बजारमा दूध अभाव, पाउडर पनि छैन पर्याप्त

काठमाडौं । बजारमा दूधको अभाव देखिएको छ । माग अनुसार दूधको उत्पादन बढ्न नसक्दा अभाव देखिएको हो ।

अहिले दूध उत्पादनको सिजन मानिने भए पनि उत्पादन बढ्न नसक्दा दैनिक ३२८ मेट्रिकटन दूध अभाव रहेको दुग्ध विकास संस्थानले जनाएको छ ।

संस्थानका महाप्रबन्धक सन्जीव झाले दैनिक ९५५ मेट्रिकटन दूधको माग रहेकोमा ६२७ मेट्रिकटन मात्र संकलन हुने गरेको बताए । उनले ३२८ मेट्रिकटन दूध अपुग रहेको बताए ।

‘अझै दूध माग अनुसार संकलन हुन सकेको छैन किसानले आफूले उत्पादन गर्ने दूध आफैं पनि खपत गर्ने भएकाले माग अनुसार संकलन हुन नसकेको हो,’ उनले भने ।

पछिल्लो समय पशुहरूमा देखिएको लम्पीस्किन महामारीका कारण समेत उत्पादनमा गिरावट आएको किसानहरूले बताएका छन् ।

महाप्रबन्धक झाका अनुसार बजारमा डीडीसीको दूधको माग १०५ मेट्रिकटन रहेको छ । डीडीसीले ७७ मेट्रिकटन दूध प्रतिदिन संकलन गर्दै आएको छ । अझै २८ मेट्रिकटन दूध अभाव रहेको उनले बताए ।

यस्तै, निजी क्षेत्रको नेपाल डेरी एशोसिएसनले दैनिक ३५० मेट्रिकटन माग रहे पनि २५० टन मात्र संकलन हुँदै आएको बताएको छ । अझै १०० टन दूध दैनिक बजारमा अभाव छ ।

यस्तै, डेरी उद्योगको दूध दैनिक ५०० टन माग रहेको छ । डेरी उद्योग संकले दैनिक ३०० टन दूध संकलन गर्दै आएको छ । अझै २०० टन दूध दैनिक अभाव रहेको ।

झाले दूध अभाव कम गराउन पाउडर दूध उत्पादन सुरू भए पनि पर्याप्त उत्पादन गर्न नसकिएको बताए । उनका अनुसार डीडीसी, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग र आइस्क्रीम उद्योगहरूले मासिक २८३ टन पाउडर दूध उत्पादन गर्दै आएका छन् । सो संस्थाहरूले मासिक १३३ टन वटर उत्पादन गर्दै आएका छन् ।

धूलो दूधको वार्षिक माग करिब ३ हजार ६०० देखि ४ हजार टन रहेको उनले बताए । हाल देशभर ३ वटा उद्योगहरूले पाउडर दूध उत्पादन गर्दै आएका छन् । थप २ वटा दूध उद्योग निर्माण हुने क्रममा रहेको उनले जानकारी दिए ।

विराटनगर दुग्ध वितरण आयोजना अन्तरगत धूलो ३ वटा उद्योगहरूले धूलो दूध उत्पादन गर्दै आएका छन् । चितवन धूलो दूध कारखाना, सुजल धूलो दूध कारखाना (पोखरा) र खरीपाटि धूलो दूध कारखाना सञ्चालनमा रहेको छ । हेटौंडा धूलो दूध कारखाना तथा सुनसरी धूलो दूध कारखाना हाल निर्माणधीन अवस्थामा रहेको छ ।

नेपाल डेरी एशोसिएसनका अनुसार प्रत्येक वर्ष दूध उत्पादन ४.७९ प्रतिशतले वृद्धि भइरहेको छ ।

 

मध्यपहाडी लोकमार्गका दुई सहरलाई नमूनाका रूपमा विकास गरिने Read Previous

मध्यपहाडी लोकमार्गका दुई सहरलाई नमूनाका रूपमा विकास गरिने

विपद् कोषमा ६ अर्ब मौज्दात, तोकिएका क्षेत्रमा मात्र खर्च गर्न पाइने Read Next

विपद् कोषमा ६ अर्ब मौज्दात, तोकिएका क्षेत्रमा मात्र खर्च गर्न पाइने