काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ७ वटा नयाँ धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरुलाई सदस्यता प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाई नेप्सेमा आवेदन दिएका ७ कम्पनीलाई नेप्सेले सदस्यता नम्बर प्रदान गरेको हो ।
नेप्सले ७ नयाँ ब्रोकर कम्पनीहरूको पूर्वाधार (कार्यालय)निरीक्षणपछि सदस्यता प्रदान गरेको हो । नेप्से संचालक समितिको बुधबारको बैठकले प्रक्रिया पुगेका ब्रोकर कम्पनीहरुलाई सदस्यता दिने निर्णय गरेको थियो । सोही अनुसार बिहीबार नेप्सले नयाँ सदस्यता दिएको हो ।
नेप्सेका अनुसार क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोक्रेज लिमिटेड, ले भोला गणेश सेक्युरिटिज, सन् सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, प्रोपर्टी बिजवार्ड र मियो सेक्युरिटिजले सदस्यता पाएका हुन् ।
नेप्सले यी ब्रोकरहरुलाई कारोबारका लागि सदस्यता नम्बर (ब्रोकर नं.)पनि प्रदान गरेको छ । नेप्सले भोला गणेशलाई ६१, क्यापिटल म्याक्स ६२, हिमालयन ६३, सन् सेक्युरिटिज ६४, सेयरप्रो ६५, मियो सेक्युरिटिज ६६ र प्रोपर्टी बिजवार्डलाई ६७ नम्बर दिएको छ ।
नेपाल धितोपत्र बोर्डले दुई चरणमा १८ वटा नयाँ ब्रोकरलाई लाइसेन्स दिएको थियो । तीमध्ये पहिलो चरणमा ७ वटाले नेप्सेको सदस्यता पाएका हुन् । अब बाँकी ११ ब्रोकरले पनि चाँडै सदस्यता पाउने नेप्सले जनाएको छ ।
नेप्सेबाट सदस्यता पाएपछि नयाँ ब्रोकरले असार भित्रैबाट कारोबार सुरु गर्ने जनाएका छन् ।हाल ५० वटा ब्रोकरले सेयर कारोबार सम्बन्धी सेवा संचालन गर्दै आएका छन् । ७ वटा नयाँ थपिएसँगै ब्रोकरको संख्या ५७ पुगेको छ ।