हजार बढी, ललितपुर ११ हजार र भक्तपुर १० हजार बढी घरजग्गा किनबेच भएका छन् ।