गभर्नर अधिकारीकाे सन्देश : कसिलाे माैद्रिक नीतिकाे निरन्तरता, परिस्थिति हेरेर निर्णय

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय र आन्तरिक परिस्थितिकाे सीमाभित्र रहेर माैद्रिक नीति आउने बताएका छन् ।

आर्थिक वर्ष २०८०/८१ काे माैद्रिक नीति सम्बन्धि विषयमा नेपाल व्यवस्थापन संघले आयाेजना गरेकाे छलफल कार्यक्रममा बाेल्दै अधिकारीले मूल्यवृद्धि र भुक्तानी सन्तुलनकाे चाप रहेकाले त्यसकै आधारमा माैद्रिक नीति कार्यान्वयन गरिने बताएका हुन ।

`विश्वव्यापी रूपमा वृद्धि भएकाे मूल्यवृद्धि २०२४ मा केही सुधार हुने अपेक्षा गरिएकाे छ । राष्ट्र बैंकले पनि त्यसकै सीमाभित्र रहेर नीति बनाउने हाे,´ उनले भने ।

व्यवसायी र निजी क्षेत्रले काेभिड अवधिमा दिएका सहुलियत सुविधा निरन्तर हुनुपर्ने अपेक्षा गरे पनि अहिले त्यस्ताे अवस्था नभएकाे उनले बताए ।
`काेभिड अवधिमा व्यवसायीलाई ऋण भुक्तानी गर्न समस्या परेकाले राष्ट्र बैंकले साेही अनुसार प्रकृति हेरेर सहुलियत सुविधा दिएकाे हाे´ उनले भने, `त्यस अवधिमा राष्ट्र बैंकले चालू पूँजी कर्जालाई खुकुलाे बनाएर सहज बनाएकाे थियाे । सर्सर्ति हेर्दा अहिले पनि त्यही अपेक्षा देखिन्छ । तर, अहिले त्याे अवस्था छैन ।´

मूल्यवृद्धि नियन्त्रण र आर्थिक स्थायित्व राष्ट्र बैंककाे प्रमुख उदेश्य भएकाले साेही सूचकमा केन्द्रित हुने उनकाे भनाइ छ ।
`राष्ट्र बैंककाे काेर म्यान्डेट भनेकाे मूल्वृद्विकाे लक्ष्य हाे । त्यसकारण हाम्रो मुख्य फाेकस भनेकाे यही हाे,´ अधिकारी भन्छन् ।

राष्ट्र बैंकले कठिन अवस्थामा दिएका सुविधा र नीति अहिले पनि त्यस्तै नीति हुनुपर्छ भन्ने अपेक्षा सधै राख्न नहुने उनले बताए ।
`केन्द्रीय बैंकले सबैभन्दा पहिलाे आफ्नाे उदेश्य अनुसार माैद्रिक नीति तग गर्छ,´ उनले भने ।

राष्ट्र बैंक आगामी आर्थिक वर्षकाे माैद्रिक नीति ल्याउने तयारीमा छ । चालू वर्ष कसिलाे माैद्रिक नीति कार्यान्वयन गरेकाे राष्ट्र बैंक आगामी वर्ष भने नीतिगत लचकता अपनाउनुपर्ने दबाबमा छ। अर्कोतिर काेभिडमा लिएकाे विस्तारकारी नीतिले गत वर्षअर्थतन्त्रको बाह्य क्षेत्रमा ठूलाे समस्या देखिएकाे थियाे ।

अर्थतन्त्रको साेही चापलाई थेग्न राष्ट्र बैंक र सरकारले चालू वर्षमा कसिलाे माैद्रिक नीति ल्याएकाे थियाे । आगामी वर्ष पनि राष्ट्र बैंकले साेही विस्तारकारी माैद्रिक नीतिलाई अनुमाेदन गरे अर्थतन्त्र अस्थिर रहने जानकारहरू बताउँछन् ।

