काँकडभिट्टा-लौकही सडककाे ठेक्का सम्झौता अन्तिम चरणमा, ३ वटा आर्क ब्रिज बनाइने

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत काँकडभिट्टा– लौकाही (लौही) सडकखण्डको ९५ किलोमिटरमा ठेक्का सम्झौता अन्तिम चरणमा पुगेको छ । हाल दुई लेनमा रहेको यस सडकलाई चार लेनको बनाउन ठेक्का लगाउन लागिएको हो ।

भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार ठेक्का मूल्यांकन अन्तिम चरणमा रहेको भन्दै चाँडै ठेक्का लाग्ने बताए ।

उनका अनुसार उक्त सडक आयोजनामा ५ वटा प्याकेजमा ठेक्का आह्वान गरिएको थियो । जसमा पहिलो प्याकेज ४५ किलोमिटर सडक विस्तार गर्न ३ वटा निर्माण कम्पनीहरूको आवेदन परेको उनले बताए ।

दोस्रो प्याकेजमा ४० किलोमिटर सडक खण्ड विस्तार गर्न ४ वटा निर्माण कम्पनीहरूको आवेदन परेको थियो । यसैगरी, तेस्रो प्याकेजमा १०.५ किलोमिटरको सडक विस्तार गर्न ५ वटा निर्माण कम्पनीको आवेदन परेको थियो ।

यस्तै, चौथो प्याकेजमा पुल निर्माणको लागि ठेक्का आह्वान गरिएको थियो । जसमा पहिलो ३ वटा आर्क ब्रिज निर्माण गर्न एउटा मात्र निर्माण व्यवसायीको मात्र आवेदन परेको थियो । पाँचौ प्याकेजमा ३ वटा पुल निर्माणको लागि २ वटा निर्माण व्यवसायीको आवेदन परेको थियो ।

उक्त खण्डमा ठेक्का निर्माण व्यवसायीसँग सम्झौता हस्तान्तरणपछि निर्माणको काम सुरू गरिने छ । आयोजनाका अनुसार काकरभिट्टा–लौकाही सडक विस्तार कार्य तीन वर्षमा सम्पन्न हुने अनुमानित लक्ष्य रहेको छ ।

ठेक्का पाउने कम्पनीले सम्झौताको समयबाट ३६ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने र थप १२ महिना मर्मतसम्भारको समेत जिम्मा लिनुपर्ने शर्त छ । यस्तै, आयोजना अन्तर्गतको पुल निर्माणका लागि भने ५ वर्ष समयावधि छुट्याइएको छ । त्यसपछिको थप २४ महिनासम्म मर्मतसम्भारको जिम्मा सम्वन्धित निर्माण कम्पनीले लिनुपर्नेछ ।

कुल ९५.५ किलोमिटरको यो सडक खण्डको निर्माण लागत प्रतिकिलोमिटर करिब ४७ करोड रुपैयाँ अनुमान गरिएको अधिकारीले बताए । उनका अनुसार आगामी आर्थिक वर्ष २०८०/८१ भित्र उक्त सडकमा विस्तारको काम सुरू गरिने छ ।

उनका अनुसार पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति एडीबीले ३० करोड अमेरिकी डलर अर्थात् करीब ३८ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउनले छ । नेपालले यस सडक निर्माणमा कम्तीमा ७ अर्ब रुपैयाँ लगानी गर्नेछ ।

यस्तै, वातावरण मूल्यांकन तथा डिजाइनहरू लगायत परामर्शदाताका लागि २ अर्ब ८७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । परियोजनाको ईआईएको काम सम्पन्न भइसकेको छ ।

 

‘ट्रायल’ पास हुने १० प्रतिशतले बढे Read Previous

‘ट्रायल’ पास हुने १० प्रतिशतले बढे

सुदूरपश्चिममा ६० प्रतिशत रोपाइँ गर्न बाँकी Read Next

सुदूरपश्चिममा ६० प्रतिशत रोपाइँ गर्न बाँकी