१.२५ अर्बको बजेट ल्याउँदै पर्यटन बोर्ड, ८०% बजार प्रबर्द्धनमा खर्चिने

काठमाडौं । वार्षिक १० लाख विदेशी पर्यटक भित्र्याउने योजनासहित नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि रु सवा १ अर्बको बजेट ल्याउने तयारी गरेको छ ।

कोरोना महामारीपछि घटेको विदेशी पर्यटकको सङ्ख्या लयमा फर्कन थालेको समयमा पर्यटन बोर्डले पर्यटन क्षेत्रलाई पूर्णरुपमा चलायमान बनाउनका लागि बोर्डले रु १ अर्ब २५ करोड बराबरभन्दा बढीको बजेट ल्याउने तयारी गरेको हो ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आगामी वर्षका लागि करिब रु १ अर्ब २५ करोडभन्दा बढीको बजेट ल्याउने तयारी गरिएको र उक्त बजेटमध्ये झण्डै ८० प्रतिशत अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनमा खर्च योजना रहेका बताए । बाँकी रकम आन्तरिक पर्यटन प्रवर्द्धन तथा पूर्वाधारमा खर्चिने बोर्डको योजना छ ।

‘कूल बजेटको ८० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरणमा खर्च गर्ने योजना छ । मुख्य रुपमा भारत, चीन तथा सिङ्गापुर, मलेसियालगायत दक्षिणपूर्वी एशियाली मुलुकलाई प्राथमिकतामा राखेर नेपालको पर्यटन प्रवद्र्धन गरिनेछ । पुराना गन्तव्यका रुपमा बेलायत र अमेरिकालाई पनि प्राथमिकता दिइनेछ,’ निर्देशक लामिछानेले भने ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले निकट भविष्यमै अष्ट्रेलियामा पनि सिधा उडान गर्ने योजना बनाएकाले बोर्डले अष्ट्रेलिया गन्तव्य प्रवर्द्धनको योजना बनाएको निर्देशक लामिछानेको भनाइ छ । उनले पछिल्लो समय अष्ट्रेलियाबाट पनि पर्यटक आगमन वृद्धि भइरहेकाले बजारीकरणलाई प्राथमिकता दिएको बताए।

बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को ६ महिनामा ४ लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ ।

बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कूल पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । साथै सोही अवधिमा कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा २ लाख २० हजार ८१५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२ मा २ लाख ४० हजार ९०१ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

यस वर्षको जनवरीदेखि जुनसम्म नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा ९७.७९ प्रतिशतले बढी हो भने सन् २०१९ को तुलनामा १६.९३ प्रतिशतले कम हो । अघिल्ला महिनामा पनि भारत, अमेरिका, चीन, बङ्गलादेश, अष्ट्रेलियालगायत मुलुकबाट बढी पर्यटक नेपाल भित्रिएको बोर्डले उल्लेख गरेको छ ।रासस

जनकपुर-जयनगर रेल सेवा महोत्तरीसम्म विस्तार Read Previous

जनकपुर-जयनगर रेल सेवा महोत्तरीसम्म विस्तार

साढे ३ महिनामै वैदेशिक रोजगारीमा गएका २.१६ लाख श्रमिक सामाजिक सुरक्षामा आबद्ध Read Next

साढे ३ महिनामै वैदेशिक रोजगारीमा गएका २.१६ लाख श्रमिक सामाजिक सुरक्षामा आबद्ध