काठमाडौं-रक्सौल रेलमार्गको रुट तय, १२ वटा स्टेसन रहने

सांकेतिक तस्वीर

काठमाडौं । नेपाल–भारत अन्तरदेशीय काठमाडौं–रक्सौल ब्रोडगेज रेलमार्गको रुट तय भएको छ । भारतीय पक्षले उक्त रेलमार्गको फाइनल लोकेसन सर्भे पूरा गरी नेपाल सरकारलाई बुझाइएको प्रतिवेदनमा प्रस्तावित रुट निर्धारण गरिएको हो ।

फाइनल प्रतिवेदन अनुसार उक्त रेलमार्गको रुट रक्सौलबाट पर्साको वीरगञ्ज, बेलुवा, बाराको मनहर्वा, सपही बजार, निजगढ, मकवानपुरको धियाल, शिखरपुर, सिस्नेरी हुँदै रेलमार्ग काठमाडौंको सतिखेल भएर खोकनासम्म ल्याउन प्रस्ताव गरिएको छ । यस रेलमार्गमा १२ वटा स्टेसन रहनेछ । यसमा दैनिक ६ वटा यात्रुबाहक रेल गुड्ने छ ।

भारतीय कम्पनी केआरसीएलले तयार पारेको उक्त विद्युतीय ब्रोडगेज रेलमार्गको फाइनल लोकेसन सर्भे पूरा गरी नेपाललाई पठाएको रेल विभागका सूचना अधिकारी अमन चित्रकारले बताए । उनले अब उक्त सर्भेको प्रतिवेदनमा नेपालको तर्फबाट समेत छलफल हुने बताए ।

उनका अनुसार रेलमार्ग निर्माणका लागि लगानी सुनिश्चित गर्नुका साथै निर्माण मोडालिटी तयार पार्नुपर्ने छ । उनले जग्गा प्राप्ति र वन क्षेत्र जस्ता समस्याहरू समाधान गर्दै निर्माणको आगामी तयारी गर्नुपर्ने बताए ।

‘अहिले रुट मात्र तयार भएको हो, नेपालको तर्फबाट छलफल हुन बाँकी छ, लगानी सुनिश्चित्ता र कुन मोडालिटीमा बनाउने भन्ने छलफल गर्न बाँकी छ,’ चित्रकारले चाणक्य पोष्टसँग भने ‘हाम्रो जस्तो देशमा जग्गा प्राप्ती र वनको समस्या कायमै छ ।’

काठमाडौं–रक्सौल रेलमार्गको फाइनल लोकेसन सर्भे १८ महिनाभित्र सकाउने गरी २०७८ असोज २२ गते नेपाल र भारतबीच द्विपक्षीय समझदारी (एमओयू) भएको थियो ।

भारतले दिएको प्रतिवेदन अनुसार रेलमार्गको कुल लम्बाइ १४०.७९ किलोमिटरको हुने छ । सो मध्ये ४१ किलोमिटर खण्डको रेल सुरुङभित्र गुडाउनुपर्ने देखिएको उनले जानकारी दिए । यस अघि भएको प्रारम्भिक इन्जिनीयरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्टले रक्सौल–काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुने देखिएको थियो ।

रेलमार्ग निर्माणका क्रममा १२२ वटा साना पुल, १०१ वटा ठूला पुल र १८ वटा आधुनिक स्ट्रक्चरका पुलहरू निर्माण हुनेछन् । यो रेलमार्ग निर्माणका लागि मुआब्जा बाहेक करिब ३ खर्ब ८२ अर्ब रूपैयाँ खर्च लाग्ने प्रतिवेदनमा उल्लेख छ ।

 

चोभार बन्दरगाह ५ वर्षका लागि निजी क्षेत्रलाई दिइने Read Previous

चोभार बन्दरगाह ५ वर्षका लागि निजी क्षेत्रलाई दिइने

२ महिना अघि एनएमबी बैंक लुट्ने भारतीय युवक पक्राउ Read Next

२ महिना अघि एनएमबी बैंक लुट्ने भारतीय युवक पक्राउ