काठमाडौं । सेयर बजार घट्दा सरकारको आम्दानीमा भारी गिरावट आएको छ । घट्दो बजारमा लगानीकर्ताको नाफा कमाउन नसक्दा सरकारले पूँजीगत लाभकर बापत पाउने आम्दानीमा पनि भारी मात्रमा घटेकाे हो ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा सरकारको सेयर बजारबाट हुने आम्दानी ७१.३० प्रतिशतले घटेको छ । गत वर्ष सरकारले सेयर काराेबारबाट २ अर्ब ९७ करोड रुपैयाँ मात्रै पूँजीगत लाभकर पाएको छ । यो अघिल्लो आव २०७९/७९ को तुलनामा ७ अर्ब ३८ करोड कम हो । अघिल्लो वर्ष सरकारले सेयर बजारबाट पूँजीगत लाभकर बापत १० अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष कारोबार रकम र लगानीकर्ताले कमाउने नाफा दुवै घट्दा सरकारले पाउने राजस्वमा पनि भारी गिरावट आएको हो ।
लगानीकर्ता तथा धितोपत्र व्यवसायीहरूले सेयर कारोबारमा पूँजीगत लाभकर, लाभांश, आयकर र अग्रिम कर कट्टी बापत सरकारलाई कर तिर्नु पर्दछ । हाल संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले १ वर्षभन्दा कममा बेचे ७.५ प्रतिशत र सोभन्दा बढी अवधिमा बेचेमा ५ प्रतिशत पूँजीगत लाभ कर तिर्नुपर्ने व्यवस्था छ ।
अघिल्लो असारको तुलनमा गत असारमा नेप्से परिसूचक नघटे पनि वर्षभरी कारोबार रकम घट्दा पूँजीगत लाभकर प्रभावित भएको हो । २०७९ असार मसान्तमा नेप्से परिसूचक २००९ विन्दु रहेको थियो भने २० असार मसान्तमा २०९७ विन्दु थियो । गत असोजमा नेप्से परिसूचक घटेर १८१५ विन्दुसम्म झरेको थियो ।

गत वर्ष सरकारले पाउने पूँजीगत लाभकर घटे पनि समग्रमा लगानीकर्ताको कुल सम्पत्ति भने २ खर्ब ४२ अर्ब रुपैयाँ बढ्को छ । २०७९ असार मसान्तमा कुल बजार पूँजीकरण २८ खर्ब १ अर्ब रहेकोमा २०८० असारमा ३० खर्ब ४३ अर्ब रुपैयाँ कायम भएको छ । यद्यपि, गत वर्ष नेप्सेमा २ दर्जन बढी नयाँ कम्पनी सूचीकृत भएकाले पूँजीकरण बढ्न सहयोग पुर्याएको छ ।
पछिल्लो दुई वर्षमा समग्रमा बजार पूँजीकरण साढे १३ खर्बले घटेको छ । २०७८ भदौमा नेप्से इतिहासकै उच्च ३१९९ विन्दुमा पुगेको दिन सूचीकृत कम्पनीहरूको बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको थियो । त्यसयता लगातार ओरालो लागेका नेप्सेले अझै गति लिन सकेको छैन ।
यस्तै, सेयर बजार घट्दा ब्रोकर कम्पनीहरुको आम्दानीमा पनि ठूलो गिरावट आएको छ । गत वर्ष कुल ४ खर्ब ६८ अर्बको सेयर कारोबार हुँदा ब्रोकर कम्पनीले २ अर्ब ७५ करोड कमाएका छन् । अघिल्लो वर्ष ब्रोकरहरुले कमिसन बापत ७ अर्ब कमाएका थिए ।
पछिल्ला दुई वर्षमा नेपाल राष्ट्र बैंकले गरेको कडाइका कारण सेयर बजार ओरालो लागेको हो । राष्ट्र बैंकले सेयर कर्जाको जोखिम भार दोब्बरले बढाएर १५० प्रतिशत पुर्याएको छ भने एक व्यक्तिले समग्र बैंकिङ प्रणालीबाट १२ करोड बढी ऋण ऋण लिन नपाउने व्यवस्था गरेको । लगानीकर्ताले यी व्यवस्था हटाउन लामो समयदेखि माग गर्दै आए पनि राष्ट्र बैंकले सुनवाइ गरेको छैन ।
सेयर बजारबाट सरकारले कुन वर्ष कति कमायो ?
सरकारले सेयर बजारबाट आब २०७७/७८ मा १५ अर्ब ७३ करोड कर प्राप्त गरेको थियो । यो ३ दशक लामो सेयर बजारको यात्रामा हालसम्मकै धेरै हो ।
त्यस्तै, आव २०७८/७९ मा १० अर्ब ३५ करोड, गत आव २०७९/८० मा २ अर्ब ९७ करोड, आव २०७६/७७ मा जम्मा १ अर्ब ३५ करोड, आव २०७५/७६ मा ९४ करोड राजस्व उठेको थियो ।
त्यसैगरी, आव २०७४/७५ मा ७४ करोड, आव २०७३/७४ मा १ अर्ब ८१ करोड र आव २०७२/७३ मा १ अर्ब ७८ करोड पूँजीगत लाभकर पाएको थियो ।