बाढीले ३० हाइड्रोपावरमा साढे ८ अर्बको क्षति, कुनमा कति ? ( विवरणसहित)

काठमाडौँ । यससाता पूर्वी नेपालमा आएको भीषण बाढीपहिरोले ३० वटा जलविद्युत् आयोजनामा साढे ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुर्याएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ ।

असार १ र २ गते पाँचथर, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा आएको बाढीपहिरोले कुल ४६३ मेगावाट क्षमताका ३० ओटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को प्रारम्भिक अध्ययनले देखाएको हो ।

इप्पानका अनुसार निर्माण सम्पन्न भई १३२ मेगावाट विद्युत् उत्पादन गरिरहेका १३ वटा र निर्माणाधीन अवस्थामा रहेका ३२६ मेगावाटका १७ आयोजनामा क्षति पुर्याएको हो ।

उत्पादनमा रहेका आयोजनामध्ये सबैभन्दा धेरै क्षति २२.१ मेगावाट क्षमताको तल्लो हेवा खोला जलविद्युत् आयोजनामा देखिएको छ । सो आयोजनामा १ अर्ब रुपैयाँ बढीको क्षति भएको इपपानले जनाएको छ ।

त्यसैगरी, २५ मेगावाटको काबेली बी–१ मा ५० करो, ४.७ मेगावाटको अपर पिलुवा–२ जलविद्युत् आयोजनामा ९० करोड, १४.९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्युत् आयोजनामा ९५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

त्यस्तै, निर्माणाधीन ३२७ मेगावाटका १७ आयोजनामा साढे २ अर्ब बढीको क्षति भएको छ । जसमा सबैभन्दा धेरै क्षति ६ मेगावाटको सुपर हेवा खोला जलविद्युत् आयोजनामा भएको छ । सो आयोजनामा ८० करोड रुपैयाँ बराबरको क्षति भएको छ भने निर्माणमा खटिएका १८ जना मजदूरलाई पनि बाढीले बगाएर बेपत्ता बनाएको थियो । तीमध्ये अहिलेसम्म ४ जनाको मात्र शव भेटिएको छ ।

त्यस्तै ९७.५ मेगावाटको इसुवाखोला जलविद्युत् आयोजनामा ५० करोड रुपैयाँ, ९.७ मेगावाटको इङ्गवा खोलामा ५० करोड, पलुवा खोलामा १० करोड क्षति भएको इप्पानले जनाएको छ ।

 

पोखराको पर्यटनमा ‘ड्रागन बोट रेस’ले जगाएको आशा Read Previous

पोखराको पर्यटनमा ‘ड्रागन बोट रेस’ले जगाएको आशा

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ खुल्यो Read Next

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ खुल्यो