
काठमाडौं । सरकारले उदयपुरको त्रियुगामा बन्ने सगरमाथा विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाएको छ । सरकारको ‘एक जिल्ला एक विमानस्थल, एक गाउँ एक हेलिप्याड’ निर्माण गर्ने नीति अनुसार उक्त विमानस्थल निर्माण अघि बढाइएको हो ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा सगरमाथा विमानस्थलको स्तरोन्तिका लागि बजेट समेत छुट्याएको छ । यस्तै, राष्ट्रिय योजना आयोगले समेत यो विमानस्थललाई प्राथमिकतामा राखेको छ ।
सरकारले यस विमानस्थललाई पूर्वी क्षेत्रका विमानस्थलहरूको वैकल्पिक विमानस्थलको रुपमा समेत अघि बढाएकाे हाे । सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, पाँचथर लगायत पहाडी जिल्लाको विमानस्थलमा मौसम प्रतिकूल हुँदा उक्त विमानस्थल प्रयोग गर्न सकिने बताइएको छ । यस्तै, विराटनगर क्षेत्रीय विमानस्थलको विकल्पमा समेत अघि सारिएको छ ।
हाल उक्त विमानस्थल निर्माणका लागि रुख कटान भइरहेको छ । १५६ हेक्टर क्षेत्रफल ओगटने उक्त विमानस्थल निर्माणका लागि १०५ हेक्टर क्षेत्रको रुख कटान गर्नुपर्ने हुन्छ । विमानस्थल निर्माणका लागि करिब साढे १८ हजार रुख कटान गर्नुपर्नेमा हालसम्म १३ हजार बढी रुख कटाइ भइसकेका छ ।
डिभिजन वन कार्यालय उदयपुरका अनुसार १३ हजार ६८७ वटा रुख ढालेर विक्री वितरण कार्यसमेत सुरु भइसकेको छ । यही असारभित्र काम सक्ने गरी नेपाल नागरिक उड्यन प्राधिकरणले लगाएको ठेक्कामा रुख ढाल्ने, घाटगद्धी गर्ने, संकलन र चिरान गरी नापजाँच कार्य सकेर विक्री वितरण हुन थालेको वन डिभिजन कार्यलयले जनाएको छ । हालसम्म मोथियाही सामुदायिक वन समूहका ४ हजार ३५७ वटा र कङ समूहको ९ हजार ८४९ वटा रुख काटिसकिएको छ ।
उदयपुरमा विमानस्थल कति आवश्यक ?
हाल नेपालमा ५५ वटा विमानस्थल रहेका छन् । तीमध्ये आधा मात्रै पूर्ण रुपमा संचालनमा आउँछन् । भएकै विमानस्थल समेत संचालनमा ल्याउन नसकेको सरकारले फेरि नयाँ विमानस्थल किन आवश्यकता पर्यो भन्ने प्रश्न उठेको छ ।
काठमाडौंबाट झन्डै ६ घण्टाको दूरी पुगिने र नजिकै अन्य विमानस्थलहरू पनि भएकाले सगरमाथा विमानस्थल निर्माणको आवश्यकता र औचित्य पुष्टी हुन नसक्ने जानकारहरू बताउँछन् ।
नेताहरूले राज्य सत्तामा हुँदा आफ्नो प्रभावमा योजना घोषणा गर्ने लहडले यस्ता आयोजना घोषणा हुने गरेको कयौं दृष्टान्त छन् । यो विमानस्थल पनि आवश्यकताभन्दा पनि नेताहरूको लहडमा बन्न लागेको त होइन ?
