काठमाडौं । सेयर बजारमा उछाल आएको छ । जेठ २३ गतेदेखि लगातार उकालो लागेको नेप्सेले आज उच्च अंकको छलाङ मारेको हो ।
नेप्से लगातार बढेको आज नवौं दिन हो । पछिल्ला ९ कारोबार दिनमा नेप्से १९२ अंकले बढेको छ ।
सूचकसँगै आज कारोबार रकम पनि उत्साहजनक रहेको छ । आज ४ अर्ब ८६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
आइतबार नेप्से परिसूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा पुगेको छ । यसदिन २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये बैंकिङ बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । जीवन बीमा, होटल र अन्य उपसमूहको परिसूचक ६ प्रतिशतले बढेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे ३६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, आइएमई जनरल इन्स्योरेन्स र सोल्टी होटल समान साढे १६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले बढेको बजारमा आज झन्डै १ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल इन्स्योरेन्स, प्रभु लाइफ, ग्रीन भेन्चर्स, सुपर मादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र मेन्छीयाम हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, सिटी होटल, महुली लघुवित्त, साधना लघुवित्त, श्वेत गंगा हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।