लागत र प्रतिफलको वेवास्ता गर्दै लहडमा विमानस्थल निर्माण, कनेक्टिभिटीको गलत भाष्य

७ करोड रुपैयाँ लागतमा कालोपत्र गरिएको बागलुङ बलेवा विमानस्थलको धावनमार्ग । २०७८ चैतमै कालोपत्र सम्पन्न गरिए पनि अझै नियमित उडान हुन सकेको छैन ।

काठमाडौं । अर्बौं बजेट खर्च गरेर निर्माण गरिएका दुई दर्जन विमानस्थल संचालनमा नआए पनि सरकारले नयाँ विमानस्थल निर्माण गर्ने घोषणा गर्न छाडेको छैन । सत्तामा पुगेका नेताहरूको स्वार्थ र लहडका भरमा आवश्यकता  र औचित्य बिनै नयाँ विमानस्थल घोषणा हुने क्रम बढ्दो छ ।

विस्तृत अध्ययन, अनुसन्धान, आवश्यकता, भविष्यमा प्राप्त हुने प्रतिफल लगायत मूल्यांकन नै नगरी  हचुवाको भरमा विमानस्थल बनाउने घोषणा भएका छन् भने लहडमा बनेका केही विमानस्थल घाम तापेर बसेका छन् ।

क्षेत्रीयस्तरका केही विमानस्थल निर्माण र स्तरोन्नति गर्नु स्वभाविक भए पनि जिल्लैपिच्छे र एउटै जिल्लामा दुई/तीन वटा समेत विमानस्थल बनाउने घोषणा गरिएका छन् । सडक सञ्जालको पहुँच पुगेका, एउटा विमानस्थल रहेका जिल्लामा समेत थप एयरपोर्ट  निर्माणको प्रक्रिया अघि बढाउने सरकारको घोषणाले पूर्वाधार विकास नीतिमै प्रश्न उठाएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत थप आठवटा विमानस्थलको स्तरोन्नति गरिने घोषणा गरेको छ । विराटनगर, भरतपुर, नेपालगञ्ज र धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्नु स्वभाविक भए पनि कतिपय संरचनामा भने बजेट खन्याउनकै लागि निर्माण अघि बढाउने घोषणा गरिएको छ ।

रुकुमको चौरजहारी,दाङको टरी गाउँ, उदयपुरको सगरमाथा, जुम्लाको खलङ्गा लगायतका विमानस्थलको स्तरोन्नति गरिने आगामी वर्षको लागि अर्थमन्त्री प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

यी जिल्लाहरूमा कुनै कनेक्टिभिटी नभएर विमानस्थल बनाउने तयारी गरिएको भने होइन । प्राकृतिक स्रोतको समेत दोहन हुनेगरी बनाइने यस्ता संरचनाले आर्थिक भार मात्रै बढाउने जानकारहरू बताउँछन् ।

त्रिभुवन विश्वविद्याल अर्थशास्त्र विभागका प्रमुख डा. शिवराज अधिकारी विमानस्थल आवश्यकताको आधारमा भन्दा पनि जनतालाई विकास देखाउन गरिने प्रचलन रहेको बताउँछन् । ‘संरचना निर्माण आवश्यकताको आधारले गरिँदैन । जनताले चाहियो भन्छन त्यही आधारले बनाइन्छ,’ उनले भने ।

चालु आवसम्म नेपालमा विमानस्लको संख्या ५३ पुगेको छ । यी मध्ये ३३ वटा एयरपोर्ट मात्रै सञ्चालनमा छन् । विमानस्थलको संख्या धेरै भए पनि जस्तो सुकै मौसममा उडान गर्न सकिने विमानस्थलको संख्या ४० वटा मात्रै छ ।

लागत र प्रतिफको वेवास्ता

दुर्गम भेगमा प्रतिकूल मौसममा वायुसेवा कम्पनीहरूले उडान स्थगन गर्ने गरेका छन् । धेरैजसो यी क्षेत्रमा अनुकूल मौसममा पनि सातामा एक पटक उडान हुने गरेको छ ।

