
काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश मालपोत कार्यालयहरूले जग्गाको न्यूनतम मूल्यांकन दर सार्वजनिक गरेका छन् । मालपोत कार्यालयलहरूले आर्थिक वर्ष २०८०/८१ का लागि आफ्नो क्षेत्रभित्र पर्ने विभिन्न ठाउँको जग्गाको न्यूनतम मूल्य सार्वजनिक गरका हुन् ।
उपत्यकाका मालपोत कार्यालयहरू डिल्लीबजार, साँखु, कलंकी, टोखा, लगनखेल, भक्तपुर लगायतले चालु वर्षको लागि जग्गाको न्यूनतम मूल्यांकन तोकेका हुन् । अधिकांश मालपोत कार्यालयहरूले गत वर्षको तुलनामा भाउ बढाएर मूल्य तोकेका छन् भने केहीले स्थिर राखेका छन् ।
अब उपत्यकामा जग्गा किनबेच गर्दा मालपोत कार्यालयहरूले तोकेको मूल्यका आधारमा कर तिर्नुपर्ने हुन्छ । मालपोत कार्यालयहरूले आनाको ३३ हजारदेखि ६६ लाख रुपैयाँसम्म मूल्य तोकेका छन् ।
मालपोतले तोकेको यो जग्गाको भाउ भने वास्तविक मूल्यभन्दा निकै कम हो । मालपोत कार्यालयले तोकेको मूल्यमा अहिले काठमाडौं उपत्यकाको कुनै पनि ठाउँमा जग्गा पाउन सकिँदैन् ।
राजधानीकै मुटु मानिने न्यूरोड, दरवारबार मार्ग लगायतका ठाउँमा अहिले आनाकै डेढ करोडभन्दा बढीमा जग्गा कारोबार हुने गरेको छ । यस्तै, उपत्यकाका अन्य स्थानमा पनि अहिले आनाको २०/२५ लाखभन्दा कममा जग्गा पाउनै मुस्किल छ ।
काठमाडौंमा मुटुमा आनाको ६६ लाख
मालपोत कार्यालय डिल्लीबजारका अनुसार काठमाडौंमा जग्गाको मूल्य प्रतिआना ९ लाख ९० हजारदेखि अधिकतम प्रतिआना ६६ लाख रुपैयाँसम्म तोकिएको छ ।
कार्यालयले बाटो नपुगेको जग्गाको मूल्य प्रतिआना ९ लाख ९० हजार रुपैयाँ तोकेको छ भने काठमाडौंको मुटु मानिने दरबारमार्ग, न्यूरोड, इन्द्रचोक, पुतलीसडक, कान्तिपथ लगायत स्थानको जग्गाको मूल्य प्रतिआना ६६ लाख रुपैयाँ मूल्य तोकेको छ । यस्तै, मालपोत कार्यालयले गोरेटो बाटो भएको स्थानको जग्गाको मूल्य प्रतिआना न्यूनतम १२ लाख १०, हजार, कच्ची मोटरबाटो भएको ठाउँको प्रतिआना १५ लाख ४० हजार रुपैयाँ तोकेको छ ।
डिल्लीबजार मालपोत क्षेत्रमा पर्ने जग्गाको मूल्य हेर्न यहाँ क्लिक गर्नुहोस्
डिल्ली बजार मालपोतका अनुसार जमल–रानीपोखरी–वीर अस्पताल–नेपाल वायुसेवा निगम–गोश्वारा हुलाक–त्रिपुरेश्वरसम्मको मूलसडकसँग जोडिएका जग्गा, रत्नपार्क–पुरानो बसपार्क–सहीदगेट हुँदै सुन्धारा चोकसम्म र सिहंदरबार पश्चिमगेट हुँदै भद्रकालीसम्म, केशरमहल, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्व विश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मूलबाटोसँग जोडिएका तथा महेन्द्र सालिकदेखि काठमाडौं प्लाजासम्म मूलसडकको जग्गको भाउ प्रतिआना ६६ लाख तोकिएको छ ।
