 
			मनाङ । आर्थिक वर्ष २०७९/८० मा हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आउने क्रम बढे्को छ । गत वर्ष २० हजार २६७ पर्यटक मनाङ भित्रिएका छन् ।
विश्वकको १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गत जिल्लामा विदेशी पर्यटक आउनेको सङ्ख्यामा वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा सार्क राष्ट्रका ८४३ र अन्य राष्ट्रका १९ हजार ४२४ पर्यटक भित्रिएका छन् ।
नेपाल आउने अधिकांश पर्यटक मनाङ भित्रिने गरेको गौतमको भनाइ थियो । १२ हजार ७७९ पुरुष, ७ हजार ४८५ महिला र तीन जना अन्य पर्यटक मनाङ आएका उनले जानकारी दिए । अन्नपूर्ण पदमार्गलाई जोखिम पदमार्गका रूपमा लिने गरिएको उनले बताए ।
मनाङ प्राकृतिक सुन्दरताले भरिपूर्ण भएकाले यहाँ घुम्न आउने पर्यटकले हिम शृङ्खला तथा हिमतालको नजिकबाट अवलोकन गर्न सक्ने एक्यापका प्रमुख गौतमले बताए । साथै यहाँको हावापानी, वेशभूषा, संस्कृति र सत्कारले पनि पर्यटकलाई यहाँ आकर्षित गर्ने उनको भनाइ छ ।
यस पदमार्गअन्तर्गत लमजुङको सदरमुकाम बेँसीसहरबाट पर्यटकले यात्रा सुरु गरेर मनाङको ताल, धारापानी, सदरमुकाम चामे हुँदै माथिल्लो मनाङ, पिसाङ, हुम्दे, भ्राका, मनाङगाउँ, खाङ्सार, थोराङ्ला भञ्ज्याङ हुँदै थोराङला पास गरी मुक्तिनाथ पुग्ने गर्छन् ।
थोराङ्ला पास गर्न २१ दिन लाग्ने गरे पनि अहिले मोटरेवल सडकका कारण यात्रा छोटिएको छोटिएको स्थानीय बताउँछन् । अहिले यस पदमार्ग १२ दिन यात्रा पूरा गर्न सकिन्छ । उक्त पदमार्ग कास्कीको नयाँ पुलमा पुगेर टुङ्गिन्छ ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                