साउन ४ गतेदेखि आइपीओ बिक्री गर्दै माथिल्लो मैलुङ खोला

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले साउन ४ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका रसुवा र नुवाकोटका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर बिक्रीमा ल्याउने भएको हो । सोमध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दालाई छुट्याइएको छ ।

त्यसैगरी, २ लाख ८५ हजार ७२० कित्ता आयोजना प्रभावित क्षेत्र उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानीय बासिन्दालाई र १ लाख ४२ हजार ८५० कित्ता माथि उल्लेख बाहेक रसुवाका अन्य क्षेत्रका बासिन्दालाई छुट्याइएको छ ।

यसैगरी, कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याउने छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछ। उक्त आइपीओमा लगानीकर्ताले साउन १८ गतेदेखि आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा स्थानीयले मात्र ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन पाउने छन् ।

स्थानीय बासिन्दाले आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक तथा एनएमबी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

कम्पनीले प्रबर्धन गरिरहेको १४.३ मेगावाटको माथ्लिलो मैलुङ खोल जलविद्युत आयोजना निर्माण सम्पन्न भई परीक्षणको क्रममा छ । आगामी साउन १५ गतेदेखि व्यवसायिक उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७८ रुपैयाँ रहेको छ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ खुल्यो Read Previous

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ खुल्यो

नेपालकै ठूलो चितवन मिल्कले दैनिक १ लाख लिटर दूध प्रशोधन गर्दै Read Next

नेपालकै ठूलो चितवन मिल्कले दैनिक १ लाख लिटर दूध प्रशोधन गर्दै