त्यसैगरी, हनुमानढोका पूर्व नयाँसडक, पुरानो नगरपालिका भवनको दक्षिणचोकबाट जुद्धशमशेर सालिक हुँदै इन्द्रचोकसम्म, न्युरोड पिपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो नगरपालिका भवन चोकसम्म, न्युरोड खिचापोखरी, धरहरासम्मको मूलसडकसँग जोडिएका जग्गाहरूको समेत प्रतिआना ६६ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, महाबौद्ध, इन्द्रचोक, रञ्जनामार्ग क्षेत्रमा ४४ लाख, वीर अस्पताल र ट्रमा सेन्टरबीचको महांकाल मन्दिर निस्कने बाटो क्षेत्रमा ३७ लाख ४० हजार, पुतलीसडक–बागबजार–रत्नपार्कसम्म र कुमारी बैंक चोकदेखि पुरानो बसपार्क हुँदै सभागृह चोकसम्मको मूलसडकसँग जोडिएको जग्गाको ४८ लाख ४० हजार, बालाजु रिङरोडलाई ३३ लाख, नारायणगोपाल चोकदेखि उत्तर सहिद गंगाल हृदयरोग प्रतिष्ठान हुँदै चाबहिल मालपोत क्षेत्रको मूलसडकमा २८ लाख ६० हजार तोकिएको छ ।
साँखु क्षत्रमा आनाको ३३ हजारदेखि २० लाखसम्म
साँखु मालपोतले कार्यालयले गत वर्षको तुलनामा जग्गाको आनामै साढे ७ लाख रुपैयाँसम्म बढाएर मूल्यांकन मूल्य तोकेको छ । कार्यालयले साँखु सडकसँग जोडिएको वडा नं. ६ देखि ९ सम्मको जग्गाको मूल्य प्रतिआना १९ लाख ८० हजार रुपैयाँ तोकेको छ ।
साँखु क्षेत्रको जग्गाको मूल्य हेर्न यहाँ क्लिक गर्नुहोस्
त्यस्तै, साँखु सडकसँग जोडिएको वडा नं. १ देखि ४ सम्मको भाउ प्रतिआना १६ लाख ५० हजार रुपैयाँ तोकेको छ । यस्तै, इन्द्रायनी र गागलफेदी क्षेत्रमा कागेश्वरी चक्रपथ सडकले छोएको प्रतिआना ८ लाख २५ हजार रुपैयाँ तोकेको छ ।
त्यस्तै, नाङलेभारे क्षेत्रमा बाटो नपुगेको जग्गाको भाउ प्रतिआना ३३ हजार तोकेको छ भने पखुलाक्षी क्षेत्रमा बाटोले नछोएको जग्गाको प्रति वर्गमिटर ६ हजार ५० रुपैयाँ तोकेको छ ।
ललितपुरमा आनाको ३५ लाखसम्म
मालपोत कार्यालय लगनखेलले ललितपुर महानगरपालिका भित्र जग्गाको मूल्यांकन प्रतिआना १ लाख २५ हजारदेखि ३७ लाख ५० हजार रुपैयाँसम्म तोकेको छ ।
ललितपुर क्षेत्रको जग्गाको मूल्य हेर्न यहाँ क्लिक गर्नुहोस्
बागमती गाउँपालिकामा प्रतिरोपनी ६० हजारदेखि ४ लाखसम्म, कोञ्जोयोसोम गाउँपालिकामा प्रतिरोपनी ७० हजारदेखि ४ लाख ५० हजार, गोदावरी नगरपालिकामा प्रतिआना ५० हजारदेखि ७ लाख २० हजार रुपैयाँसम्म तोकेको छ ।
भक्तपुरमा आनाको ३३ लाखसम्म
मालपोत कार्यालय भक्तपुरले जग्गाको मूल्यांकन प्रतिआना १ लाख ६५ हजारदेखि ३५ लाख रुपैयाँसम्म तोकेका छ । अरनिको राजमार्गसँग जोडिएका जग्गाको न्यूनतम मूल्यांकन प्रतिआना ३५ लाख रुपैयाँ तोकेको छ । गतवर्ष यस क्षेत्रको जग्गाको भाउ ३३ लाख तोकिएको थियो ।
त्यसैगरी, नगरकोट सडक, च्यामासिंङपासीखेल सडक, हाकुफोहिटी लगायत क्षेत्रको सडकको दायँबायाँ रहेका जग्गाको मूल्यांकन प्रतिआना २२ लाख रुपैयाँ तोकेको छ ।
त्यस्तै, भक्तपुर नगरपालिका पाइपलाइन, पुरानो जगाती बाटो, तपाकेदेखि धालाखसीसम्म, लिडागाचा सडक लगायत क्षेत्रको मूल्यांकन प्रतिआना १ लाख ६५ हजार रुपैयाँ तोकेको छ ।