काठमाडौं । करिब दुईतिहाइ क्षेत्रमा मात्रै धान रोपाइँ सकिएको छ । धान रोपाइँ सकिने बेला भए पनि साउन ५ गतेसम्म देशभर ६८ प्रतिशत मात्रै धान रोपिएको हो ।
गत वर्ष यही अवधिमा ८८ प्रतिशत धान रोपाइँ पूरा भएको थियो । अझै करिब एकतिहाई क्षेत्रमा धान रोपाइँ हुन बाँकी रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सरकारले यस वर्ष १४ लाख ९५ हजार हेक्टर हाराहारी क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरेको थियो । सोमध्ये हालसम्म ९ लाख २९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको मनत्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले यो वर्ष मनसुन ढिला सुरु भएका कारण अपेक्षित धान रोपाइँ हुन नसकेको बताए । ‘मनसुन ढिला सुरु भयो, त्यसैले धान रोपाइँमा केही कमी आएको छ, तर मौसमले साथ दिएको छ, यो राम्रो संकेत हो,’ प्रवक्ता सञ्जेलले चाणक्य पोष्टसँग भने ।
उनले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ आधाभन्दा बढी भइसकेको बताए । अन्य प्रदेशहरुमा पनि धान रोपाइँ निरन्तर भइरहेको उनले जानकारी दिए ।
मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा यो वर्ष ५ गतेसम्म १ लाख ६८ हजार ४६ हेक्टरमा रोपाइँ भइसकेको छ । यो वर्ष यहाँ १ लाख ७५ हजार ५५६ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ ।
यस्तै, कर्णाली प्रदेशमा यो वर्ष ३८ हजार ७२७ क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको थियो । हालसम्म २९ हजार क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।
कोशी प्रदेशमा हालसम्म २ लाख ८४७ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ । यो वर्ष यहाँ ३ लाख ४० हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ ।
गण्डकी प्रदेशमा हालसम्म ७० हजार ९७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ । यस वर्ष यहाँ ९७ हजार ८४० हेक्टर बढी क्षेत्रमा धान रोपाइँ हुने अनुमान गरिएको छ ।
मधेश प्रदेशमा हालसम्म १ लाख ६३ हजार हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । यहाँ यो वर्ष ४ लाख १ हजार हेक्टर बढी क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको थियो ।
यसैगरी लुम्बिनी प्रदेशमा यहालसम्म २ लाख २२ हजार २९० हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ भने बागमती प्रदेशमा ७३ हजार ५०४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ सकिसकेको छ ।
यो वर्ष बागमती प्रदेशमा १ लाख २३ हजार हेक्टर बढी क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको थियो ।