भगवती हाइड्रोपावरको प्रिमियममा आइपीओ खुल्यो, प्रतिकित्ता भाउ कति ?

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (कार्यालय समय)देखि प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र कास्कीका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियममा आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्कीका स्थानीयका लागि अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता सेयर बिक्री गर्ने भएको हो ।

सो सेयरमा पोखरा महानगरपालिका वडा नं. १३, १४, २६ र २७ (साविकको पोखरा उप महानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७) का स्थानीय बासिन्दाहरुले आवेदन दिन पाउने छन् ।

यसैगरी, कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता ११६ रुपैयाँ दरले ८५ हजार ८१० कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन पाउने छन् । उक्त आइपीओमा साउन ७ गतेसम्म आवेदन पाउने छन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा स्थानीयले मात्र ढिलोमा साउन २२ गतेसम्म आवेदन दिन पाउने छन् ।

स्थानीय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा स्वीकृति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले प्रबर्धन गरिरहेको ४.५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको छ।

कञ्चनपुर-कमला सडकमा नेपालमै पहिलोपटक नयाँ प्रविधिको पुल बनाइने Read Previous

कञ्चनपुर-कमला सडकमा नेपालमै पहिलोपटक नयाँ प्रविधिको पुल बनाइने

गण्डकीमा तीन सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन गरिँदै Read Next

गण्डकीमा तीन सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन गरिँदै