राष्ट्र बैंकका पूर्व गभर्नर तथा पूर्वअर्थमन्त्री युवराज खतिवडाले माैद्रिक नीति खुकुलाे बनाउने बेला अझै नभएकाे बताए ।
माैद्रिक नीतिकाे कुलिङ पिरियड नसकिएकाले राष्ट्र बैंकले आर्थिक वृद्धिकाे चिन्ताभन्दा स्थायित्वमै जाेडदिनुपर्ने उनकाे भनाइ छ ।

`माैद्रिक नीतिकाे कुलिङ प्रियड सकिएकाे छैन । तताएकाे पनि राष्ट्र बैंकले नै हाे । यसलाई कुलिङ हुन दिनुपर्छ,´ उनले भने, `भुक्तानी सन्तुलनमा अझै अनुकुल भएकाे छैन । मूल्यवृद्धिकाे चाप कायमै छ ।´ वित्तीय श्रेत्र ओभर क्यापिटलाइज्ड भएकाले फेरि पनि बजारमा स्राेत प्रवाहलाई निरन्तरता दिन नहुने उनले बताए ।

पूर्वगभर्नर तिलक रावल आर्थिक स्थायित्व र मूल्वृद्वि हेरेर सन्तुलित माैद्रिक नीति कार्यान्वयन गर्नुपर्ने बताउँछन् ।
`हाम्रो परिपेक्षमा लचिलाे र कसिलाे नभएर सन्तुलन माैद्रिक नीति लिनुपर्छ । आन्तरिक र अन्तराष्ट्रिय परिस्थितिकाे अध्ययन गरेर माैद्रिक उपकरणहरू प्रयाेग गर्दै जानुपर्छ,´ उनले भने ।
बीओपी र मूल्यवृद्धि उच्च रहँदा खुकुलाे माैद्रिक नीति लिन नसकिने उनले बताए ।

पूर्वगभर्नर गणेशबहादुर थापा अर्थतन्त्रलाई सम्बाेधन गर्न सरकार गम्भीर नदेखिएकाे अवस्थामा राष्ट्र बैंकले केही नीतिगत उपकरणहरू लिनुपर्ने बताउँछन् ।
`अर्थतन्त्रको गिर्दाे अवस्था लुकेकाे छैन । बैंकसँग ऋणदिन सक्ने अवस्था नभएर पैसा नगएकाे हाेइन । ऋणकाे माग नभएर कर्जा नगएकाे हाे,´ उनले भने, `धेरै सटरहरू खाली भएका छन् । उनीहरूले भाडा तिर्न सक्ने अवस्था पनि छैन । यस्ताे अवस्थामा बुष्टर डाेज दिनुपर्ने अवस्था छ ।´

नेपाल सरकारका निकाय र राष्ट्र बैंकले निजी क्षेत्रसँग पनि कसरी ह्यान्डलिङ गर्न सकिन्छ भनेर सुझाव लिनु आवश्यक रहेकाे उनले बताए । `राष्ट्रिय आम्दानी गिर्दाे छ, कुनै पनि लक्ष्य नभेटिरहेकाे अवस्थामा सांसदलाई पाँच कराेड रूपैयाँ दिइरहनुले सरकार आजकाे दिनमा अर्थतन्त्र प्रति गम्भीर छैन भन्ने हाे,´ उनले भने ।

किसानलाई प्रोत्साहन र संरक्षण गर्न उत्पादनको आधारमा अनुदान दिने तयारी छ : अर्थमन्त्री Read Previous

किसानलाई प्रोत्साहन र संरक्षण गर्न उत्पादनको आधारमा अनुदान दिने तयारी छ : अर्थमन्त्री

आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियममा आइपीओ खुल्यो, प्रतिकित्ता मूल्य कति ? Read Next

आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियममा आइपीओ खुल्यो, प्रतिकित्ता मूल्य कति ?