काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा यससाता थप ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा यससाता ४ लघुवित्त, एक विकास बैंक र एक इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।
यी सबै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत गरेका हुन् । नेप्सेमा यससाता साना किसान लघुवित्त, नयाँ सारथी लघुवित्त, उपकार लघुवित्त, विजय लघुवित्त, एशियन लाइफ इन्स्याेरेन्स र कामना सेवा विकास बैंककाे बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा आइतबार साना किसानको २६ प्रतिशत अर्थात् ४० लाख ६७ हजार ४७५.६९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।त्यसैगरी, नयाँ सारथी लघुवित्तको १९ प्रतिशत (५ लाख ७६ हजार ४५०.९९ कित्ता) र उपकार लघुवित्तको ६१.७५ प्रतिशत (४ लाख ५ हजार २३२ कित्ता)बोनस सेयर सूचीकृत भएको हो ।
त्यस्तै, मंगलबार नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको ८.५ प्रतिशत अर्थात् २४ लाख ७१ हजार ८९४.४२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यसैगरी, बिहीबार विजय लघुवित्तको २० प्रतिशत (६ लाख ४० हजार कित्ता) र कामना सेवा विकास बैंकको ४.४१ प्रतिशत (१३ लाख ८५ हजार ८७६.४६ कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत सबै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।