आजदेखि कार्यान्वयनमा आउँदै करका यी नयाँ व्यवस्था

काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरुसँगै नयाँ करहरू लागू हुने भएका छन् । सरकारले जेठ १५ गते ल्याएको बजेटमा व्यवस्था गरिएका नयाँ करका दरहरू आज (साउन १ गते)देखि कार्यान्वयनमा आउने भएका हुन् ।

सरकारले आयकर ऐन २०५८ मा संशोधन गरेका व्यवस्थाहरू आजदेखि लागू हुने छन् । यद्यपि, भन्सार, अन्तः शुल्क र मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुर र मोबाइल फोनको दर्तासम्बन्धी व्यवस्था जेठ १५ गतेदेखि नै कार्यान्वयनमा आइसकेको छ ।

साथै थप सार्वजनिक सेयर निष्कासन (एफपीओ) मा करसम्बन्धी व्यवस्था पनि कार्यान्वयनमा आइसकेको छ ।

पहिलो पटक विलासी कर लाग्दै

आजदेखि नेपालमा पहिलोपटक ३ प्रकारका वस्तुमा विलासी कर लाग्ने भएको छ । आर्थिक विधेयकमा गरिएको व्यवस्था अनुसार आयातित मदिरा, पाँचतारे वा सोभन्दा माथिको होटलको रिसोर्टको सेवा र १० लाख माथिको गरगहना खरिदमा विलासी कर लाग्ने व्यवस्था गरेको हो ।

आर्थिक ऐनको दफा २१ मा विलासीकर सम्बन्धी व्यवस्था गरिएको छ । जसमा पाँच तारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टको सेवा, आयातित मदिरा र १० लाख रूपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहना खरिद गर्दा खरिद रकममा २ प्रतिशत विलासी कर लाग्ने व्यवस्था गरिएको छ ।

३९ प्रतिशतसम्म आयकर तिर्नुपर्ने

आजदेखि वार्षिक ५० लाखभन्दा बढी कमाउने व्यक्ति र प्रोप्राइटरसीप फर्मले ३९ प्रतिशत आयकर तिर्नुपर्ने भएको छ । यसअघि वार्षिक २० लाखभन्दा माथि जति कमाए पनि ३६ प्रतिशत कर तिर्नुपर्दथ्यो ।

२० लाखभन्दा तलको आयकर सीमा भने यथावत राखिएको छ । एकलको हकमा वार्षिक ५ लाख र दम्पतिको हकमा ६ लाख कमाउनेले १ प्रतिशत व्यक्तिगत आयकर तिर्नुपर्दछ ।

त्यस्तै, एकल व्यक्तिले ५ देखि ७ लाख कमाउनेले थप १० प्रतिशत, ७ देखि १० लाख कमाउनेले थप २० प्रतिशत र १० देखि २० लाख कमाउनेले थप ३० प्रतिशत कर तिर्नुपर्नेछ ।

विदेश घुम्न जानेले कर तिर्नुपर्ने

यस्तै, आजदेखि विदेश घुम्न जानेले पनि कर तिनुपर्ने भएको छ । अब नेपालबाट टुर प्याकेज खरिद गरी विदेश घुम्न जानेले थप ५ प्रतिशत वैदेशिक पर्यटन शुल्क तिर्नु पर्नेछ ।

वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीको बखत, फर्म वा कम्पनीले व्यवसाय प्रवद्र्धनका सिलसिलामा आफू सम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च लेखाइनका बखत वैदेशिक पर्यटन शुल्क तिर्नु पर्ने व्यवस्था गरिएको छ । यसअघि विदेश घुम्न जाँदा टुर प्याकेजको रकम बाहेक थप कर तिर्नुपर्दैन्थ्यो ।

यस्तै, वैदेशिक अध्ययनमा जानेले पनि ३ प्रतिशत कर तिर्नुपर्ने भएको छ । यसअघि यस्तो कर २ प्रतिशत थियो ।

हवाई भाडामा भ्याट लाग्ने

आजैदेखि हवाई यातायातको सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएको छ । आन्तरिक हवाई सेवाको टिकटको मूल्यमा मूल्य अभिवृद्धि कर लागू हुनेछ।

यस्तै, अन्तर्राष्ट्रिय हवाई यातायात सेवाको हकमा नेपालबाट प्रस्थान गर्ने यात्रुको टिकटमा उल्लेखित गन्तव्य स्थानसम्मको हवाई टिकटको मूल्यमा भ्याट लाग्ने छ ।

बेलिब्रिज बनेपछि १ महिनापछि खुल्यो मेची राजमार्ग Read Previous

बेलिब्रिज बनेपछि १ महिनापछि खुल्यो मेची राजमार्ग

असारे विकासले बढायो पूँजीगत खर्च, लक्ष्यको ७१ प्रतिशत मात्रै उठ्यो राजस्व Read Next

असारे विकासले बढायो पूँजीगत खर्च, लक्ष्यको ७१ प्रतिशत मात्रै उठ्यो राजस्व