पूर्वाधार विज्ञ राजेन्द्र अधिकारी यातायातको विस्तारका लागि अब नयाँ मास्टर प्लान चाहिने बताउँछन् । उनका अनुसार नेपालमा हवाई यातायात, रेल यातायात अथवा सडक यातायात मध्ये कुन महत्वपूर्ण हो त्यो छुट्याएर मास्टर प्लानसहित पूर्वाधार विकास गर्नुपर्ने हुन्छ ।
उनले जथाभावी आवश्कता नहेरी रेल, विमानस्थल र सडक निर्माणले सरकारको ढुकुटी रित्याउने काम मात्र भएको बताए । ‘विमानस्थल धेरै ठाउँ बनाएर काम छैन, नेपालको अवस्थामा एयरपोर्टमै २ घण्टा बिताउनुपर्छ । उडान सुरक्षीत हुन सकेको छैन, महंगो उस्तै छ । सबैले चढ्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा विमानस्थल धेरै बनाउनु खर्च मात्र हो,’ पूर्वाधार विज्ञ अधिकारीले चाणक्य पोष्टसँग भने ।
उनले हाल नेपालका लागि सबैभन्दा प्राथमिकतामा सडक निर्माणलाई अगाडि बढाउनु पर्ने बताए । उनले सडकको प्रयोगले सस्तोमा ३ घण्टामा पुग्ने ठाउँका लागि विमानस्थल आवश्यक नपर्ने बताए ।
‘नेताहरूले मैले गरेको हुँ भनेर देखाउन मात्र आफ्नो गृह जिल्लामा विकासको नाउँमा विमानस्थल र रेलको घोषणा गर्छन, पछि यात्रु हुदैन, लगानी कसरी पैसा उठाउने कुनै योजना बीना विमानस्थल बन्यो भने अरु जस्तै बन्द हुनेछ,’ अधिकारीले भने । उनले पोखरा र गौतमबुद्ध विमानस्थलबाट पनि सरकारले सिक्नु पर्ने बताए ।
पूर्वी क्षेत्रमा सेवा दिन आवश्यक छ
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले उदयपुरमा बन्ने विमानस्थलले जनकपुर, राजविराज, खोटाङसम्मको यात्रुलाई सेवा पुर्याउने बताए । उनले मन्त्रालयले विमानस्थल निर्माणको घोषणा गरे पनि निर्माण गर्ने काम प्राधिकरणको भएको बताए । उनका अनुसार विमानस्थलको निर्माण खर्च ५० करोड रुपैयाँ रहेको छ ।
हाल विमानस्थल निर्माणका लागि रुख कटानको काम भइरहेको छ । प्राविधिक डिजाइनअनुसार विमानस्थलमा एटीआर ७२ डिजाइनको जेटस्टिम एभ्रो बिमान उडान र अवतरण गर्न सकिने खालको बन्ने छ । उनका अनुसार १ हजार ७५० मिटर लामो र ३० मिटर चौडाइ भएको धावन मार्ग बन्ने यो विमानस्थलमा २०० मिटर लामो र ६० मिटर चौडाइको एप्रोनसहितको टर्मिनल भवन हुने गरी डिजाइन प्रस्ताव भएको छ ।
विमानस्थलमा कर्मचारी भवन र २ वटा ट्याक्सीवे समेत बन्नेछ । उनले वर्षातको समयमा कुहिरो नलाग्ने तथा हिउँदको समयमा हुस्सु नलाग्ने, प्राकृतिक वातावरण अत्यन्त राम्रो भएकोले विमानस्थल निर्माण गर्न लागिएको बताए ।
सदरमुकाम गाइघाटदेखि ७ किलोमिटर टाढा रहेको उक्त क्षेत्रमा यसअघि पनि ट्वीनेटर विमान अवतरण हुनेगरी ७५० मिटर धावनमार्गको सर्भे गरिएको थियो । तर, छोटो धावनमार्गको डिजाइन पहाडी क्षेत्रमा मात्र प्रयोग हुने भएकाले जोगीदहमा यसअघि गरिएको पुरानो सर्भे परिवर्तन गरी नयाँ सर्भे गरिएको हो ।
राजधानी काठमाडौबाट पूर्वी नेपालको जनकपुर, विराटनगर, भद्रपुर, खोटाङ्ग, भोजपुर र सोलुखुम्बु लगायतका पहाडी जिल्लामा रहेका विमानस्थलको हबको रुपमा विकास गर्न टच फ्लाइटको समेत अध्यायन गरिएको छ ।
तत्कालीन गृह सहायकमन्त्री नरसिंहभक्त तुलाचनले २०३१ सालमा पहिलो पटक गाईघाटमा विमानस्थल निर्माणको शिलान्यास गरेका थिए । त्यसपछि कुनै काम हुन सकेको थिएन् । शिलान्यास गरिएको दशकौँसम्म सुरु हुन सकेको थिएन ।