सेवाग्राहीको सहजताको लागि निर्माण गरिने यस्तो कनेक्टिभिटीले उनीहरूलाई त्यसको राहत महशुस गराएको छैन । बरु राज्यको स्रोत साधन मात्रै बढी खर्च भइरहेको छ ।

पूर्वाधार निर्माण गर्नुको मुख्य कारण भनेकै प्रतिफलको लागि हो । चाहे त्यो नागरिकको सहजताको लागि होस् वा अन्य आर्थिक र रणनीतिक उपलब्धि हासिल गर्न । यी दुवै उद्देश्यलाई भेटाउन नसक्दा पूर्वाधार संरचनाको औचित्य माथि प्रश्न उठ्ने गरेको छ ।

प्राध्यापक अधिकारी जनताको पर्चेजिङ अवस्था र विमानस्थलले दिने प्रतिफल नहेरि संरचना बनाइएको बताउँछन् । ‘लागत उठाउँछ कि उठाउँदैन । संरचना भायबल छ कि छैन र जनताले पर्चेजिङ गर्न सक्छन् कि सक्दैनन् भन्ने त हेरिँदै हेरिन्न,’ उनी भन्छन् ।

कनेक्टिभिटीको भाष्य : संख्या कि सहजता ?

धेरैजसो विकट जिल्लाका विमानस्थलहरूमा त्यहाँका बासिन्दा सबैको पहुँचमा छैनन् । जिल्लामै एयरपोर्ट हुँदा पनि भौगोलिक विकटताका कारण त्यो ठाउँमा हवाई यात्राभन्दा सडकबाट जानुमा छिटो र  लागत कम पर्छ ।

आफ्नै जिल्ला सदरमुकाम जान एक दिनभन्दा बढी समय लाग्ने ठाउँहरू पनि छन् । ती क्षेत्रका बासिन्दालाई हवाई मार्गबाट एयरपोर्ट भएर फर्किनभन्दा सडक यातायातको माध्यममार्फत सहज हुन्छ ।

सोही कारण यस्ता क्षेत्रहरूमा राम्रो सडक पूर्वाधार भए विमानस्थल निर्माणको आवश्यकता नरहेको जानकारहरहरू बताउँछन् । क्षेत्रीय विमानस्थलबाट केही घण्टाको सडक यातायातमा पुग्न सकिने धेरै ठाउँ छन् । ती क्षेत्र मात्र नभएर उपत्यकाबाट केही दुरीमा रहेका जिल्लाहरूमा पनि एयरपोर्ट छन् । तर, ती सञ्चालनमा छैनन् ।

जनतामा विकास भनेकै एयरपोर्ट र सडक हो भन्ने मान्यता रहको र कुन राम्रो र सहज छ भन्ने हेर्ने नगरिएको अधिकारीले बताए । ‘जनताले पनि विकास भनेकै एयरपोर्ट र बाटोलाई नै मानिरहेका छन् । त्यो भएपछि जस्तो भए पनि हुन्छ भन्ने छ,’ उनले भने, ‘कनेक्टिभिटी विकासका लागि महत्वपूर्ण हो । यसले एकअर्कालाई जोड्ने काम गर्छ । तर, कुनले राम्रो कनेक्टिभिटी गर्छ भन्ने हेरिएन ।’

आर्थिक रुपमा पनि सहज हिसाबले सबैको पहुँच पुुग्नेगरी कनेक्टिभिटी बनाउनु पर्नेमा त्यो हुन नसकेको उनले बताए । सडकले धेरैलाई छुन्छ । गरिबहरूलाई पनि सजिलो बनाउँछ । एयरपोर्टले आयस्रोत बढी भएकाहरूकै पहुँचमा हुन्छ,’ उनले भने ।

८२ वर्षीया यामकुमारीले बुनेका गलैँचा विदेश निर्यात, अमेरिकादेखि आउँछ अर्डर Read Previous

८२ वर्षीया यामकुमारीले बुनेका गलैँचा विदेश निर्यात, अमेरिकादेखि आउँछ अर्डर

असार २५ गतेदेखि सरकारले भुक्तानी नदिने, २४ गतेभित्रै गरिसक्न परिपत्र Read Next

असार २५ गतेदेखि सरकारले भुक्तानी नदिने, २४ गतेभित्रै गरिसक्न परिपत्र